अफगानिस्तानको अवस्था थप किन बिग्रिँदैछ

  • 16 सेप्टेम्बर 2018
अफगानिस्तान तस्वीर कपीराइट AFP

अफगानिस्तानमा अमेरिका समर्थित सेनाविरुद्ध तालिबान र अरू लडाकु समूहका आक्रमणका खबरहरू प्रायः आइरहन्छन्। त्यहाँ हुने हमलामा ठूलो सङ्ख्यामा मानिसहरू मारिने गरेका खबर पनि दिनहुँजसो आउँछन्।

त्यहाँ गतिरोध जारी छ र युद्ध सकिने कुनै सङ्केत देखिँदैन। आखिर किन त्यस्तो भइरहेको छ त? बीबीसी सम्वाददाता दाउद आजमीको रिपोर्ट।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि हमला गर्दा त्यहाँको स्थिति अहिलेको जति खराब थिएन। १७ वर्षअघि तालिबानलाई च्युत गरिएको थियो।

तर अहिले आएर अझ बढी प्रान्तहरूमाथि उनीहरूको नियन्त्रण छ।

पकड

अमेरिकी इतिहासलाई हेर्दा अफगानिस्तान युद्ध उसको लागि सबैभन्दा लामो युद्ध हो।

समयसँगै सङ्घर्ष चर्किएको मात्रै छैन, बरू जटिल पनि हुँदै गएको छ।

काबुलमा आत्मघाती आक्रमण, दर्जनौँको मृत्यु

अफगानिस्तान: गज्नीमा 'मानवीय सङ्कट'

तालिबानको अपहरणमा १५० बसयात्री

आक्रमण लगातार हुने गरेका छन्, त्यो पनि ठूलो स्तरमा र त्यसमा थुप्रै मानिसले ज्यान गुमाइरहेका छन्।

तस्वीर कपीराइट Reuters

तालिबान लडाकु र अमेरिका तथा उत्तर एट्लान्टिक सन्धि संगठन-नेटो समर्थित अफगान सरकार दुवै पक्षले प्रदेशहरूमाथिको आफ्नो पकड जमाउने प्रयत्न गर्दै आएका छन्।

काबुलदेखि दक्षिणमा पर्ने रणनीतिक महत्त्वको गजनी प्रान्तको राजधानीमा गत अगस्ट १० मा तालिबान लडाकुहरूले धावा बोलेका थिए।

अफगान सुरक्षा बल र हवाई हमलासँगै लडाकुहरू पछि हट्न बाध्य भए।

नियन्त्रण

मे १५ मा तालिबान लडाकुहरू इरानसँगको सीमा नजिकै पर्ने पश्चिमी फराह प्रान्तको राजधानी प्रवेश गरे।

सरकारी फौजको आक्रमणबाट पछाडि हट्न लडाकुहरू बाध्य भइरहँदा कैयौँ मानिस मारिए र घाइते भए।

अरू शहर र जिल्लाका केन्द्रहरू पनि तालिबान लडाकुको हमलाको खतरामा रहिआएका छन्। हेलमन्द र कान्दहार प्रान्तको ठूलो हिस्सामाथि तालिबानको नियन्त्रण छ।

तस्वीर कपीराइट EPA

ती क्षेत्रमा अमेरिकी, ब्रिटिश र अरू देशका सेना मारिएका दृष्टान्त पनि छन्। त्यहाँ सर्वसाधारण मारिएको आँकडा पनि सानो छैन।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा १० हजारभन्दा बढी मानिसहरू मारिए र सन् २०१८ मा त्यो सङ्ख्या अझ बढ्नसक्छ।

अफगानिस्तानमा सङ्घर्ष चर्किनुका पाँचवटा प्रमुख कारण छन्:

१. सरकारी फौज र लडाकु दुवै पक्षले आ-आफ्नो प्रभाव र थप क्षेत्रमा नियन्त्रण बढाउन प्रयत्नशील छन्।

२. सन् २००१ को अमेरिकी रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाइएको छ। एक दशकअघि अमेरिका र अफगान सरकारले अफगानिस्तानमा १५ हजार लडाकु भएको अनुमान गरेका थिए। अहिले तिनीहरूको सङ्ख्या ६० हजार पुगिसकेको अनुमान छ।

३. अफगानिस्तानमा इस्लामिक स्टेट समूहको उदयसँगै त्यहाँ हिंसा र बर्बरता बढेको छ। पछिल्ला हिंस्रक आक्रमणहरूको सोही समूहले जिम्मेवारी लिने गरेको छ।

४. त्यसपछि वार्ताको कुराले महत्त्व पाएको हो। तर तालिबानले त्यसबाट फाइदा लिन चाहेको देखिन्छ।

५. अमेरिका र अन्य देश (पाकिस्तान, रुस र इरान) बीचको तनावले नकारात्मक असर परेको छ। अमेरिकी र अफगान सरकारले ती तीनवटै मुलुकले तालिबानलाई सघाएको आरोप लगाउने गरेका छन्।