अयोग्य घोषित जोशीले गरे प्रधानन्यायाधीश मिश्रको स्वागत

  • 10 सेप्टेम्बर 2018
प्रधानन्यायाधीश तस्वीर कपीराइट RSS

नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सूचना प्रविधिको प्रयोग गरेर मुद्दाको पेसी तोक्ने विषयमा आफ्नो प्राथमिकता रहने बताएका छन्।

सोमवार बिहान संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट साँझ शपथ लिएर आएपछि न्यायपालिका सुधारका विषयमा बोल्दै त्यसो भनेका हुन्।

पदभार सम्हाल्न सर्वोच्च अदालत आइपुग्दा मिश्रलाई यसअघि सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशीले स्वागत गरेका थिए।

पदभार सम्हालेपछि भएको पत्रकार सम्मेलनका पनि जोशी मिश्रको छेउमै बसेका थिए।

'विवाद छैन'

बाहिर अरूले भनेजस्तो अदालतका न्यायाधीशहरूबीच विवाद नरहेको बताउँदै मिश्रले दीपकराज जोशी न्यायाधीशकै रूपमा काममा फर्किने पनि बताए।

"हामीबीच बाहिर भनिएजस्तो त्यस्तो केही विवाद छैन," मिश्रले भने, "कम्तीमा मेरो कार्यकालमा त्यस्तो केही हुनेछैन।"

सोमवार बिहान भएको संसदीय सुनुवाइ समितिको बैठकमा मिश्रले आफ्ना कार्ययोजना र आफूविरुद्ध परेका उजुरीबारे बोल्दै न्यायपालिका र उनको न्यायसम्पादनबारे उठेका कतिपय प्रश्नको उत्तर दिएका थिए।

उनले आफ्नो कार्यकाललाई चुनौती वा अवसर के को रूपमा हेरेका छन् भन्ने प्रश्नको उत्तरमा "इतिहासमा नाम लेखाउने मन सबैलाई हुने र त्यसको अपवादमा आफू नरहेको" पनि बताएका थिए।

सर्वोच्च अदालतकै पूर्व वरिष्ठतम न्यायाधीश बलराम केसीले मिश्रको कार्यकाल चार महिनाको मात्रै रहे पनि उनको काँधमा चार महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्।

तस्वीर कपीराइट RSS

चार चुनौती

ती चार चुनौतीबारे बोल्दै उनले भने, "संवैधानिक इजलासलाई सक्रिय बनाउनुपर्‍यो, न्यायाधीशले आचारसंहिता कडाइका साथ पालना गर्नुपर्‍यो, किनारा गर्न बाँकी रहेका मुद्दाको सङ्ख्या घटाउन सक्रिय हुनुपर्‍यो र न्यायपरिषद्ले परेका उजुरीहरूको एउटा समिति गठन गरेर त्यसबारे टुङ्गो लगाउनुपर्‍यो र त्यो सार्वजनिक गर्नुपर्‍यो।"

यसअघि संवैधानिक परिषद्बाट प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिस अस्वीकृत भएपछि मिश्र प्रधानन्यायाधीशको रोलक्रममा परेका थिए।

त्यसैले पनि उनको सुनुवाइ र उनले व्यक्त गरेका कतिपय भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

'न्यायाधीशकै रूपमा काम गर्छु'

तस्वीर कपीराइट RSS

तर सुनुवाइ समितिको बैठकमा सोमावार यसअघि अयोग्य घोषित गरिएका जोशीबारे भने कुनै विषय उठेन।

जोशीले आफूले स्वतन्त्र छानबिनका लागि माग गरे पनि आफूमाथि शैक्षिक प्रमाणपत्र लगायतका विषयमा विभिन्न आरोप लगाइएको तर दोषी निर्दोष केही जवाफ नसुनाइएको बताएका छन्।

अस्वीकृत भएदेखि नै बिदामा बस्दै आएका जोशीलाई अब के गर्नुहुन्छ भन्ने बीबीसीको प्रश्नमा उनले भने, "म भोलिदेखि अदालतमा हाजिर भएर न्यायाधीशका रुपमा काम गर्छु।"

न्यायपालिकाका कतिपय जानकारले चाहिँ उनीमाथि लगाइएको आरोपलाई किनारा लगाएर भविष्यमा यस्ता खालका कतिपय प्रश्नलाई अनुत्तरित राख्न नहुने बताएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
पुष्पा भुसाल र बलराम केसीसँग