‘असर्फीका राजा’लाई फाँसी दिइँदै

  • 28 अक्टोबर 2018
असर्फी तस्वीर कपीराइट MIZAN

गत जुलाइमा तेहरान प्रहरी प्रमुखले दुई टन असर्फीसहित एक जनालाई पक्राउ गरिएको बताउँदा धेरै इरानीलाई ती व्यक्तिबारे लगभग जानकारी नै थिएन।

प्रहरीले पक्राउ गरिएका वहीद मजलुमीनलाई 'असर्फीका राजा'को उपमा दिएको थियो।

प्रहरीका अनुसार ती व्यक्तिले आफ्ना सहयोगीहरूलाई तेहरानको बजारमा रहेका सबै असर्फी खरिद गर्न निर्देशन दिएका थिए ताकि पछि गएर आफूखुशी तिनको मूल्य निर्धारण गर्न सकियोस्।

हुन त पछि मजलुमीनको दुई टन असर्फी जफत नभएको भनियो, तर उनी र उनका छोराले दुई टनभन्दा बढी असर्फी खरिद गरेको भनियो।

त्यो घटनापछि इरानी सञ्चारमाध्यममा मजलुमीनको नाम पटक-पटक आएको छ र सो मुद्दामा उनलाई फाँसीको सजाय दिने प्रक्रिया अगाडि बढेको छ।

तर त्यो मुद्दामा 'असर्फीका राजा' मात्रै छैनन् जसलाई आर्थिक अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

को हुन् वहीद मजलुमीन?

गत वर्षको जुनको अन्त्यतिर एउटा नयाँ खाले असर्फीको मूल्य १२ लाख इरानी तोमानभन्दा बढी थियो र विनियम दरमा भएको वृद्धिको अनुपातमा त्यसको पनि मूल्य बढ्यो।

यो वर्षको जुलाइमा मजलुमीन पक्राउ परेको खबरपछि असर्फीको मूल्य ३० लाख तोमानभन्दा बढी पुग्यो।

इरानमा हजारौँ मृत्यदण्डबाट जोगिन सक्ने

न्याय विभागका अधिकारीहरूका अनुसार मजलुमीन र उनका सहयोगीहरूले बजारमा रहेका असर्फीको मात्रा बुझेर आपूर्तिमा कमी ल्याइ त्यसको मूल्य बढाइदिए।

तस्वीर कपीराइट AFP

५६ वर्षीय मजलुमीनलाई नजिकबाट चिन्नेहरू भन्छन्, उनले ३० वर्षभन्दा बढी समयदेखि तेहरानको बजारमा सुन र असर्फीको कारोबार गरिरहेका छन्।

तेहरानको वनक सडकस्थित पसलेहरू मजलुमीनलाई वहीद नामले बोलाउँछन्। त्यही उनको कार्यालय छ, जहाँबाट उनी पक्राउ परेका थिए।

इरानी अर्थतन्त्र

तेहरानको सबजा मैदान बजारका केही मानिसका अनुसार केही वर्षअघि मजलुमीनलाई गिरफ्तार गरिएको थियो र रिहा भएपछि उनले मुद्रा विनिमयको कारोबार छाडे। उनी सुनको कारोबारमा सीमित भए।

त्यतिबेला इरानको विदेशी मुद्रा कारोबारमा हस्तक्षेप गरेको आरोपमा उनलाई ६ महिना जेल सजाय सुनाइएको थियो।

न्याय विभागका अधिकारीहरूका अनुसार मजलुमीन र उनका छोरा मोहम्मद रजालाई अदालतको आदेश अनुसार पक्राउ गरिएको थियो।

तस्वीर कपीराइट TASNIM

तर इरानको केन्द्रीय ब्याङ्क न्याय विभागसँग सहमत देखिएन। उसका अनुसार उनीहरूको गतिविधि शङ्कास्पद थिएन।

पक्राउ गरिएका बेला केन्द्रीय ब्याङ्कले उनीहरूको रकम फिर्ता दिइएको भन्दै वक्तव्य जारी गरेको थियो।

