इन्डोनेशियाः ‘उडेको केही मिनेटमा विमान दुर्घटना’

  • 29 अक्टोबर 2018
विमान तस्वीर कपीराइट AFP

लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्।

उडान नं. जेटी-६१० जकार्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको थियो।

उडेको केही मिनेटपछि समुद्र माथिबाट कट्न लागेका बेला सो हवाईजहाजसँग सम्पर्क टुटेको थियो।

सो हवाईजहाजमा एक सय ८८ जना रहेको बताइएको छ। तीमध्ये १७८ वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट तथा पाँच चालकदलका सहयोगी सदस्य रहेको बताइएको छ।

पुष्टि

विमानमा सवार यात्रुहरूको अवस्थाबारे केही थाहा हुन नसकेको विवरणहरूमा जनाइएको छ।

राष्ट्रिय खोज तथा उद्धार निकायका एकजना प्रवक्ता युसुफ लतिफले समाचार संस्था एएफपीलाई भने, "विमान ३० देखि ४० मिटरको गहिराइमा खसेको हो। हामीले विमानका भग्नावशेष अझै खोजिरहेका छौँ।"

त्यसअघि सो एयरलायनका प्रमुख कार्यकारीले समाचार संस्था रोयटर्सलाई भनेका थिए, "हामी अहिले कुनै प्रतिक्रिया दिन सक्दैनौँ। हामीले सबै सूचना र तथ्य सङ्कलन गरिरहेका छौँ।"

तान्जुङ प्रिओकस्थित बन्दरगाहका एक अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यले एउटा सानो पानीजहाजले समुद्रमा विमानका भग्नावशेष देखेको जनाएका छन्।

तस्वीर कपीराइट Reuters

सुयादी नाम गरेका ती अधिकारीले घटनास्थलतर्फ अरू पानीजहाज पठाइएको बताएका छन्।

लायन एयर इन्डोनेशियाको एक बजेट अर्थात् सस्तो वायुसेवा प्रदायक कम्पनी हो।

सन् २०१३ मा लायन एयरकै एउटा विमान अवतरणका क्रममा समुद्रमा खस्दा त्यसमा सवार सबै एक सय आठजना बाँच्न सफल भएका थिए।

सन् २००४ मा उसकै एउटा विमान सोलो शहरमा दुर्घटनामा पर्दा २५ जनाको ज्यान गएको थियो।