चीन: गैँडाको खाग र बाघको हड्डीमाथिको प्रतिबन्ध खुकुलो

  • 30 अक्टोबर 2018
गैँडा तस्वीर कपीराइट EPA/STR

चीनले बाघको हड्डी र गैँडाको खागको व्यापारमाथि लागु प्रतिबन्धलाई आंशिक रुपमा उल्ट्याउन गरेको निर्णयप्रति वन्यजन्तु संरक्षणवादीहरूले चिन्ता व्यक्त गरेका छन्।

बाघ र गैँडा जंगली अवस्थामा लोपोन्मुख जनावरहरू हुन् र चीनले सन् १९९३ मा तिनीहरुको अंगको कारोवारमा प्रतिबन्ध लगाएको थियो।

तर सोमवार एक निर्णय सार्वजनिक गर्दै थुनामा राखेर हुर्काइएको ती जनावरहरूको अंगलाई वैज्ञानिक, चिकित्सा र सांस्कृतिक प्रयोजनका लागि प्रयोग गर्न दिइने चीनले बताएको थियो।

त्यसप्रति चिन्ता व्यक्त गर्दै विज्ञहरू भन्छन् अब त्यस्ता जनावरहरूको माग बढ्न जानेछ र ती जनावरहरूको संरक्षण गर्ने प्रयास झन अप्ठ्यारो हुन जानेछ।

गैँडा र बाघका अंगहरू परम्परागत चिनियाँ औषधिहरूका लागि अपरिहार्य मानिन्छन्।

चीनमा त्यस्तो औषधिको प्रयोग ज्वरो, बाथ, अनिद्रा र मेनिनजाइटिस् लगायतका रोगका लागि हुने गर्दछ तर तिनबाट पुग्ने फाइदाका बारेमा विश्वसनीय प्रमाण भने उपलब्ध छैन।

उक्त २५ वर्ष पुरानो प्रतिबन्धको बदला नयाँ नियम ल्याउन लागिएको घोषणामा चीनको राज्य परिषदले भनेको छ गैँडाको खाग र मरेका बाघको हड्डीको चूर्णको प्रयोग "मान्यताप्राप्त अस्पतालहरूमा मान्यताप्राप्त चिकित्सकहरू" ले गर्न पाउने छन्।

दुई जोडी गैंडा चीन पठाउन अन्तिम अध्ययन

दक्षिण अफ्रिकामा गैँडाको खागको लिलामी

घोषणा

उक्त घोषणामा भनिएको छ, त्यस्ता वन्यजन्तुको अंग तिनलाई हुर्काइएका फार्महरूबाट प्राप्त गर्न सकिनेछ।

पुराना वस्तु वा एन्टिक्स् भनेर वर्गीकरण गरिएका त्यस्ता जनावरका अंगहरूको प्रयोग सांस्कृतिक अधिकारीहरूको अनुमति पछि सांस्कृतिक आदानप्रदानका कार्यमा हुन सक्नेछ।

विश्व वन्यजन्तु कोष, डब्ल्यूडब्ल्यूएफ, ले एक वक्तव्य जारी गर्दै भनेको छ चीन सरकारको त्यस्तो कदमको "विनाशकारी" असर पर्न सक्छ र जंगली अवस्थामा ती वन्यजन्तुको संरक्षण गर्ने प्रयासमा "ठूलो क्षति" पुग्ने छ।

" पुराना वस्तु अर्थात एन्टिक्स का रुपमा वा अस्पतालहरूमा मात्रै प्रयोग गर्न पाइने भनेर सीमित व्याख्या गरिएको भएतापनि यो व्यापारले उपभोक्ताहरू र कानुन परिपालकहरूमा अन्योल सिर्जना गर्नेछ।

"कुन सामग्री वैध र कुन अवैध भनेर छुट्याउन तिनीहरूलाई गाह्रो पर्नेछ। अनि बाघ र गैँडाको अंगको बजारलाई अझ फराकिलो बनाउनेछ," डब्ल्यूडब्ल्यूएफको बक्तव्यमा भनिएको छ।

वन्यजन्तुको अंग तस्करीसम्बन्धी एक पुस्तककी लेखिका रेचल नुअरले ट्वीटर सन्देशमा लेखेकी छन्, "चीनको नयाँ नीतिको अर्थ संसारमा बाँकी रहेका बाघ र गैँडाको दिन अब सकिएको पनि भन्न सकिन्छ।"

उनी भन्छिन् लोपोन्मुख वन्यजन्तुको अंगको वैध कारोवारले गैरकानुनी रुपमा मारिएका त्यस्ता जनावरको कारोवारलाई पनि कुनै न कुनै तरिकाले वैधानिकता प्रदान गर्नसक्छ।

सम्बन्धित सामग्री