अमेरिकाः विस्फोटक पदार्थ पठाएका आरोपित पक्राउ

  • 27 अक्टोबर 2018
सिजर सायोक तस्वीर कपीराइट Broward County Sheriff's Office

संयुक्त राज्य अमेरिकामा हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै केही दिनयता विस्फोटक पदार्थ पठाउने गरिएको थियो।

अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम सिजर सेयक भएको बताएका छन्।

उनीमाथि विस्फोटक पदार्थ पठाएको र पूर्वराष्ट्रपतिहरूलाई धम्की दिएको लगायत पाँचवटा अभियोग लगाइएको छ।

ध्रुवीकृत

राष्ट्रपति ट्रम्पले 'ती कार्यहरू घृणित भएको र अमेरिकामा त्यसका लागि कुनै स्थान नरहेको' बताएका छन्।

विगत केही दिनयता पूर्वराष्ट्रपति बराक ओबामा र अभिनेता रोबर्ट डी निरोसहितका मानिसहरूलाई १४ वटा त्यस्ता शङ्कास्पद विस्फोटक पदार्थ पठाइएका छन्।

ओबामा र क्लिन्टनको ठेगानामा 'विस्फोटक वस्तु'

अमेरिकाको रेस्टुरेन्टमा शंकास्पद 'प्याकेट'

फ्लोरिडा र न्यूयोर्कमा शुक्रवार बिहान दुईवटा शङ्कास्पद विस्फोटक पदार्थ फेला पारिएको थियो। त्यसपछि क्यालिफोर्नियामा पनि दुईवटा भेटिएको थियो।

तस्वीर कपीराइट Reuters

राजनीतिक रूपमा निकै ध्रुवीकृत भएको अमेरिकामा मध्यावधि चुनाव हुन अब दुई हप्ताभन्दा कम समय बाँकी रहेका बेला यी घटना प्रकाशमा आएका हुन्।

सञ्चारमाध्यमहरूमा जनाइए अनुसार सवारीसाधनका पार्टपुर्जा विक्री पसलमा सायोकलाई पक्राउ गरिएको हो।

आपराधिक

अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेका अनुसार शङ्कास्पद पदार्थ रहेको एउटा प्याकेजमा भएको औँलाका छापका आधारमा सेयकलाई पक्राउ गरिएको हो।

उनी आपराधिक पृष्ठभूमिका भएको विवरणहरूमा उल्लेख गरिएको छ।

घटनाका सन्दिग्धले ४८ वर्षसम्मका लागि जेलसजाय भोग्नुपर्ने हुनसक्ने अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

तस्वीर कपीराइट CBS

एउटा पत्रकार सम्मेलनमा अमेरिकी महान्यायाधिक्ता जेफ सेसन्सले भने, "यस्ता स्वेच्छाचारिता खासगरी राजनीतिक हिंसा हामीलाई सह्य हुनेछैन।"

"जुनसुकै राजनीतिक आस्था भएका जोकोहीलाई पनि यो एउटा पाठ होओस् कि हामी त्यस्ताविरुद्ध पूर्ण कानूनी बल प्रयोग गर्नेछौँ।"