अन्ततः अदालतले मजलुमीन र उनका छोरालाई निर्दोष भन्दै रिहा गर्न आदेश दियो।

पछिल्लो गिरफ्तारी

तेहरान प्रहरीको तर्फबाट बहसपैरवी गरिरहेका सरकारी वकिल मुर्तजा तौरकका अनुसार गैरकानूनी रूपमा देश छाड्न लागेका मजलुमीनलाई सन् २०१२ को अक्टोबरमा सूचना मन्त्रालयका अधिकारीहरूले मरिवान सीमामा गिरफ्तार गरेका थिए।

तर यी सबै कुरा अघिल्लो गिरफ्तारी र त्यसपछिको रिहाइसँग जोडिएका छन्।

इरना समाचार संस्थाले हालै एउटा भिडिओ फूटेज जारी गर्दै 'असर्फीका राजा' को रिहाइका लागि महमुद बहमनी नाम गरेका एकजनाले पहल गरेको बताएको थियो।

बहमनी पूर्वराष्ट्रपति महमुद अहमदीनेजादको कार्यकालमा इरानको केन्द्रीय ब्याङ्कका अध्यक्ष थिए।

सन् १९९२ मा विदेशी मुद्रा एवम् विनियम बजारमा आएको उथलपुथलको आरोप पनि मजलुमीनमाथि लगाइएको थियो।

सजायप्रति समर्थन

मजलुमीनमाथि इरानी अर्थव्यवस्थामा दक्खल पुर्‍याएको र भ्रष्टाचार फैलाएको आरोप छ। पछिल्ला महिनाहरूमा त्यहाँ विदेशी मुद्रा र सुनको भाउ आकासिएको थियो।

अमेरिकी डलरको भाउ १९ हजार तोमानभन्दा बढी पुगेको थियो भने असर्फीको मूल्य ५० लाख तोमानसम्म पुगेको थियो।

तस्वीर कपीराइट Getty Images

पछि सरकारले हस्तक्षेप गरेपछि मूल्य केही तल झरेको छ।

बढ्दो भाउलाई मध्यनजर गर्दै इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले आर्थिक अपराधमा संलग्नहरूमाथि सामान्य प्रक्रियाभन्दा छुट्टै अनुसन्धान र कारबाही गर्न आदेश दिए।

न्याय विभागका प्रवक्ताले मजलुमीनको मृत्युदण्ड बारेको आदेशमाथि सर्वोच्च न्यायालयको पुनर्विचारपछि त्यसको पुष्टि गरेका छन्।

मुद्रा तस्करी

यस वर्षको शुरूतिर केन्द्रीय ब्याङ्कले सार्वजनिक गरेको असर्फी र विनिमय बजार कारोबारमा व्यवधान पुर्‍याउनेहरूको सूचीमा मजलुमीनको नाम पनि थियो।

त्यसपछि उनका छोरा मोहम्मद रजालाई अदालतको आदेशपछि पक्राउ गरियो।

मजलुमीनका छोरा 'संगठित मुद्रा विनियमय तस्करी सञ्जालका सदस्य भएको र बुवाको निर्देशनमा थोक विनिमयको तस्करी गर्ने गरेको' न्यायपालिकाको ठहर छ।

अदालतमा पहिलो सुनुवाइका क्रममा मजलुमीनले भनेका थिए, "सन् २०१३ पछि यदि मैले एक डलर पनि खरिद वा विक्री गरेको छु भने त्यसको रसिद देखाइयोस्।"

तस्वीर कपीराइट Getty Images

यसै वर्षको एप्रिलमा इरान सरकारले डलर र तोमानको विनिमय दरबारे आधिकारिक नीति घोषणा गरेको थियो।

जसअनुसार एक डलरको मूल्य ४,२०० तोमान बराबर हुनेछ र केन्द्रीय ब्याङ्कले तोकेको मूल्यभन्दा फरक दर कायम गरिए त्यो अवैध मानिनेछ।

उक्त पृष्ठभूमिमा विनियम बजारमा पहुँच कठिन भएको छ भने असर्फीको खरिद-विक्रीमा निकै फाइदा हुने गरेको छ।