'कर्णाली राजमार्गमा मनपरी भाडा वृद्धि'

  • 28 अक्टोबर 2018
कर्णाली राजमार्ग

कर्णाली राजमार्गमा गुड्ने सार्वजनिक यातायातका साधनहरूले मनपरी तरिकाले भाडा उठाउने गरेको हुनाले आफुहरू मर्कामा परेको यात्रुहरूले गुनासो गरेका छन्।

सरकारले १० प्रतिशत भाडा बढाएको भए पनि यात्रुहरूबाट ३० देखि ५० प्रतिशत भन्दा बढी भाडा लिँदा आफुहरू मर्कामा परेको उनीहरूले बताएका हुन्।

जुम्ला सदरमुकामको विभिन्न स्थानमा छरिएर रहेका टिकट काउन्टरबाट लामो तथा छोटो दुरीको लागि छुटेका सवारी साधनहरूले मनपरी तरिकाबाट भाडा लिँदै आएको अधिकारीहरूले बताएका छन्।

यस विषयमा यात्रुहरूले नजिकको प्रहरी चौकी र स्थानीय प्रशासनलाई समयमा जानकारी गराएपछि कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

भाडावृद्धिले चौतर्फी भाउ बढाउने चिन्ता

यातायात सेवा सञ्चालन नगर्नेलाई कारवाही

मनपरी भाडा वृद्धि

जुम्लाबाट नेपालगञ्जसम्मको लागि १ हजार २ सय र सुर्खेतसम्मको लागि ९ सय ५० रुपैयाँ भाडादर तोकिएको भए पनि एकजना यात्रुबाट १ हजार ६ सयदेखि २ हजार रूपैयाँसम्म भाडा लिँदै आएको यात्रुहरूले बताएका छन्।

लामो दुरीको लागि मात्र नभएर छोटो दुरीमा समेत मनपरी तरिकाबाट भाडा असुल्दै आएको बताउँछन्, कर्णाली राजमार्गमा यात्रा गरिरहने तिला गाउँपालिका ४ की एकजना यात्रु पूर्णिमा शाही।

"पहिला जे तिरेको थियो त्यही बोकेर सबैले आ-आफ्नो भाडा बोकेर आएको हुन्छन्। बीचमा थाहा नभएर एक्कासी भाडा बढाउने गर्छन्। मनपरी तरिकाले भाडा लिइरहेका छन्।"

सरकारले १० प्रतिशत भाडा बढाएको भए पनि यात्रुहरूबाट मनपरी तरिकाले भाडा उठाउने गरेको हुनाले आफूहरू मर्कामा परेको यहाँका स्थानीय बासिन्दाहरूले बताउँदै आएका छन्।

बेवास्ता

यातायात व्यवसायीहरूले भने अनुसार भाडा नदिएमा गन्तव्य स्थानसम्म नपुग्दै बीच बाटोमा छोडी दिने भन्दै भाडा उठाउने गरेको बताउँछन्, तातोपानी गाउँपालिका ५ का अर्का यात्रु गोकर्ण चौलागाँइ।

"पहिला ९५ रुपैयाँ लिन्थ्यो भने अहिले दुई सय लिन्छ। अब यसलाई १० प्रतिशत भन्ने की के भन्ने? यो मनपरी ढंगले भाडा लिने गरेको देखिन्छ। न ट्राफिकले हेर्छ। यो कुरालाई बेवास्ता गरेजस्तो लाग्छ।"

जुम्लामा अहिले विभिन्न यातायात समितिका टिकट काउन्टर छरिएर रहेको हुनाले आ-आफ्नो तरिकाले भाडा असुल्दै आएको यातायात व्यवसायीहरू बताउँछन्।

यसको लागि स्थानीय प्रशासनले भाडामा एकरुपता ल्याउन पहल नगरेको हुनाले आफूहरूले समेत मनपरी तरिकाले भाडा लिँदै आएको स्वीकार गर्छन्, कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मिन बहादुर थापा।

कारबाही

"लोकलदेखि लामो दूरीसम्मको भाडा दर अनियमितता भएको छ। सबै काउन्टरहरूलाई एकै ठाउँमा राखेर एकरुपता बनाइयो भने चाहिँ भाडा कसैले पनि बढी उठाउन पाउँदैन।"

सार्वजनिक यातायातका साधनहरूले मनपरी तरिकाले यात्रुहरूबाट भाडा उठाउँदै आएको गुनासो आएमा कानुन अनुसार कारबाही अगाडि बढाइने बताउँछन्, जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल।

"बढी भाडा लिने, गाडीमा दुर्व्यवहार गर्ने र गुनासो गर्दा नकारात्मक दृष्टिकोणले हेर्छन् भने बसपार्कमै प्रहरी बिट राखेका छौं गुनासो गर्न त्यस्तो उजुरी आए हामी तत्काल कारबाही गर्छौं।"

जुम्ला सदरमुकाममा छरिएर रहेका टिकट काउन्टरहरू बसपार्कमा राख्नुपर्ने र सबै यातायात व्यवसायीहरूले तोकेअनुसारको भाडा दरलाई सार्वजनिक स्थानमा देखिने गरेर राख्नुपर्ने अधिकारीहरूले बताएका छन्।

यात्रुहरूले पनि तोकेभन्दा बढी भाडा लिएमा तत्काल नजिकको प्रहरी चौकी तथा स्थानीय प्रशासनमा खबर गर्न आग्रह गर्दै आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।