न्याय माग्दै प्रदर्शन: 'सरकारलाई निदाउन दिन्नौं'

  • 15 सेप्टेम्बर 2018
प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय खोज्दै देशका प्रमुख शहरहरूमा आज प्रदर्शन गरिएका छन्।

काठमाण्डूमा 'निर्मलाका लागि न्याय' भनिएको शान्तिपूर्ण प्रदर्शनमा हजारौँ सर्वसाधारणले स्वत:स्फूर्त रूपमा सहभागिता जनाएको बताइएको छ।

न्याय नपाएसम्म घर नफर्कने भन्दै आएका निर्मलाका आमाबुवा पनि प्रदर्शनमा सहभागी थिए।

निर्मलाकी आमा दुर्गादेवी पन्त र बुवा यज्ञराज पन्त न्यायका लागि भन्दै केही दिनअघि मात्रै केही महिला अधिकारकर्मीसहित काठमाण्डू आएका हुन्।

कारबाही

माइतीघर मण्डलाबाट शुरू भएको प्रदर्शनका सहभागीहरूले 'हत्यारा'लाई कारबाही माग गरिएका प्लेकार्ड बोकेका थिए।

नयाँ बानेश्वर पुगेर टुङ्गिएको प्रदर्शनका सहभागीले बलात्कार र हत्याजस्ता जघन्य अपराधका दोषीलाई उन्मुक्ति दिएको भन्दै सरकारविरुद्ध नाराबाजी समेत गरे।

पूर्वनिर्धारित समय अनुसार विराटनगर, धरान, इटहरी, राजविराज, जनकपुर, कञ्चनपुर, पोखरा, हेटौडा लगायतका शहरमा पनि प्रदर्शन भएको आफूहरूलाई जानकारी आएको प्रदर्शनमा सहभागि लुना भट्टराईले बताइन्।

भरतपुर र वीरगञ्ज लगायत केही स्थानमा चाहिँ साँझ कार्यक्रम गरिन लागिएको अभियानमा सहभागीहरूले बताएका छन्।

शनिवारको प्रदर्शनमा सहभागी हुन केही दिन अघिदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले स्वतःस्फूर्त रूपमा आह्वान गर्दै आएका थिए।

आलोचना

सोही आह्वानका आधारमा आफूहरू विरोधमा आएको कतिपय सहभागीले बताए।

काठमाण्डूको प्रदर्शनमा सहभागी महिला अधिकारकर्मी सुधा कोइरालाले भनिन्, "निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई सरकारले लुकाउने काम गरेको छ।"

"न्याय दिनुको साटो सरकार सुतेको अवस्थामा रहेकाले उसलाई जगाउन हामीले विरोध गर्नुपरेको छ। हामी निर्मलालाई न्याय नदिलाइ सरकारलाई निदाउन दिँदैनौँ।"

गत साउन १० गते महेन्द्रनगरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

घटना भएको ५२ दिन पुगिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।