सडकका खाल्डाखुल्डी टाल्न अर्को निर्देशन

  • 2 नोभेम्बर 2018
सडकको खाल्डा

काठमाण्डू उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न विभिन्न निकायबीचमा अझै समन्वय अभाव देखिएको भन्दै त्यो अवस्था अन्त्य गर्न सम्बन्धित निकायलाई शुक्रवार अर्को निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका अधिकारीहरूले बताएका छन्।

चार महिनाअगाडि दिइएको निर्देशनको समीक्षाका लागि सम्बन्धित मन्त्रालय र निकायसँगको छलफलपछि प्रधानमन्त्री कार्यालयले पुन: नयाँ निर्देशन दिएको हो।

खानेपानी पाइपलाइनबाट भइरहेको पानीको चुहावट अन्त्य भएको केही दिनै राजधानीका सडकका खाल्डाखुल्डी पुर्न सकिने सडक विभागको भनाइ छ।

यसअघिको सरकारले समेत समय सीमा तोकेरै राजधानीका प्रमुख सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको थियो।

'असारे विकास' पछि आरोप-प्रत्यारोप

असारमा मात्रै ६ महिनाको भन्दा बढी खर्च

सरकार फेरियो, सडकमा खाल्डाखुल्डी पर्ने र तीनलाई पुर्ने क्रम पनि चलिरह्यो।

तर पनि काठमाण्डू उपत्यकामा सडकको दुरावस्था कहिल्यै अन्त्य नहुने टालटुले काम हुने गरेको भन्दै आलोचना भएपछि वर्तमान सरकारले गत चैतमा १५ बुँदे निर्देशन नै दिएको थियो।

समन्वयको अभाव

त्यसबारे शुक्रवार समीक्षाका लागि बोलाइएको बैठकमा अझै पनि तीन तहका सरकार, विभिन्न मन्त्रालय र निकायबीच समन्वयको अभाव देखिएको बैठकको संयोजन गरेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए।

उनले भने, "उहाँहरूले जुन हिसाबले समन्वय गरेर काम गर्नुपर्ने थियो त्यो अझै पनि हुन नसकेको देखियो। जसका कारण एउटाले बनाउने अर्कोले भत्काउने अनि काममा तालमेल नमिल्ने फलानोले नगरेका कारण काम गर्न सकिएन भन्ने ठाँउ रहने स्थिति रहिरहने भयो यो अन्त गर्नुपर्छ भनेर निर्देशन दिएका छौं।"

उनका अनुसार अब प्रभावकारी कामको निम्ति सबै मन्त्रालयका प्रतिनिधि रहने गरी एउटा समिति पनि बनाइने छ।

खाल्डाखुल्डी पुर्न बजेटको अभाव हुन नदिने व्यवस्था समेत सुनिश्चित गरिएको मुख्य सल्लाहकार रिमालले बताए।

उनले भने, "यदि कुनै ठाँउमा बजेट नराखिएको छ भने रकमान्तरका लागि अर्थमन्त्रालयमा तर्कसहित पठाउनुहोस्, खाल्डा पुर्न पैसा खर्च गर्दा कोही रिसाउने अवस्था छैन सबैले साथ दिन्छन् भनेर भनिएको छ त्यो हिसाबले अब काम होला।"

विगतको तुलनामा विभिन्न निकायकाबीच समन्वयको काममा केही सुधार भए पनि पानीका पाइपहरू फुटेका कारण समस्या भइरहेको सडक विभागको भनाइ छ।

उक्त बैठकमा सहभागी सडक विभागका महानिर्देशक रवीन्द्रमान श्रेष्ठले भने, "सडकका खाल्डाखुल्डी सबै पाइप फुटेर आएको पानीले भएको हो। त्यो टाल्नासाथ ३/४ दिनमा हामी सबै खाल्डाखुल्डी टाल्दिन्छौं। उपत्यकाका खानेपानी र मेलम्ची आयोजनासँग समन्वय भइरहेको छ उहाँहरूले लिक टाल्ने र हामीले पीच टाल्ने भएका छौं त्यही अनुसार हामी काम गर्दैछौं।"

तस्वीर कपीराइट RSS

सडकका खाल्डाखुल्डी पुर्न विभिन्न सडक अनुसार फरक फरक समय सीमा तोकेर निर्देशन दिइएको बताइएको छ।

बिमस्टेक सम्मेलनका बेला केही गति पाएको जस्तो देखिएको खाल्डाखुल्डी पुर्न निर्देशन प्रधानमन्त्री र मन्त्रीसहित विभिन्न तहबाट पटकपटक जारी भएका थिए।

त्यसैले पछिल्लो निर्देशनले कामको गति बढाउला भन्नेका अविश्वास गर्नेहरू पनि छन्।

सम्बन्धित सामग्री