धितोपत्र बजार: 'सुधारका कारण लगानीकर्तालाई फाइदा'

  • 16 अक्टोबर 2018
धितोपत्र बोर्ड

केही समययता नेपालको धितोपत्र बजारमा कार्यान्वयन गरिएका सुधार तथा डिजिटाइजेसनका कारण आम लगानीकर्तालाई समय र पैसाको बचत अनि सुविधा थपिएको उनीहरूले बताएका छन्।

खासगरि शेयर प्रमाणपत्रहरूको डि म्याट वा अभौतिकिकरण तथा ब्याङ्कबाटै शेयर खरिदबिक्रीका निम्ति आस्बा जस्ता प्रणालीले बजारमा सुधार ल्याएको उनीहरूले बताएका छन्।

तर यही समयमा स्टक बजारको मूल्य भने लगातार घटिरहेको छ।

छरितो

पहिले पहिले शेयर किनबेच भनेको निकै समय लाग्ने खर्चिलो र झञ्झटिलो काम भन्ने आम बुझाइ थियो।

केही समय यता नौला प्राविधिक औजारको प्रयोगले शेयर किनबेच कम झञ्झटिलो र छरितो बन्न थालेको पाइन्छ।

खासगरि शेयरका कागजी प्रमाणपत्रको साटो डिजिटल अभिलेख राख्ने प्रणाली अभौतिकिकरण वा डिम्याट अनि शेयर किन्दाखेरि ब्याङ्कमार्फत खातामा पैसा रोक्का गरेर लिन मिल्ने प्रणाली आस्बाले आम लगानीकर्तालाई धेरै सुविधा पुगेको नेपाल धितोपत्र बोर्डको भनाइ छ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले भने, "डिजिटलाइजेसन भएपछि धेरै सुविधा भएको छ। पहिले प्राथमिक बजारमा शेयर निष्काशन हुँदा त्यो बजारमा आएर सूचीकृत हुँदासम्म ६ महिना लाग्थ्यो भने अब ४० दिनमै हुन्छ।पहिले शेयरका लागि दरखास्त भरेपछि बाँडफाट हुन ९० दिन लाग्थ्यो। अहिले ७ दिनसम्म गर्न सकिन्छ।"

सुरुमा डिम्याट खाता खोल्ने प्रणालीको प्रयोग अनि अब किनबेचमा आस्बा प्रणालीले गर्दा आम लगानीकर्ताका निम्ति समय र खर्च दुवैको बचत भएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल स्वीकार्छन्।

उनी भन्छन्, "पहिले पहिले बोनस शेयर वा अग्राधिकार शेयर सूचीकृत हुन ६ महिना लाग्थ्यो। अचेल राफसाफ गर्न ३ दिनमै पुग्छ। खरिदबिक्री छिटो गर्न सक्छौँ।"

समय र खर्चका साथसाथै यी नौला प्रणालीको प्रयोगले धितोपत्र बजारलाई पारदर्शी र विश्वसनीय बनाउन समेत सहयोग पुगेको बताइन्छ।

अझै पनि धितोपत्र कारोबारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन चाहिँ पूर्ण अनलाईनको सुविधा दिन बाँकी रहेको ठान्छिन्

नेपाल लगानीकर्ता मञ्चकी सचिव दुर्गा तिवारी भन्छिन्, "डिम्याट आस्बा जस्ता नयाँ प्रणालीले आम लगानीकर्तालाई एकदमै धेरै फाइदा पुगेको छ। तर सबै काम भइसक्यो भन्न मिल्दैन। त्यसका लागि पूर्ण रूपमा अनलाईन प्रविधिमा जानु पर्छ।"

विस्तार

नयाँ प्रणालीको प्रयोगले धितोपत्रको कारोबारलाई काठमाण्डू बाहिर विस्तार गर्न समेत सघाउ पुगिरहेको अनुभव धितोपत्र बोर्डका अध्यक्ष कार्कीको छ।

उनले भने, "अब मनाङ जस्तो सानो जिल्ला जहाँ ६ हजार मात्र जनसंख्या छ त्यहाँ पनि डिम्याटका ४ सय खाता खुलिसकेका छन्। अबको चुनौती भनेको त्यसरी आएका शेयरलाई दोस्रो बजारमा कारोबार गर्न पाउनु पर्‍यो ठाउँठाउँमा भन्ने पनि छ। त्यस्तो माग सबैतिरबाट आइरहेको छ।"

धितोपत्र बजारमा सुधारका कतिपय कदमहरू चालिएका छन्।

तर यही अवधिमा शेयरबजारमा भने निकै उथलपुथल देखिन्छ।

कारण भिन्न भए पनि यही समयमा नेपालको शेयरबजारले उसको कूल बजार पूँजीकरण मूल्यमा धेरै नोक्सानी बेहोरिरहेको छ।

दुई वर्ष अगाडिको तुलनामा नेपाल स्टकको कूल बजार पूँजीकरण मूल्यमा एक चौथाई कमी आइ हाल करिब १४ खर्बमा रहेको छ।