व्यक्तिगत विवरण कसरी सुरक्षित राख्ने?

  • 22 अक्टोबर 2018
राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र बनाउन थालिएका बेला 'साइबर' सुरक्षासम्बन्धी जानकारहरूले नागरिकका महत्त्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्नेबारे सरकार विशेष चनाखो हुनुपर्ने बताएका छन्।

त्यसबाहेक प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण जोकोहीलाई दिन नहुने विज्ञहरूको सुझाव छ।

नागरिकता लगायत अरू परिचयपत्रलाई पनि विस्थापित गर्ने ठानिएको 'सेक्युरिटी चिप्स'सहितको राष्ट्रिय परिचयपत्रको परीक्षण उत्पादन अक्टोबर महिनाको अन्त्यतिर गर्ने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अनुसार निर्माणको क्रममा रहेको राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र अन्य व्यक्तिगत विवरणहरू हुनेछ।

घरदैलोपछि राष्ट्रिय परिचयपत्र वितरण

भारतमा बायोमेट्रिक परिचयपत्रका कठिनाइ

विशेषता

त्यसमा व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिङ्ग लगायतका व्यक्तिगत विवरण हुनेछन्।

परिचयपत्रको विशेषताबारे केन्द्रका एकजना इन्जिनियर ज्ञानेश्वर बोहराले भने, "एउटै कार्डमा सरकारले जनतालाई जारी गर्ने सबै परिचयपत्र समाहित गर्न सक्छ। त्यस किसिमले यसको प्रारूप तयार पारिएको छ।"

बहुउपयोगी भनिएको राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, सवारीचालक अनुमतिपत्र र मतदाता परिचयपत्र लगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्रहरू बोक्नुपर्ने झन्झटको पनि अन्त्य हुने अधिकारीहरूको विश्वास छ।

तर पर्याप्त सावधानी नअपनाइए त्यसको फाइदासँगै बेफाइदा हुने जोखिम पनि उत्तिकै रहेको 'साइबर' सुरक्षासम्बन्धी जानकारहरूले बताएका छन्।

'साइबर' सुरक्षासम्बन्धी एकजना जानकार विजय लिम्बु भन्छन्, "अपराधीहरूले व्यक्तिगत विवरणहरू लिएर त्यसका आधारमा नक्कली कार्ड बनाइ सक्कली जस्तै भएर गतिविधि गर्न सक्छन्। र, सक्कली व्यक्ति फस्न सक्छ।"

'साइबर' आक्रमणकारीहरूले चोरी गरी मान्छेका व्यक्तिगत विवरणको दुरुपयोग गर्ने जोखिमसँगै सुरक्षा सतर्कता पनि सोही अनुसारको आवश्यक भएको विज्ञहरूको सुझाव छ।

परीक्षण

आफ्ना नागरिकका व्यक्तिगत विवरण गलत हातमा नपरोस् भनेर राज्य अझ बढी चनाखो हुनुपर्ने उनीहरू बताउँछन्।

'साइबर' सुरक्षासम्बन्धी अर्का जानकार नारायण कोइराला भन्छन्, "सर्भर र नेटवर्क भनौँ, नेटवर्कमा पनि विभिन्न उपकरण हुन्छन्। समग्रमा सबै प्रणालीको सुरक्षा सुनिश्चित गर्नुपर्छ।"

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले सिंहदरबारमा कार्यरत कर्मचारीहरूका र पाँचथर जिल्लाका मानिसहरूका गरी करिब ५० हजार जनाको व्यक्तिगत विवरण सङ्कलन गरिसकेको छ।

परिचयपत्र छपाइका लागि उपकरण समेत मगाइसकिएको अधिकारीहरूले बताएका छन्।

परीक्षण छपाइबारे केन्द्रका सूचना अधृकत शिवराज जोशीले भने, "अक्टोबरको अन्त्यतिर हामी परीक्षण उत्पादन गरेर त्यसमा सफल भयौँ भने अहिलेसम्म विवरण सङ्कलन गरेका सबैको कार्ड उत्पादन गरेर वितरण गर्छौँ।"

परीक्षण छपाइ सकिनासाथ परिचयपत्र बाँडन पनि शुरू गरिने केन्द्रले जनाएको छ। त्यसपछि विस्तारै अरू जिल्लाका लागि विवरण सङ्कलन थालिने केन्द्रको योजना छ।