किन निर्यात भइरहेको छैन नेपाली पोल्ट्री उत्पादन

  • 29 अक्टोबर 2018
व्यवसाय

नेपाल कुखुराजन्य उत्पादनमा आत्मनिर्भर भए पनि पोल्ट्री उत्पादन गुणस्तरीय हुन नसक्दा निर्यात हुन नसकेको विज्ञहरूले बताएका छन्।

८ देशका पोल्ट्री विज्ञहरु सहभागी एक अन्तराष्ट्रिय पोल्ट्री कार्यशालामा आएका विज्ञहरूले नेपालबाट पोल्ट्री उत्पादन निर्यात गर्न गुणस्तरमा ध्यान दिनुपर्ने बताए।

व्यवसायीहरूका अनुसार हालसम्म नेपालमा यस्ता उत्पादनको वर्गीकरण समेत भएको छैन।

त्यसले गर्दा निर्यातमा समस्या भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति तथा पोल्ट्री विज्ञ आईपी ढकालले बताए।

उनले भने, "हामीसँग खाद्य प्रशोधन कारखाना छैन। गुणस्तर मापदण्ड नहुँदा उत्पादन शैली पनि परम्परागत छ।"

लगानी

यो व्यवसायमा करीब ३३ अर्ब रुपैयाँ लगानी रहेको व्यवसायीहरू बताउँछन्।

तर हालसम्मको उत्पादन स्वदेशमा मात्र खपत भइरहेको छ।

पोल्ट्री उत्पादनको गुणस्तर सुधार गर्नुका साथै उत्पादन लागत कम गर्न पहल गर्नुपर्ने अर्की एकजना विज्ञ शारदा थपलियाले बताइन्।

यो व्यवसायमा हाल नेपालमा एक लाख ५० हजारले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएको बताइएको छ।