श्रीलङ्कामा कसरी गहिरियो राजनीतिक संकट

  • 27 अक्टोबर 2018
महिन्दा राजपक्ष तस्वीर कपीराइट Getty Images

श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमसिङ्गेलाई बर्खास्त गरेको भोलिपल्ट संसद् स्थगन गरेपछि त्यहाँ राजनीतिक संकट गहिरिएको छ।

विक्रमसिङ्गेले उनको बर्खासीलाई चुनौती दिन तथा आफ्नो बहुमतलाई पुष्टि गर्न संसद्को आपत्‌कालीन सत्र बोलाए लगत्तै श्रीलङ्काली संसद् स्थगन गरिएको हो।

एउटा नाटकीय घटनाक्रममा राष्ट्रपति सिरिसेनाले शुक्रवार साँझ उनका राजनीतिक शत्रु तथा भूतपूर्व राष्ट्रपति महिन्दा राजपक्षलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

नोभेम्बर १६ सम्म त्यहाँको संसद् स्थगन गरिएको छ र राजपक्षलाई सांसदहरूको समर्थन जुटाउनका लागि समय दिने प्रयासस्वरूप त्यस्तो निर्णय लिइएको ठानिएको छ।

श्रीलंका: किन भयो संकटकालको घोषणा?

श्रीलंकामा संकटकाल घोषणा

घटनाक्रम

राष्ट्रपति सिरिसेनाको दलले युनाइटेड पिपल्स फ्रिडम अलाएन्स पार्टी (युपीएफए)को नेतृत्वमा रहेको सत्ता गठबन्धन छाडेपछि उनले प्रधानमन्त्री विक्रमसिङ्गेलाई बर्खास्त गरेका हुन्।

सन् २०१५ मा भएको राष्ट्रपतीय निर्वाचनमा सिरिसेनाले राजपक्षलाई हराएका थिए।

विपक्षीहरू भन्छन्- त्यस्तो कदम असंवैधानिक हो।

सन् २०१५ को चुनावमा विक्रमसिङ्गेले सिरिसेनालाई जित हात पार्न सघाएका थिए।

तर भारतलाई एउटा बन्दरगाह 'लिज'मा दिने सरकारी योजनाको विषयमा दुईजनाबीच मन्त्रिमण्डलमा झगडा गरेको बताइएको छ।

श्रीलङ्काको गृहयुद्ध तथा राजपक्षको कार्यकालमा भएका भनिएका ज्यादतीहरूसम्बन्धी जवाफदेहिता खोज्ने वाचासहित विक्रमसिङ्गे र उनको युनाइटेड न्याश्नल पार्टी- युएनपी सत्तामा आएको थियो।

तस्वीर कपीराइट AFP/Getty

विरोधी

राजपक्षको विरोधी हुनुअघि राष्ट्रपति सिरिसेना उनका साझेदार थिए साथै उनको नेतृत्वको सरकारमा मन्त्री पनि थिए।

राजपक्षको कार्यकालमा सन् २००९ मा श्रीलङ्काको गृहयुद्ध समाप्त भएको थियो तर विद्रोहीहरूमाथि उनले जित हासिल गरेको तरिकाका कारण उनले आलोचनाको सामना गरेका थिए।

गृहयुद्ध समाप्त हुने बेलामा कैयौँ हजार तमिल गैरसैनिकहरूलाई सरकारी फौजले मारेको विश्वास गरिएको छ।

२६ वर्ष लामो गृहयुद्धका क्रममा श्रीलङ्कामा ८० हजार देखि १ लाखसम्म मानिसले ज्यान गुमाएको आकलन गरिएको छ र दुवै पक्षमाथि युद्ध अपराधहरू गरेको आरोप लागेको छ।

अझ भूतपूर्व राष्ट्रपति राजपक्ष र उनको भित्री समूहले ठूलो स्तरमा भ्रष्टचार गरेको आरोप पनि लागेको छ।

यसै महिना केही समयअघि राष्ट्रपति सिरिसेनाले, मन्त्रिमण्डलको बैठकलाई भारतीय गुप्तचर निकायले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिरहेको आरोप लगाएका थिए।

त्यस्ता विवरणहरूपश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन पनि गरेको बताइएको छ।

सम्बन्धित सामग्री