युसेन बोल्टको अस्ट्रेलियाली क्लबमा फुटबल यात्रा टुङ्गियो

  • 2 नोभेम्बर 2018
बोल्ट तस्वीर कपीराइट EPA

जमैकाका पूर्वधावक युसेन बोल्टको अस्ट्रेलियाली फुटबल क्लब सेन्ट्रल कोस्ट मरिनर्समा ट्रायल टुङ्गिएको छ।

आठचोटि ओलिम्पिक्समा स्वर्ण पदक जितेका र अनेक कीर्तिमान बनाएका बोल्टले गत अगस्टमा ए लिग खेल्ने सो क्लबमा 'अनिश्चित अवधिका लागि प्रशिक्षण' गर्न थालेका थिए।

अस्ट्रेलिया बसाइका क्रममा एउटा मैत्रीपूर्ण खेलमा उनले दुई गोल गरेका थिए। तर लिगका खेलमा भने उनी सहभागी भएनन्।

मरिनर्सले बोल्टलाई क्लबमै राख्न गरिएको प्रयास विफल भएको शुक्रवार जनाएको छ।

गत महिना सो क्लबले बोल्टसँग सम्बन्धनका लागि 'फुटबल' र 'व्यापारिक' प्रस्ताव बनाइएको बताएको थियो। त्यसका लागि 'तेस्रो पक्ष' सहभागी हुनुपर्ने थियो।

ट्रायल 'सफल'

तर विभिन्न सम्भावित साझेदारहरूसँग वार्ता गर्दा पनि सहमति भने हुन नसकेको क्लबले बताएको छ।

मरिनर्सका मालिक माइक चार्ल्स्‌वर्थले बोल्टको आठहप्ते ट्रायल सफल भएको भन्दै उनलाई धन्यवाद दिएका छन्।

"उनी टोलीमा धेरै राम्ररी मिलेका थिए र उनले फुटबल खेलाडीका रूपमा लामो पाइला चालेका छन्," चार्ल्स्‌वर्थले भने।

एक सय मिटर र दुई सय मिटर धावनमा विश्वकीर्तिमान बनाएका बोल्टले व्यावसायिक फुटबल खेल्नु आफ्नो 'सपना' भएको बताएका छन्।

उनले सो अस्ट्रेलियाली क्लबका मालिक, व्यवस्थापन, कर्मचारी, खेलाडी र समर्थकलाई आफ्नो बसाइलाई न्यानो बनाएको भन्दै धन्यवाद दिएका छन्।

बोल्टले सन् २०१७ मा धावनबाट सन्न्यास लिएका थिए।

यसअघि बोल्टले जर्मनी, नर्वे र दक्षिण अफ्रिकाका क्लबहरूमा अभ्यास गरेका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
युसेन बोल्ट हावामा उडेपछि

सम्बन्धित सामग्री

सम्बन्धित समाचार