थाईल्यान्ड: फेसबुकबाट वन्यजन्तुको अवैध व्यापार

  • 11 सेप्टेम्बर 2018
वन्यजन्तु व्यापार तस्वीर कपीराइट TRAFFIC

थाईल्यान्डमा वन्यजन्तु तस्करी निगरानी गर्ने एउटा संस्थाले फेसबुकमार्फत् १५ सयभन्दा बढी जीवित वन्यजन्तुको बिक्री गर्न खोजिएको पत्ता लगाएका छन्।

ट्राफिक नामक सो संस्थाका अनुसार त्यसरी बिक्री गर्न राखिएका अधिकांश प्रजाति थाईल्यान्डका रैथाने हैनन् र अन्तर्राष्ट्रिय कानुनअनुसार तिनको संरक्षण गरिनुपर्ने भए पनि तिनको व्यापार भने रोकिएको छैन।

सन् २०१६ को एउटा महिनामा ती वन्यजन्तुका सूचीहरू १२ वटा फेसबुक ग्रुपमा पाइएका थिए।

फेसबुकले सङ्कटापन्न जीवजन्तुको व्यापार गर्न आफूले अनुमति नदिएको बताएको छ।

ती सूचीमा राखिएका २०० प्रजातिमध्ये युरेशियन ओटर र कालो थोप्ला भएको कछुवाको अन्तर्राष्ट्रिय व्यापार गर्न निषेधित छ।

सिउर भएको धनेस र साइयामिज गोहीजस्ता अतिसङ्कटापन्न प्रजाति र एशियाली कालो भालूजस्ता केही प्रजाति थाईल्यान्डमा पनि पाइन्छन्। व्यापार गर्न प्रतिबन्ध भए पनि तिनलाई पनि बिक्री गर्न फेसबुकमा राखिएको थियो।

ट्राफिकले फेसबुकमार्फत् गरिने वन्यजन्तुको व्यापारबारे आफूले पत्ता लगाएका तथ्य यही हप्ता सार्वजनिक गर्दैछ।

सदस्यको सङ्ख्या बढ्दै

सन् २०१६ मा ट्राफिकले ती फेसबुक ग्रुपहरूका सदस्यहरूको परीक्षण गरेको थियो। उसले दुई वर्षपछि पुन: सदस्यहरूको विश्लेषण गर्‍यो।

दुईवटा ग्रुपहरू बन्द भएका भए पनि कुल सदस्यको सङ्ख्या १,०६,१११ बाट बढेर २,०३,४४५ अर्थात् झन्डै दुईगुणा भएको भेटियो।

जीवित तथा मृत जनावर र विभिन्न वन्यजन्तुका अङ्गको पनि विज्ञापन गरिएको पाइयो।

तस्वीर कपीराइट Traffic

बेच्न विज्ञापन गरिएका ४७ प्रतिशत प्रजातिको बेचबेखिन गर्न थाई कानुनले रोक्दैन।

तर कानुनी प्रतिबन्ध भए पनि १०५ वटा प्रजातिहरू बिक्रीका लागि राखिएका थिए।

ट्राफिकका दक्षिणपूर्वी एशियाका लागि कार्यवाहक क्षेत्रीय निर्देशकका अनुसार अन्लाइनमार्फत् हुने वन्यजन्तुको व्यापारले जोखिममा परेका तर कानुनी संरक्षण नपाएका प्रजातिहरूलाई जोगाउन गाह्रो हुन्छ।

फेसबुककी एक प्रवक्ताले सङ्कटापन्न वन्यजन्तु वा तिनको अङ्गको व्यापार गर्न फेसबुकले नदिने भन्दै त्यस्ता सामग्री भएको पाइए तुरुन्त हटाइने गरेको बताएकी छन्।

विश्व वन्यजन्तु कोषकी कार्यवाहक प्रमुख सल्लाहकार क्याथ लसनले वेब्साइटबाट हुने वन्यजन्तुको अवैध व्यापार चिन्ताको विषय भएको बताएकी छन्।

"वन्यजन्तुको अवैध व्यापार एउटा गम्भीर अन्तर्राष्ट्रिय आपराधिक समस्या हो," उनले भनिन्।

विश्वभरिकै समस्या भएकाले यसको समाधान कानुनको कार्यान्वयन तथा जनचेतना वृद्धि गरेर र वन्यजन्तुमा आश्रित उत्पादनको माग घटाएर गर्नुपर्ने उनको धारणा छ।

सम्बन्धित सामग्री