प्रहरीहरू कारबाहीमा पर्नुका प्रमुख तीन कारण

  • 16 सेप्टेम्बर 2018
नेपाल प्रहरी

मुख्यतया तीनवटा कसुरमा प्रहरीहरू बर्सेनि कारबाहीमा पर्ने गरेको नेपाल प्रहरीका उच्च अधिकारी तथा गृह मन्त्रालयका पूर्वपदाधिकारीहरूले बताएका छन्।

सर्वसाधारणलाई दुःख दिने काम, आर्थिक अनियमितता र महिला सहकर्मीमाथिको दुर्व्यवहार मुख्य कारण भएको उनीहरू बताउँछन्।

प्रहरी प्रधान कार्यालयका अनुसार गत तीन वर्षमा एक हजार छ सय ५९ प्रहरीलाई भविष्यमा जागिर खान नमिल्ने गरी बर्खास्त गरिएको छ भने ४ सय ३७ जनालाई जागिरबाट हटाइएको छ।

त्यसबाहेक नसिहत, ग्रेड रोक्का, प्रतिकूल राय, ग्रेड घटुवा, पदोन्नति रोक्का, पद घटुवा र निलम्बनको कारबाहीमा परी गत तीन वर्षमा ८ हजार ७ सय ६६ प्रहरी कारबाहीमा परेको सो कार्यालयले जनाएको छ।

कारबाही

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेष थापा क्षेत्रीका अनुसार सर्वसाधारण जनतालाई दुःख दिने प्रहरीविरुद्ध कारबाही गरिएको हो।

उनले भने, "हामीले गैर व्यवसायिक, आर्थिक अनियमितता तथा अन्य विभिन्न अनियमित काम गर्नेलाई कारबाही गरेका हौँ।"

आईजीपी चयन किन यति 'पेचिलो'?

सुरक्षा निकायको खरिद प्रक्रिया 'अपारदर्शी'

अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरी सर्वसाधारण जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले प्रहरीविरुद्ध अधिकांश उजुरी आर्थिक अनियमितताका हुने गरेको नेपाल प्रहरीका उच्च अधिकारीहरू बताउँछन्।

Image caption शैलेष थापा क्षेत्री

त्यसबाहेक पुरुष प्रहरीले महिला प्रहरीमाथि गर्ने दुर्व्यवहार पनि प्रहरी कारबाहीको एउटा कारण भएको प्रहरी उपरीक्षक मीरा चौधरी बताउँछिन्।

उनले भनिन्, "प्रहरीको अनुशासन पालना नगर्ने त कारबाहीमा पर्छन् नै। त्यसबाहेक सँगै काममा खटिएका महिला प्रहरीमाथि दुर्व्यवहार गर्नेहरू पनि कारबाहीमा पर्ने गरेका छन्।"

निगरानी

पूर्व गृह सचिव सूर्य सिलवालका अनुसार प्रहरी कारबाहीमा पर्नुका अरू कारण पनि छन्।

प्रहरीका हाकिमहरूले राख्ने घुमुवा प्रहरीमार्फत गर्ने आर्थिक अनियमितता नै उनी एउटा प्रमुख कारण ठान्छन्।

उनले भने, "प्रहरीका हाकिमले घुमुवा राखेर पैसा उठाउने कामले आर्थिक अनियमितता बढाएको छ। प्रहरी कारबाहीको यो मुख्य कारण ठानेको छु।"

प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि निगरानी गर्ने कामलाई प्राथमिकता नदिनु र विभिन्न समुदायबाट आएका प्रहरीलाई संगठनको अनुशासन सिकाउनमा कमी कमजोरी हुनु प्रहरी कारबाहीका अन्य कारण भएको सिलवाल बताउँछन्।

तर कारबाहीमा पर्नेहरूमा कनिष्ठ प्रहरी जवानको सङ्ख्या धेरै छ।

सम्बन्धित सामग्री