न्याय नपाएसम्म घर फर्किँदैनौँ: निर्मला पन्तकी आमा

  • 12 सेप्टेम्बर 2018
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
के चाहन्छिन् निर्मला पन्तकी आमा?

साउनको दोस्रो साता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका आमाबुवा आफूले न्याय नपाएको भन्दै केन्द्रका नेता र सरकारलाई न्यायका लागि गुहार्न राजधानी काठमाण्डू आइपुगेका छन्।

प्रधानमन्त्री र गृहमन्त्रीसहित विभिन्न दलका नेताहरूलाई भेटेर न्यायको माग गर्ने उनीहरूले बताएका छन्।

तीन दिनसम्म अवरुद्ध भएको बाटो खेपेर उनीहरू बुधवार बिहान मात्रै राजधानी आइपुगेका हुन्। उनीहरूसँगै महेन्द्रनगरका नौ महिला अधिकारकर्मी पनि आएका छन्।

राजधानी आउनुको कारणबारे निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्, "झन्डै दुई महिना पुग्न लाग्दासम्म न्याय पाउँछौँ कि भन्ने आशामा महेन्द्रनगरमै बस्यौँ। तर न्याय नपाउने अवस्था आएपछि सरकारका ठूला मान्छेलाई भेट्न काठमाण्डू आयौँ।"

'लापरबाही'

छोरीको हत्यासम्बन्धी अनुसन्धानमा प्रहरीले सुरूदेखि नै 'लापरबाही' गरेको दुर्गादेवीको आरोप छ।

छोरी हराएको सूचना दिएलगत्तै खोजीमा चासो नदिइएको, प्रमाणहरू नष्ट गरिएका र अनुसन्धानको दायरामा ल्याउनुपर्ने व्यक्तिलाई नल्याइएको उनको दाबी छ।

दुर्गादेवीले भनिन्, "सबै तीजमा रमाउँदैछन्, हामी न्यायका लागि हारगुहार गर्दैछौँ। अब न्याय नपाएसम्म महेन्द्रनगर फर्किँदैनौँ।"

अनुसन्धानका क्रममा पक्राउ गरिएका दुई महिलासहित सबै तीन जना रिहा भइसकेका छन्।

आशङ्का

छिट्टै प्रतिवेदन सार्वजनिक गर्छौँ भनेर आएका छानबिन समितिका सदस्यले राजीनामा दिनुले अझै आशङ्का बढाएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए।

उनले भने, "प्रधानमन्त्रीलाई भेटेर भन्छु कि हामीलाई नेपाली होइनौँ भनिदिनुपर्‍यो, होइन भने न्याय दिनुपर्‍यो।"

प्रधानमन्त्रीले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिले मन दुःखेको पनि उनले बताए।

"भेट्नुपर्ने कसैलाई पनि नछोडी भेट्छौँ, तर न्याय नपाई फर्किँदैनौँ।"