एशियाली स्तरको सडक बनाउन के छन् चुनौती

  • 22 अक्टोबर 2018
राजमार्ग

नेपालले दुईवटा प्रमुख राजमार्गलाई एशियाली राजमार्गको मापदण्ड अनुसार बनाउने प्रतिबद्धता ४ वर्षअघि जनाए पनि सो बमोजिमका काम भने हुन नसकेको अधिकारीहरूले बताएका छन्।

प्रतिबद्धता अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गतका दुईवटा खण्डलाई मापदण्ड अनुरूप चार लेनको बनाउन प्रक्रिया शुरू गरिएको सडक विभागले जनाएको छ।

वीरगञ्ज-कोदारी राजमार्गमा भने कहाँबाट कसरी बनाउने भन्ने टुङगो लाग्नै बाँकी छ।

सडकलाई स्तरोन्नति गर्न खर्बौँ रुपैयाँ लाग्ने भएकाले स्रोत जुटाउन मुख्य चुनौती हुने विज्ञहरूको टिपप्णी छ।

वाचा

नेपालले १०२७ किलोमिटर लामो पूर्वपश्चिम राजमार्ग र २९७ किलोमिटर लामो वीरगञ्ज कोदारी राजमार्गलाई एशियाली राजमार्गको मापदण्ड अनुसारको बनाउने प्रतिबद्धता जनाएको थियो।

सरकारी प्रतिबद्धता बमोजिम पूर्व-पश्चिम राजमार्गको केही खण्डलाई भने एसियाली राजमार्गको मापदण्ड अनुसार बनाउने प्रक्रिया शुरू गरिएको सडक विभागका महानिर्देशक रवीन्द्रमान श्रेष्ठले बताए।

उनले भने, "पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाउन शुरू गर्ने भनेर नारायणगढ-बुटवल खण्डको निर्माण सम्झौताको चरणमा छ। कमलादेखि कञ्चनपुरसम्मको पनि बोलपत्र आह्वान भएको छ। पथलैया-कमला सम्मका लागि कुराकानी भइरहेको छ।"

अन्य खण्डका हकमा भने सवारी चापको अवस्थाको अध्ययन गरेर मात्रै चार लेनको बनाइने प्रक्रिया अगाडि बढाउने बताइएको छ।

तर सरकारले आफैँ लगानी गर्ने अवस्था नरहेकाले विभिन्न दातृ निकायसँग छलफल भइरहेको महानिर्देशक श्रेष्ठले बताए।

उत्तर दक्षिण सडकका हकमा भने निर्माणाधीन निजगढ-काठमाण्डू द्रुतमार्गलाई उक्त मापदण्ड अनुसारको बनाउने योजना सडक विभागले बनाएको छ। तर त्यसमा पनि लगानी खोज्नैपर्ने अवस्था रहेको छ।

चुनौती

एशियाली राजमार्गको मापदण्ड अनुसार बनाउने प्रतिबद्धता अनुरूपको सडक बनाउन स्रोत र सरकारी तत्परताकै कमी रहेको भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाको भनाइ छ।

उनले भने, "त्यसका लागि ठूलो रकम लाग्छ। देशसँग त्यो रकम हुनुपर्‍यो। पहिलो चुनौती त्यही रकम नहुनु हो। नारायणगढ-बुटबलसम्म एशियाली विकास ब्याङ्कले पैसा दिएकाले शुरू हुन सकेको हो।"

"त्यस्तै अन्य दाताहरूले पैसा दिँदै गए भने अन्यत्र पनि निर्माण हुन सक्छ। स्रोत र गरेको सम्झौतलाई पालन गर्ने सरकारी तत्परता दुईवटा मुख्य चुनौती हुन्।"

एशियाली राजमार्गको मापदण्ड अनुसार बनाउन सबैभन्दा धेरै चुनौती पुलहरूमा देखिन्छ। सानाठूला गरेर झण्डै साढे ५ हजार पुल पूर्व-पश्चिम राजमार्गमा पर्दछन्।

ती सबैलाई सडकसँगै चार लेनको बनाउनुपर्ने हुन्छ। चार लेनको सडक अनि तिनमा आधुनिक ट्राफिक सङ्केतहरू राख्नुपर्ने व्यवस्था छ।

सम्बन्धित सामग्री