किमले ट्रम्पलाई दिए अर्को वार्ताको निम्तो

  • 11 सेप्टेम्बर 2018
वार्ता तस्वीर कपीराइट Getty Images

उत्तर कोरियाली नेता किम जङ-अनले सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकपछि अर्को वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पत्र लेखेको ह्वाइट हाउसले जनाएको छ।

नयाँ वार्ताको मितिबारे विचार गर्न थालिसकिएको अमेरिकाले बताएको छ।

ह्वाइट हाउसकी प्रवक्ता सेरा स्याण्डर्सले किम जङ-अनको 'एकदमै न्यानो पत्र'ले 'निरस्त्रीकरणमा केन्द्रित हुने आफ्नो प्रतिबद्धतालाई प्योङयाङले निरन्तरता दिएको' देखाएको बताइन्।

उनले भनिन्, "पत्रको प्राथमिक उद्देश्य अर्को वार्ताका लागि आग्रह र मिति हेर्न रहेको छ, जसका लागि हामी खुल्ला छौँ र त्यसबारे समन्वय गर्न थालिसकेका छौँ।"

भूमिका

तर दुई नेताबीचको अर्को बैठक सम्भवतः कहिले बस्छ भन्ने बारे भने उनले कुनै सङ्केत गरिनन्।

दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले सो समाचारको स्वागत गरेका छन्।

उनले भने, "कोरियाली प्रायःद्वीपको निरस्त्रीकरण एउटा यस्तो विषय हो जसलाई उत्तर कोरिया र अमेरिकाबीचको वार्तामार्फत् आधारभूत रूपमा सम्बोधन गर्नुपर्छ।"

तस्वीर कपीराइट AFP

ट्रम्प र किमबीच गत जुनमा भएको शिखर बैठक गराउन मूनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

अर्को हप्ता प्योङयाङमा किम र मूनबीच तेस्रो चरणको प्रत्यक्ष वार्ता हुने तय भएको छ।

उल्लङ्घन

सोलस्थित बीबीसी सम्वाददाता लोरा बिकर भन्छिन्, ट्रम्प र किमबीचको वार्तामा मून आफूलाई एउटा मध्यस्थकर्ताका रूपमा हेर्छन् र उनले दुई नेतालाई दह्रो कदम चाल्न आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघका प्रमुख परमाणु निगरानीकर्ता युकिया अमानोले उत्तर कोरियाका जारी परमाणु गतिविधिले राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको आरोप लगाएको भोलिपल्ट प्योङयाङको पत्रबारे खबर सार्वजनिक भएको हो।

अन्तर्राष्ट्रिय निरीक्षणकर्ताहरू उत्तर कोरिया जानबाट प्रतिबन्धित छन्, तर अमानोले राजीनितिक सहमति हुन सके आफूहरू फर्किन तयार रहेको बताएका छन्।

यसअघि उत्तर कोरियाले क्षेप्यास्त्रहरूको प्रदर्शन नगरी सैनिक परेड गरेकोमा ट्रम्पले ट्विटरमार्फत् धन्यवाद दिएका थिए।

"धन्यवाद अध्यक्ष किम ! हामी दुवैजनाले सबैलाई गलत साबित गर्नेछौँ," राष्ट्रपति ट्रम्पले लेखेका थिए।