भारत: मन्दिरमा महिलाको प्रवेश रोक्न खोज्ने सयौँ पक्राउ

तस्बिर स्रोत, Getty Images
दक्षिण भारतको एक प्रसिद्ध मन्दिरमा प्रवेश गर्न चाहने महिलाहरूलाई रोक्न खोज्ने ठूलो संख्याका मानिसहरूलाई प्रहरीले पक्राउ गरेको विरोधमा शुक्रबार हिन्दु राष्ट्रवादी पार्टी बीजेपीले, विरोध प्रदर्शन गर्ने बताएको छ।
गत महिना भारतको सर्वोच्च अदालतले केरला राज्यमा अवस्थित सबरीमाला मन्दिरमा निश्चित उमेरका महिलाहरूको प्रवेशमा लागु शताब्दीऔं अघिदेखिको प्रतिबन्धलाई हटाउने फैसला गरेको थियो।
तर त्यस्तो परिवर्तनको विपक्षमा रहेका भक्तजनहरूले हिंसात्मक विरोध प्रदर्शन गरेका छन्।
मुठभेड
भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसलापछि सबरीमाला मन्दिर प्रवेश गर्न चाहने महिलाहरूलाई रोक्न सयौँले उनीहरूसँग मुठभेड गरेका थिए।
केरला राज्यमा रहेको उक्त हिन्दु मन्दिरमा महिलाहरूको प्रवेशलाई रोक्न खोज्ने झण्डै २२ सय जनालाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ।
शान्तिका लागि प्रहरीले गरेको आह्वानलाई बेवास्ता गर्दै राज्यका अन्य भागमा पनि हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन्।
ऐतिहासिक रूपमा नै उक्त मन्दिरमा रजस्वला हुने उमेर भएका महिलाहरूको प्रवेशमा प्रतिबन्ध लागु थियो।
बीबीसी हिन्दीका इमरान कुरैशीसंग कुरा गर्दै एकजना वरिष्ठ प्रहरी अधिकारीले त्यसरी पक्राउ परेकाहरूमा महिला तथा पुरुष प्रदर्शनकारीहरू रहेका र तिनीहरूलाई दंगा फैलाएको र गैरकानुनी रूपमा भेला गरेको अभियोग लगाइएको छ।
तस्बिर स्रोत, KAVIYOOR SANTHOSH
उक्त सबरीमाला मन्दिर वर्षभरी छोटो छोटो अवधिका लागि मात्रै खुल्ने गर्छ।
प्रयास
ठूलो स्तरको विरोध भएका कारण गत हप्ता केही थोरै महिलाले मात्रै उक्त मन्दिरमा प्रवेश गर्ने प्रयास गरेका थिए।
र तिनीहरूलाई जबर्जस्ती फिर्ता पठाइएको थियो।
विरोध प्रदर्शनकारीहरूको विश्वासमा सर्वोच्च अदालतको फैसला उक्त मन्दिरका देवता ऐअप्पा स्वयंको इच्छा विपरित छ।
मन्दिरसँग सम्बन्धित कथनका अनुसार ऐअप्पा देवता बचनबद्ध ब्रम्हचारी हुन् त्यसैले उनको मन्दिरमा निश्चित उमेरका महिलाको प्रवेश वर्जित गरिएको हो।
सर्वोच्च अदालतको फैसला बमोजिम गत हप्ता उक्त मन्दिरको ढोका महिलाका लागि खुला गरिएको थियो तर विरोध प्रदर्शनकारीहरूका कारण एकजना पनि महिलाले त्यहाँ प्रवेश गर्न सकेनन्।
हिन्दु धर्ममा रजस्वला भएका बेला महिलाहरू अपवित्र हुन्छन् भन्ने मान्यता छ र त्यो समयमा तिनीहरूलाई धार्मिक गतिविधिमा संलग्न हुन दिइँदैन।