किन बढिरहेका छन् बलात्कारका घटना

  • 12 सेप्टेम्बर 2018
rape

कञ्चनपुरमा एउटी बालिकाको बलात्कारपछि भएको हत्याको सात हप्ता हुन लाग्दा पनि अझै दोषीको पहिचान हुन सकेको छैन। तर सो घटनापछि बलात्कारका घटनामा समेत वृद्धि भएको नेपाल प्रहरीले स्वीकारेको छ।

निर्मला पन्तको बलात्कार-हत्याको घटनामा मुख्य अभियुक्त भनी पक्राउ गरिएका एक जनालाई सोमवार डीएनए नमिलेको भन्दै छोडिएको छ।

सो घटनाको छानबिन गर्न गठित सरकारी समितिका संयोजक हरिप्रसाद मैनालीले अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको बताएका छन्।

तर उक्त घटनाको टुङ्गो लाग्न नपाउँदै त्यसयता देशका विभिन्न स्थानमा बलात्कारका घटनाहरू भएका विवरणहरू प्राप्त भएका छन्।

प्रवृत्ति

कतिपयले यस्ता घटना दोहोरिरहनुलाई सामाजिक सोच र संवेदनशील विषयमा समेत अनुसन्धानका क्रममा देखिएको कमजोरीलाई जिम्मेवार ठान्छन्।

बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानेकै वा आफन्तबाट बढी हुने गरेको पाइएकाले अनुसन्धान गर्न कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

पछिल्ला केही वर्षका घटनाक्रमले पीडितहरू ११ देखि १७ वर्ष बीचका बालिकाहरू धेरै रहेको पाइएको छ। गत वर्ष मात्र देशभरिबाट प्रहरीमा १,४८० बलात्कारका उजुरी दर्ता भएका थिए जसमध्ये १,१६६ अभियुक्तलाई अदालतमा उभ्याइएको प्रहरीको भनाइ छ।

तर पनि घटनाहरू कम हुनुको साटो बढ्नुको कारणबारे नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन् भन्छन्, "बाबुद्वारा छोरी बलात्कृत भएका घटनासमेत हामीसँग छन्। त्यसो भन्दैमा बाबुले छोरीलाई स्कुल छाड्न गइराखेको छन् भने कसरी शङ्का गर्ने भन्नेजस्ता जटिलता प्रहरीलाई हुँदोरहेछ।"

'तनाव'

प्रहरीले त्यसो भनिरहँदा कतिपयले भने यसअघिका न्यायसम्पादन र कानुनी कारवाहीमा पीडितलाई निरुत्साहीत गर्ने प्रवृत्ति देखिएकाले कडा कानुन हुँदा हुँदै बलात्कारका घटनामा कमी नआएको आरोप लगाउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
अधिवक्ता सुष्मा गौतमसँग

बलात्कारका घटनालाई विशेष प्राथमिकतामा राखेर हेरिनुपर्नेमा त्यसो नगरिँदा पीडितहरूले प्रहरी कार्यालय तथा अदालतमा बारम्बार झेल्ने तनाव र दुर्व्यवहारले उल्टै पीडकलाई प्रोत्साहन गरिरहेको अधिकारकर्मीहरूको तर्क छ।

राष्ट्रिय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी भन्छिन्, "जो बलात्कार पीडित छ उसैलाई दोषारोपण गरेर बहस सुरु हुन्छ। उसको चरित्र, व्यक्तित्व र उठबस कोसँग थियो भन्नेजस्ता कुराहरू उठ्न थाल्छन्। त्यस्तो कदापि हुनुहुँदैन। बलात्कार विशुद्ध अपराध हो।"

कैयौँ अवस्थामा बलात्कारसम्बन्धी अपराधलाई समेत सामाजिक मेलमिलापको विषय बनाइँदा यो अक्षम्य अपराध भएको कुरा समाजले लिन नसकेको बताइन्छ।

पीडितको सुरक्षा, प्रमाणको संरक्षणदेखि लिएर समाजमा पुर्नस्थापनाको काममा समेत स्पष्ट सरकारी नीतिको अभावले कानुनी कारवाही प्रभावकारी नभएको कानुनविदहरू बताउँछन्।

दोषीहरू उम्कने वा कम सजाय पाउने अवस्थाबारे अधिवक्ता सुष्मा गौतम भन्छिन्, "कतिपय अवस्थामा मुद्दाका फाइल पल्टाउँदा थुप्रै ठाउँमा खोजिनुपर्ने तथ्यहरू नखोजिएर त्यसको संवेदनशीलता र गम्भीरतालाई कसरी कमजोर बनाइएको भेटिन्छ।"

कतिपय जानकारहरू भने बलात्कारका घटनाहरु अकस्मात् बढेको स्वीकार्दैनन्।

उनीहरूको भनाइमा पहिले लुकाइने गरिने त्यस्ता घटनाहरू अहिले बाहिर आउने गरेकोले सङ्ख्या बढेको जस्तो देखिएको हो।

सम्बन्धित सामग्री