अङ्गप्रत्यारोपण: कसैको मृत्यु, कसैलाई जीवनदान

  • 14 सेप्टेम्बर 2018
मानव अङ्ग तस्वीर कपीराइट Science Photo Library
Image caption कसैको परिवारमा घटेको दु:खद घटनाले अन्य कसैलाई नयाँ जीवन दिने यो काम सफल हुन उच्च गतिको समन्वय जरुरी हुन्छ। (साङ्केतिक तस्बिर)

'ब्रेन डेथ' अर्थात् मस्तिष्कले काम गर्न छोडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्यु नजिकको अवस्थामा मानवशरीरबाट कतिपय अङ्गहरू शल्यक्रिया गरेर निकाल्न सकिन्छ। त्यसरी निकालिएका अङ्गहरू आवश्यकतामा रहेका अरू व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ।

तर निकै छोटो समयमै सो काम सक्नुपर्ने हुँदा अस्पतालहरूबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक हुन्छ।

मिर्गौलाले काम नगरेको समस्या झेलिराखेका लाजिम्पाटका १६ वर्षीय मिलन श्रेष्ठ 'ब्रेन डेथ' भएका एक व्यक्तिको मिर्गौला पाएर नयाँ जीवन पाउनेमध्येका एक हुन्।

उनी सम्झन्छन्, "आमा बितिसक्नु भएको हो। बुवाको प्रत्यारोपण गर्न मिलेन। मैले यसरी नयाँ जीवन पाउँछु भन्ने सोचेकै थिइनँ।"

अङ्गप्रत्यारोपणको आवश्यकता रहेकाहरूले त्यसबारे पहिल्यै अङ्गप्रत्यारोपण केन्द्रमा जानकारी दिनुपर्छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
विश्वको पहिलो मुटु प्रत्यारोपण

केन्द्रमा कसैको मरणोपरान्त अङ्ग उपलब्ध हुनासाथ उनीहरूलाई सूचित गरिन्छ।

अपराह्ण चार बजेतिर अस्पतालबाट सूचना पाएका मिलनको शरीरमा त्यसको आठ घण्टाभित्र नयाँ मिर्गौला प्रत्यारोपण भइसकेको थियो।

समन्वय

कसैको परिवारमा घटेको दु:खद घटनाले अन्य कसैलाई नयाँ जीवन दिने यो काम सफल हुन तीव्र गतिमा समन्वय हुनुपर्छ।

ब्रेन डेथलाई चिकित्सा विज्ञानले पूर्ण मृत्यु नै माने पनि त्यस्तो बेला पनि कृत्रिम प्रयासबाट शरीरका केही अङ्ग चलायमान अवस्थामै राख्न सकिन्छ। त्यसैले त्यसबीचका केही घण्टा निकै मानिन्छन्।

विकसित मुलुकमा हुने अङ्ग प्रत्यारोपण प्राय: ब्रेन डेथमा परेकाहरूबाट हुने गरेको चिकित्सकहरू बताउँछन्।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, "मस्तिष्क मृत्यु भएपछि खेर जाने अङ्गले अर्को कसैलाई नयाँ जीवन दिनेजस्तो पुण्यको काम हुन्छ।"

चुनौती

कतिपय अवस्थामा अस्पतालहरूबाट ब्रेन डेथका घटनाको खबर समयमै नगरेर त कहिले परिवारबाट समेत अनिच्छा देखाएर यसले अपेक्षित रूपमा गति लिन नसकेको केन्द्रका अधिकारीहरू बताउँछन्।

त्यसैले नेपालमा अधिकांश घटनामा आफ्नो परिवारकै स्वस्थ व्यक्तिबाट मात्र अहिलेसम्म अङ्गप्रत्यारोपण भएको पाइन्छ।

नेपालको मानव अङ्ग प्रत्यारोपण ऐनले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपणको समन्वय एकाइ तोकेको छ। तर त्यहाँ अझै सोचेजसरी विभिन्न अङ्ग प्रत्यारोपण गर्न नसकिएको चिकित्सकहरू बताउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
अंग प्रत्यारोपण गरेका व्यक्तिको आकर्षण बढ्दै

एक व्यक्तिबाट दुईवटा मिर्गौला, एउटा कलेजो, एउटा मुटु, दुईवटा फोक्सो, एउटा अग्न्याशय (प्यान्क्रियास), एउटा सानो आन्द्रा गरेर आठवटा अङ्ग प्रत्यारोपणका लागि निकाल्न सकिन्छ।

अवस्था

ब्रेन डेथको अवस्था प्राय: सडक दुर्घटनाबाट निम्तिने गरेका पाइन्छ।

पोहोर मात्र देशभरिमा सडक दुर्घटनाबाट २,११५ जनाको मृत्यु भएको थियो।

तीमध्ये काठमाण्डू उपत्यकामा मात्र एक हजारभन्दा बढी ब्रेन डेथको अवस्थासम्म पुगेको सरकारी विवरण छ।

केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठका भनाइमा ब्रेन डेथका घटनाबाट मात्रै पनि खेर जाने अङ्गहरू अन्यलाई प्रत्यारोपण गर्न सकिएमा अङ्ग नपाउने समस्या नेपालमा देखिने थिएन।

नेपालमा पछिल्ला केही वर्षमा वार्षिक झन्डै डेढ सयको सङ्ख्यामा मिर्गौला प्रत्यारोपण हुने गरेको केन्द्रको विवरणले देखाउँछ।

सम्बन्धित सामग्री