निर्मला पन्त हत्याः थप पाँच प्रहरी निलम्बित

  • 15 सेप्टेम्बर 2018
छानबिन

सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको अनुसन्धानमा संलग्न थप पाँचजना प्रहरी अधिकारीलाई निलम्बन गरेको छ।

गृह मन्त्रालयद्वारा शनिवार साँझ जारी विज्ञप्ति अनुसार प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई शनिवारबाटै लागु हुने गरी निलम्बन गरिएको हो।

पन्तको बलात्कारपछि हत्या र त्यसपश्चात् उत्पन्न घटनाबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले गरेको सिफारिस अनुसार उनीहरूलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बीबीसीलाई बताए।

सो समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक प्रतिवेदन पेश गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सिफारिश

सोही प्रतिवेदनमा बालिका हत्यापछि गरिनुपर्ने अनुसन्धान कार्य 'जिम्मेवारीपूर्वक गर्न नसकेका' सुरक्षाकर्मीलाई अनुसन्धानको दायरामा ल्याउन समितिले सिफारिस गरेको बताइएको छ।

यसअघि सरकारले छानबिनमा लापरबाही गरेको भन्दै आवाज उठेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई निलम्बन गरिसकेको छ।

प्रतिवेदनले औँल्याएका अन्य केही सन्दिग्ध व्यक्तिहरूलाई पनि छानबिनको दायरामा ल्याइ अनुसन्धान अघि बढाउन गृहमन्त्रीले निर्देशन दिएको प्रवक्ता सुवेदीले बताए।

बालिका हत्या भएको ५२ दिन बितिसक्दा पनि अनुसन्धानले ठोस निष्कर्ष निकाल्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।

निर्मला पन्त र उनको परिवारका लागि न्यायको माग गर्दै शनिवार देशका विभिन्न भागमा शान्तिपूर्ण प्रदर्शन भएका छन्।

प्रदर्शनकारीहरूले निर्मला पन्त र उनको परिवारलाई न्याय नदिलाएसम्म आफूहरूले विश्राम नलिने बताएका थिए।

राजधानीमा गरिएको प्रदर्शनमा निर्मलाका आमाबुवाका साथै अधिकारकर्मीहरूको उल्लेख्य सहभागिता थियो।

सम्बन्धित सामग्री