श्रीलङ्का: संसद् स्थगन गर्ने निर्णय पुनर्विचार गर्न माग

  • 28 अक्टोबर 2018
श्रीलङ्का तस्वीर कपीराइट AFP/Getty

श्रीलङ्काली संसद्का सभामुखले राष्ट्रपति माइत्रीपाला सिरिसेनालाई संसद् स्थगन गर्ने उनको निर्णयमाथि पुनर्विचार गर्न आह्वान गरेका छन्।

राष्ट्रपतिलाई लेखेको एउटा पत्रमा सभामुख करु जयसुरियाले, राष्ट्रपतिको उक्त निर्णयका कारण गम्भीर र अप्रिय परिणामहरू हुनसक्ने भन्दै त्यस्तो आग्रह गरेका हुन्।

राष्ट्रपति सिरिसेनाले विक्रमसिङ्गेलाई बर्खास्त गर्दै भूतपूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

श्रीलंका: किन भयो संकटकालको घोषणा?

श्रीलंकामा संकटकाल घोषणा

'अधिकारको संरक्षण'

जारी संवैधानिक संकटको अवस्थामा बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिङ्गेसहित सबै श्रीलंकाली सांसदहरूको अधिकारको संरक्षण गर्नुपर्ने जयसुरियाले बताएका छन्।

आफू अझै पनि प्रधानमन्त्री भएकोमा जोड दिएका विक्रमसिङ्गेले उनलाई प्रधानमन्त्रीको सरकारी निवासबाट हटाउने कदमको विरुद्धमा उत्रिएका छन्।

राजधानी कोलोम्बोस्थित 'द टेम्पल ट्रिज' भनिने प्रधानमन्त्रीको सरकारी निवास वरपर विक्रमसिङ्गेको दलका सयौँ समर्थकहरू जम्मा भएका छन्।

'गम्भीर असरहरू'

एउटा आश्चर्यचकित पार्ने कदममा शुक्रबार साँझ राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमसिङ्गेलाई बर्खास्त गर्दै उनका राजनीतिक शत्रु तथा भूतपूर्व राष्ट्रपति राजपाक्षलाई प्रधानमन्त्री बनाएका थिए।

सभामुखले राजपाक्षका समर्थकहरूले सरकारी सञ्चारमाध्यमलाई जबर्जस्ती नियन्त्रणमा लिएको विषयतर्फ इङ्गित गर्दै त्यसको अन्तर्राष्ट्रिय रुपमा गम्भीर असरहरू पर्ने बताएका छन्।

तनाब बढी रहँदा श्रीलङ्काका छिमेकी राष्ट्रहरू तथा पश्चिमा देशहरूले सबै पक्षलाई संविधानको सम्मान गर्न र संयमता अपनाउन भनेका छन्।

सम्बन्धित सामग्री