भारत: 'नरभक्षी' बाघलाई मार्न नदिन अदालतमा निवेदन

  • 11 सेप्टेम्बर 2018
बाघ तस्वीर कपीराइट Getty Images

महाराष्ट्र राज्यमा एउटा नरभक्षी बघिनीलाई मार्नबाट रोकियोस् भनेर दिइएको एउटा निवेदनमाथि भारतको सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ।

अधिकारीहरूका अनुसार केही महिनामै पाँच जनालाई मारिसकेकी एउटी बघिनीलाई समात्न नसकिए मार्ने योजना बनाइएको छ।

तर वन्यजन्तु संरक्षणवादीहरूले भने त्यही बघिनीले मानिसहरूलाई मारेकी हो कि हैन त्यो निश्चित नभएको दाबी गरेका छन्।

तीव्र गतिमा वनविनाश हुँदा बाघहरू आरक्षबाहिर आउँछन् र मानिसहरूसँग उनीहरूको द्वन्द्व सुरु हुन्छ।

वन अधिकारी प्रदीप राहुरकरले बीबीसी मराठीलाई बताएअनुसार बाघले मान्छे मारेको हो कि हैन निर्धारण गर्न पाइतलाको छाप, डीएनए परीक्षण र स्थानीय गाउँलेहरूको भनाइ जस्ता कुराहरू हेरिन्छ।

पहिला त्यो बघिनीलाई लट्ठ्याएर समात्ने प्रयास गरिने उनले बताए। "त्यो सफल भएन भने थप मानवीय क्षति नहोस् भनेर गोली हान्नुपर्ने हुन्छ," उनले भने।

सो क्षेत्रमा देखिएको एउटा भाले बाघ र सो बघिनीका दुइटा डमरुलाई पनि समात्ने प्रयास गरिने अधिकारीहरूले बताएका छन्।

वन्यजन्तु संरक्षणका लागि अभियान चलाएका अजय दुबेले त्यो बघिनी र उसको परिवारलाई जोगाउन आफूहरूले सबै प्रयास गर्ने बताएका छन्।

दुबेलगायत अरूले दिएको सो निवेदनमा महाराष्ट्रको वन विभागसँग बाघलाई जीवित रूपमै समात्न पर्याप्त विशेषज्ञता नभएको र उसले अन्तत: गोली नै हान्ने दाबी गरिएको छ।

"बाघ मार्नु समाधान हैन। हामी राज्यले उद्धार विशेषज्ञहरूसँग परामर्श गरोस् भन्ने चाहन्छौँ," दुबेले भने।

मृत्युको सङ्ख्या बढ्दो

संसारमा बाँकी रहेका बाघमध्ये ६० प्रतिशत भारतमा पाइन्छन्। केही समययता बाघको मृत्यु हुने क्रम बढेको छ।

सन् २०१५ मा ८० वटा र अघिल्लो वर्ष ७८ वटा बाघको मृत्यु भएको तथ्याङ्क भारतीय अधिकारीहरूसँग छ।

संरक्षणवादीहरूले विरोध गर्दागर्दै पनि गत वर्ष महाराष्ट्रको एउटा अदालतले एउटा बाघलाई मार्न दिइएको आदेशलाई सदर गरेको थियो।

बाघबाट मानिसमाथि भएका अधिकांश आक्रमणहरू जम्काभेटमा हुने गरेका र कहिलेकाहीँ मात्रै मानिसलाई सिकारका रूपमा लग्ने गरेको बताइन्छ।

तर छोटो समयमै शृङ्खलाबद्ध आक्रमण भयो भने त्यो नरभक्षी बाघले गरेको मानिन्छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
भारतमा बाघ