अमेरिका-ब्रिटेनले साउदी सम्मेलन बहिष्कार गर्न सक्ने

  • 14 अक्टोबर 2018
प्रदर्शन तस्वीर कपीराइट AFP
Image caption वाशिङटनस्थित साउदी अरेबियाको दूतावास अगाडि प्रदर्शन

ब्रिटेन र अमेरिकाले साउदी अरेबियामा हुने एउटा अन्तर्राष्ट्रिय सम्मेलन साउदी पत्रकार जमाल खशोग्गीलाई बेपत्ता पारिएको घटनालाई लिएर बहिष्कार गर्ने विषयमा विचार गरिरहेको बीबीसीलाई थाहा भएको छ।

टर्कीको इस्तानबुलस्थित अक्टोबर २ मा साउदी वाणिज्य दूतावास पुगेका खशोग्गी त्यसपछि बेपत्ता भएका थिए।

खशोग्गीले खासगरी साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको आलोचना गर्दै आएका थिए।

इस्तानबुलस्थित अधिकारीहरूको विश्वास छ, साउदी अरेबियाले नै खशोग्गीको हत्या गराएको हुनुपर्छ।

'दण्डित'

सो आरोपलाई रियादले चाहिँ 'झूट' भन्ने गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियाले खशोग्गीको हत्या गराएको पुष्टि भए उसलाई 'दण्डित' गर्ने बताएका छन्।

तस्वीर कपीराइट EPA

खशोग्गी बेपत्ता प्रकरणलाई लिएर कैयौँ प्रायोजक र सञ्चार समूहले यसै महिना रियादमा हुने लगानी सम्मेलन बहिष्कार गर्ने निर्णय गरिसकेका छन्।

कूटनीतिक स्रोतहरूले बताएअनुसार अमेरिकी अर्थमन्त्री र अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी ब्रिटिशमन्त्री सम्मेलनमा नजान सक्छन्।

भर्त्सना

साउदी अरेबियाले खशोग्गीको हत्या गराएको पुष्टि भए त्यसको भर्त्सना गर्दै संयुक्त रूपमा वक्तव्य जारी गर्ने विषयमा पनि अमेरिकी र युरोपेली कूटनीतिज्ञहरूले विचार गरिरहेका छन्।

सुधारका मुद्दाहरूलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साउदी राजकुमारले सम्मेलनको आयोजना गर्न लागेका हुन्।

अमेरिकी अर्थमन्त्री र अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी ब्रिटिशमन्त्री दुवैजना सम्मेलनमा सहभागी नभए साउदी अरेबिया आफ्ना दुई महत्त्वपूर्ण साझेदारबाट बहिष्कृत भएको रूपमा हेरिनेछ।

अन्तर्राष्ट्रिय व्यापार मामिलासम्बन्धी ब्रिटिश मन्त्रालयका एकजना प्रवक्ताले सम्मेलनमा सहभागी हुनेबारे अझै टुङ्गो लागिनसकेको बताए।