‘शोकलाई शक्तिमा बदल्दै’ दुई एकल महिला

  • 27 अक्टोबर 2018
हिमाल तस्वीर कपीराइट FACEBOOK

सोलुखुम्बुका दुई एकल महिलाले आउँदो वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा जुटेको बताएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिकाका फुरदिकी शेर्पा र निमा डोमा शेर्पाले 'टू विडोज एभरेष्ट एक्सपीडिसन २०१९' नाम दिएर आरोहण गर्न लागेका हुन्।

हिमालमा ज्यान गुमाएका श्रीमान्‌का अधुरो सपना पूरा गर्ने र एकल महिलाको साहसिक कार्यलाई चिनाउने उद्देश्यले आरोहणको तयारी थालेको उनीहरू बताउँछन्।

श्रीमान्‌को सम्झनामा अब रोएर होइन, उनले देखेको सपना साकार बनाउने दृढ सङ्कल्पका साथ सगरमाथाको चुचुरोमा पुग्ने प्रयास गर्न लागेको निमाले बताइन्।

कथा-व्यथा

एउटै गाउँका नभए पनि एकअर्कासँग परिचित छन् यी दुईजना। दुईजनाको कथा- व्यथा उस्तै छ। निमा खुम्जुङमा बस्छिन् भने फुरदिकी दिङबोचेमा।

गहभरि आँसु पोख्दै निमाले भनिन्, "सन् २०१४ मा हिमपहिरोमा श्रीमान्को ज्यान गएपछि परिवारबाट पनि सहयोग भएन। छोराछोरीसहित म काठमाण्डू आएँ।"

र, राजधानी काठमाण्डूमा झेलेको अभावले सिकायो- अब आफैँले केही नगरी हुँदैन।

एकल भएर अरूको आश्रयमा बाँच्नुको पीडा कत्तिको हुँदोरहेछ भन्ने कुरा उनलाई राम्ररी महसुस पनि भयो।

तस्वीर कपीराइट Reuters

निमाले थपिन्, "हिमालले खोसेको खुशी खोज्दै हिमालमै जाने हामीले निधो गरेका हौँ।"

सगरमाथाको आधारशिविर फुरदिकी र निमाका लागी परिचित ठाउँ नै हो।

हिमाल आरोहणको मौसममा जोक्पे लिएर श्रीमान्‌सँगै कैयौँ पटक आधार शिविर पुगेको अनुभव पनि उनीहरूसँग छ।

श्रीमान् हुँदै साना हिमाल आरोहण गर्ने सपना फुरदिकीले नबुनेकी पनि होइनन्, तर श्रीमानले दिएनन्। उनको परिवारका सबैजना आरोहण पेशामा संलग्न छन्।

आत्मविश्वास

एक वर्षको अन्तरालमा उनले बुवा र श्रीमान् दुवैलाई गुमाइन्। त्यसपछि विरक्तिएर उनी तीन छोरी लिएर काठमाण्डू पुगिन्।

केही वर्षको काठमाण्डू बसाइ र अभावले हिमालमा काम गर्ने र श्रीमान्‌ले देखाएको बाटोमा लाग्ने प्रेरणा मिलेको फुरदिकी बताउँछिन्।

हिमालमा बाटो बनाउने क्रममा सन् २०१३ मा खुम्बु 'आईसफल'मा परी उनका श्रीमान्को ज्यान गयो।

"त्यो पीडालाई साहस र शक्तिमा बदलनेछौँ," आत्मविश्वाससहित फुरदिकी थप्छिन्।

तस्वीर कपीराइट FACEBOOK

एकल महिला पनि सक्षम र साहसिक हुन्छन् भन्ने सन्देश फैलाउन र एकल महिलाका लागि प्रेरणाको स्रोत बन्ने दुईजनाको लक्ष्य छ।

दुवैजना अहिले साना हिमालहरूको आरोहण र आर्थिक सङ्कलनमा जुटिरहेका छन्।

आफन्त र चिनजानका व्यक्ति तथा सघंसस्थाबाट सहयोग जुटाएर आरोहण पूरा गर्ने उनीहरू बताउँछन्।