उत्तर कोरियाको परेडमा ब्यालिस्टिक क्षेप्यास्त्र देखाइएन

  • 9 सेप्टेम्बर 2018
उत्तर कोरिया तस्वीर कपीराइट AFP

उत्तर कोरियाले उसको ७०औँ वर्षगाँठ मनाउन आयोजित एउटा सैन्य परेडमा कुनै अन्तरदेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रदर्शन नगरेको विवरणहरूमा जनाइएको छ।

उत्तर कोरियाले परमाणु निःशस्त्रीकरणका लागि उसले जनाएको प्रतिबद्धताको कारण तथा देशभित्र रहेका उसका अस्त्र भण्डारसम्बन्धी केही संकेत मिल्छ कि भनेर सो सैन्य परेडलाई नजिकबाट नियालिएको थियो।

अनुमान

गत जून महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको शिखरबैठकपश्चात् उत्तर कोरियाली नेताले क्षेप्यास्त्र प्रदर्शनहरूलाई कम गर्ने अनुमान कतिपय विश्लेषकहरूले गरेका थिए।

परमाणु क्षमता जडित तथा अमेरिकी मुख्यभूमिसम्म पुग्न सक्ने अन्तरदेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरूको विशाल प्रदर्शन भएको भए त्यसलाई उक्साहटपूर्ण कार्यका रूपमा हेरिने थियो।

कोरियाली प्रायद्वीपको निःशस्त्रीकरणका लागि शिखरबैठकका क्रममा किम तथा ट्रम्पले एउटा अस्पष्ट सहमति-पत्रमा हस्ताक्षर गरेका थिए तर सो सहमतिमा निःशस्त्रीकरण प्रक्रियालाई प्रमाणित गर्नका लागि कुनै पनि समयसीमा, विवरणहरू तथा संयन्त्रहरू तोकिएको छैन।

दुवै देशबीच उच्चस्तरीय वार्ता र भ्रमणहरू भइरहेका छन्।

तर हालैमात्र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको प्योङयाङ भ्रमण अन्तिम समयमा स्थगन गरिएको थियो।

दुवै पक्षले आफूहरू निःशस्त्रीकरण प्राप्तिका लागि प्रगति हासिल गर्नेतर्फ प्रतिबद्ध भएको जोड दिँदै एकअर्कालाई वार्ता रोकेको आरोप लगाइरहेका छन्।