मान्छेले बनाएको पहिलो 'अमूर्त चित्र' ७३ हजार वर्ष पुरानो

प्राचीन चित्ररेखा

मानवजातिले बनाएको एउटा प्राचीनतम रेखाचित्र दक्षिण अफ्रिकामा भेटिएको वैज्ञानिकहरूले जनाएका छन्।

एउटा चट्टानको टुक्रामा बनेको सो चित्र झन्डै ७३ हजार वर्ष पुरानो मानिएको छ। त्यसमा गेरु रङ्ग प्रयोग गरेर बनाइएका रेखाहरू छन्।

वैज्ञानिकहरूले दक्षिणी तटस्थित ब्लम्बस केभ भनिने स्थानमा एउटा गुफाभित्र सो चित्रको सानो टुक्रा फेला पारेका हुन्। धेरैले त्यसमा ह्याश्ट्याग (#) को जस्तो आकृति देखिएको बताएका छन्।

संसारभरि प्राचीन चित्रहरू भेटिएका छन्। बुधवार 'नेचर' जर्नलमा प्रकाशित एउटा शोधमा सो ढुङ्गामा कोरिएका रेखाहरू मानवनिर्मित पहिलो अमूर्त चित्र भएको उल्लेख गरिएको छ।

त्यो प्राचीन चित्र मानव प्रजातिको 'आधुनिक संज्ञानको महत्त्वपूर्ण सूचक' भएको शोधकर्ताहरूको ठम्याइ छ।

सो लेखका अनुसार प्राचीन कलाकारहरूले 'ओकर् क्रेअन' अर्थात् रातोमाटोले बनाएको लेख्ने साधन प्रयोग गरेर ढुङ्गामा चित्र बनाउँथे।

मावनजातिले रातोमाटो कम्तीमा दुई लाख ८५ हजार वर्षदेखि प्रयोग गर्दै आएका छन्।

सानो अंश

भेटिएको रेखाकृति एउटा ठूलो रेखाङ्कनको अंश मात्र भएको वैज्ञानिकहरूको बुझाइ छ।

पूरै चित्र सम्भवत: धेरै जटिल भएको पुरातत्त्वविद् क्रिस्टोफर हेन्शिल्वुडले समाचार संस्था रोयटर्सलाई बताएका छन्।

उनका अनुसार ढुङ्गाका कुनामा सबै रेखाहरू जसरी टुङ्गिएका छन् त्यसले पूरै चित्र ठूलो सतहमा फैलिएको सङ्केत दिन्छ।

हेन्सिल्वुड नर्वेको बेर्गन विश्वविद्यालय र दक्षिण अफ्रिकाको विट्वाटर्स्‌र्‍यान्डमा कार्यरत छन्। उनले सो चित्रको अनुसन्धानको नेतृत्व गरेका थिए।

आफ्नो समूहले सो आकृतिलाई 'कला नै मान्न सङ्कोच' माने पनि त्यसको निर्माताका लागि भने विशेष अर्थ भएको उनको ठम्याइ छ।

राजधानी केप टाउनबाट ३०० किलोमिटर पूर्वस्थित ब्लम्बस केभमा धेरै प्राचीन वस्तुहरू फेला फरेका छन्। तीमध्ये एक लाख वर्ष पुरानो रङ्ग बनाउन प्रयोग हुने भाँडो पनि छ।

होमो सेपिअन्स प्रजातिका आधुनिक मानवहरू तीन लाख १५ हजार वर्षअघि हालको अफ्रिकामा अस्तित्वमा भएका वैज्ञानिक आधारहरू भेटिएका छन्।