समुदायसँग सहकार्य गर्ने प्रहरी अभियानका विशेषता के-के?

  • 28 अक्टोबर 2018
रामबहादुर थापा तस्वीर कपीराइट RSS

हत्या र बलात्कारजस्ता जघन्य अपराधका दोषीहरूलाई समेत कतिपय प्रहरी अधिकारीहरूकै संरक्षणमा कानुनी कारबाहीबाट उन्मुक्ति दिने गरिएको भनी आलोचना खेपिरहेको नेपाल प्रहरीले आइतवारदेखि समुदायसँग सहकार्य गर्ने एउटा अभियान सुरु गरेको छ।

समुदाय-प्रहरी साझेदारी भनिएको उक्त अभियान ७७ वटै जिल्ला र ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन हुने अधिकारीहरूले बताएका छन्।

राजधानी काठमाण्डूमा आयोजित एक कार्यकममा गृहमन्त्री रामबहादुर थापाले उक्त अभियानको सुरुवात गरेका हुन्।

प्रहरी अधिकारीहरूका अनुसार समुदाय-प्रहरी साझेदारी समाज र प्रहरीबीचको द्वन्द्वात्मक अवस्थालाई सुधारात्मक अवस्थामा ल्याउने प्रयास हो।

प्रदेश २: आफ्नै प्रहरी बनाउन विधेयक पारित

प्रहरीहरू कारबाहीमा पर्नुका प्रमुख तीन कारण

नेपाल प्रहरीका अनुसार उक्ता अभियानका केही विशेषताहरू।

•शान्ति सुरक्षाका लागि समुदाय प्रहरीबीच साझेदारीका लागि समझदारी सम्झौता गरेर त्यसका आधारमा कार्यक्रम तय गरिने।

•सामुदायिक सुरक्षा र व्यवस्थापनका लागि स्थानीय तह, विद्यालयहरू, सामाजिक संघसंस्था तथा दातृ निकायसँग सहकार्य हुने।

•विद्यार्थी, अभिभावक र शिक्षक समूहमा देशको कुल जनसंख्यामध्ये ४० प्रतिशत जनसंख्या विद्यालय समुदायका रूपमा रहेकाले त्यसलाई विशेष प्राथमिकता दिइने।

•अपराध गर्ने र त्यसबाट पीडित हुनेमा बालबालिका र युवा बढी रहेकाले उक्त समूहमा कार्यक्रम केन्द्रित गर्ने।

•युवाहरूलाई स्वयंसेवकका रूपमा संगठित गरेर अपराध नियन्त्रणमा क्रियाशील बनाउने।

•सामुदायिक गस्ती, स्वयंसेवक परिचालन, तथ्याङ्क संकलन, वातावरण बचाउ, फरार अपराधी पक्राउ, दुर्घटना न्यूनिकरणलगायतका १० वटा क्षेत्र निर्धारण गर्ने।

•महिला, बालबालिका, जेष्ठ नागरिकलगायतका समूहलाई प्राथमिकता दिइने।

•सुरक्षा सचेतनाका लागि घरदैलो, पर्चा वितरण तथा सांस्कृतिक कार्यक्रम गर्ने।

•सुरक्षा सम्बन्धी विशेष पाठ्यक्रम बनाएर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अध्यापन गराउने।

•दुई महानगर र दुई उपमहानगर सहित १ सय ६८ स्थानीय तहसँग समझदारीपत्र हस्ताक्षर भइसकेको र अन्यमा पनि त्यस्तै समझदारी गर्ने।

•अभियानमा ३५ हजार वडा प्रतिनिधिहरू, ७५ लाख विद्यार्थीहरू, ४० लाख अभिभावकहरू, ४ लाख शिक्षकहरू तथा ७५ हजार प्रहरीहरू प्रत्यक्ष रूपमा सहभागी हुने।

सम्बन्धित सामग्री