इन्डोनेशिया: भूकम्प र सुनामीमा मृत्यु हुनेको सङ्ख्या १३५०

  • 3 अक्टोबर 2018
इन्डोनेशिया तस्वीर कपीराइट AFP

इन्डोनेशियामा भूकम्प र त्यसपछि आएको सुनामीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या झन्डै १,३५० पुगेको त्यहाँको विपद्सम्बन्धी निकायले जनाएको छ।

शुक्रवार ७.५ म्याग्निट्युडको भूकम्पले सुलावेसीको मध्यटापुमा असर पुर्‍याएको थियो र भूकम्पपका कारण आएको सुनामीले तटीय पालु नगरलाई नराम्ररी असर गरेको थियो।

यसअघि ८४४ रहेको मृत्यु हुनेहरूको सङ्ख्या मङ्गलवार बढेर १३ सयभन्दा माथि पुगेको हो।

प्रभावित क्षेत्रमा मानिसहरू खानेकुरा, इन्धन र पानी पाउन आतुर देखिँदा प्रहरीहरूले लुटेराहरूविरुद्ध पसलहरूमा पहरा दिइरहेका छन्।

मानवीय सहायता

राष्ट्रिय प्रहरीका उपप्रमुख अरी डोनो सुकमान्टोका अनुसार केही मानिसहरू कम्प्युटर र रकम चोरेको अभियोगमा पक्राउ परेका छन्।

सुरुमा सुनामीबाट बाँच्न सफल भएका मानिसहरूले खानेकुरा बलजफ्ती लिँदा पनि अधिकारीहरूले उनीहरूप्रति उदार दृष्टिकोण राखेका थिए।

सुनामीको दुई दिनपछि खानेकुरा आपूर्तिका लागि आइपुगेको र केवल त्यसको वितरण गर्न आवश्यक रहेको भन्दै सुकमान्टोले अब कानुनलाई सुदृढ बनाउन खोजिरहेको बताए।

मानवीय सहायताका लागि राहतका सामाग्री पुर्‍याउन आएका गाडीहरू पङ्क्तिबद्ध भएर सहरमा प्रवेश गरिरहँदा प्रहरी र सेनाले त्यसलाई सुरक्षा प्रदान गरिरहेका थिए।

अझै पनि भवनका भग्नावशेषमा केही जीवित व्यक्तिहरू फसिरहेको हुनसक्ने आशङ्का गरिएको छ।

तनाव

बीबीसीका जनाथन हेडका अनुसार पालुमा आफूहरूले भेटेका सबै मानिस आफ्ना परिवारका लागि खानेकुरा पाउने प्रयास गरिरहेको भेटिए।

पालु नगरमा आवश्यक सबै आधारभूत सेवा अवरुद्ध भएको र त्यहाँ खानेकुरा र पिउने पानी एकदमै न्यून भएको उनले बताए।

त्यहाँ एउटा पसलमा हतियारसहितका प्रहरीको समूहले पहरा दिएको र स्थानीय मानिसहरूले प्रहरीलाई ठेलेर पसलमा प्रवेश गर्न खोजेको आफूले देखेको हेडले बताए।

त्यसपछि अकस्मात् प्रहरीले चिच्याएर सबैलाई पछि हट्न भन्दै आकाशतिर फर्काएर बन्दुक चलाएको र अश्रुग्यास प्रयोग गरेको थियो।

केही मानिसहरूले प्रहरीलाई ढुङ्गा सम्म हानेको र त्यसपछि केही बेरका लागि अवस्था थप चर्किनसक्ने देखिएको बीबीसी सम्वाददाता हेडले बताए।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार