ट्रम्प-किम शिखर बैठक ‘मध्यावधि निर्वाचनपछि’

  • 10 अक्टोबर 2018
शिखर बैठक तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अन र उनीबीचको दोस्रो शिखर बैठक अमेरिकाको मध्यावधि निर्वाचनपछि हुने बताएका छन्।

आउँदो नोभेम्बरमा अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले शिखर बैठकका लागि तीन-चारवटा स्थानबारे विचार भइरहेको बताए।

उनले संयुक्त राज्य अमेरिका वा उत्तर कोरियामा पनि शिखर बैठक हुन सक्ने उल्लेख गरे।

निरस्त्रीकरण

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले प्योङ्याङमा किमसँग भेटवार्ता गरेर फर्केपछि आफूले उत्तर कोरियाको पूर्ण तथा अन्तिम निरस्त्रीकरणको बाटो हेर्न सक्ने बताएका थिए।

हालै संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकाले प्रतिबन्धहरूलाई निरन्तरता दिइराखे आफ्नो देशले निरस्त्रीकरण नगर्ने चेतावनी दिएका थिए।

तस्वीर कपीराइट AFP

गत जुनमा ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच सिंगापुरमा जुनमा भएको शिखर बैठक हालसम्मकै पहिलो अवसर थियो।

सहमति

दुवै नेताले नयाँ सम्बन्ध स्थापित गर्ने, 'पूर्ण निरस्त्रीकरणका लागि काम गर्ने' र कोरियाली प्रायःद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे एउटा सहमतिमा हस्ताक्षर गरेका थिए।

यद्यपि निरस्त्रीकरण कहिलेसम्म हुने र त्यसको प्रमाणीकरण कहिलेसम्म गरिने भन्नेबारे उक्त सहमति स्पष्ट छैन।

एक वर्षअघि मात्रै अमेरिका र उत्तर कोरिया पारमाणविक युद्धबारे सार्वजनिक रूपमा बोल्ने गर्थे।

ट्रम्प र किमबीच गत जुनमा भएको शिखर बैठक गराउन दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।