त्रिशूली-काठमाण्डू प्रसारणलाइनले के फरक पर्ला

  • 3 नोभेम्बर 2018
प्रसारण

नुवाकोट र रसुवामा उत्पादित बिजुली केन्द्रीय प्रसारणलाइनमा जोड्ने उद्देश्यले निर्माण भइरहेको २२० केभी प्रसारणलाइन अन्तर्गत तार जडान थालिएको माथिल्लो त्रिशुली 'थ्री ए' जलविद्युत् आयोजनाले जनाएको छ।

२०६८ को फागुन १४ गतेदेखि थालिएको प्रसारणलाइन निर्माण अन्तर्गत खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि तार जडान शुरू गरिएको हो।

प्रसारणलाइन निर्माणको काम आउँदो पुस १५ गतेभित्र सक्नुपर्ने जिम्मेवारी ठेकेदार कम्पनी सीडब्ल्यूईलाई दिइएको र निर्धारित समयभित्रै सक्ने गरी निर्माणको काम भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

नुवाकोटको सूर्यमतिदेखि थानसिंहसम्म पर्ने १७ वटा खम्बामा उपकरणको सहायताले तार तान्ने काम भइरहेको माथिल्लो त्रिशूली 'थ्री ए' जलविद्युत् आयोजनाले जनाएको छ।

विस्तार

चिनियाँ प्राविधिक ल्याएर ठेकेदार कम्पनी चाइना इन्टरन्याशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सीडब्ल्यूई) ले सूर्यमतिबाट चतुराले हुँदै थानसिंहसम्मको खम्बा नं. २४ दशमलव १ देखि ३० नं.सम्म तार विस्तारको काम भइरहेको आयोजनाका प्रमुख फणीन्द्राराज जोशीले बताए।

प्रसारणलाइन निर्माण भएपछि नुवाकोट र रसुवाका जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रसारणलाइनमा जोड्न सहज हुने उनले विश्वास व्यक्त गरे।

"माथिल्लो त्रिशुली 'थ्री ए' को बिजुली मात्रै नभइ यस आसपासमा उत्पादन हुने बिजुली यही लाइनबाटै केन्द्रीय प्रसारणलाइनमा जोड्ने हो।"

२२० केभीको 'डबल सर्किट' प्रसारणलाइनमा पर्ने १४० वटा खम्बामध्ये अधिकांशको निर्माण भइसकेको र बाँकी केहीको जग तयार भइसकेकाले टावर ठड्याउन मात्र बाँकी रहेको माथिल्लो त्रिशुली 'थ्री ए' जलविद्युत् आयोजनाका उपप्रबन्धक वीरेन्द्रकुमार झाले बताए।

सन्तोषजनक

आयोजनाबाट २०७५ माघमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादनको योजना बनाइएकाले त्यसअगावै त्रिशूली-काठमाण्डू प्रसारणलाइन पूरा गर्नुपर्ने बाध्यकारी अवस्था रहेको र अहिलेसम्मको काम पनि सन्तोषजनक रहेको उनले उल्लेख गरे।

"जग खन्ने र टावर ठड्याउने काम लगभग पूरा भएको छ। तार तान्ने काम पनि शुरू भइसकेको छ।"

नुवाकोट र रसुवामा उत्पादित करीब नौ सय मेगावाट विद्युत् त्रिशूली-काठमाण्डू प्रसारणलाइनको एउटै 'हब' मार्फत केन्द्रीय प्रसारणलाइनमाा जोड्न ४५ किलोमिटर प्रसारणलाइन निर्माण कार्यलाई महत्त्वपूर्ण रूपमा लिइएको अधिकारीहरूले बताएका छन्।

प्रसारणलाइन निर्माणमा स्थानीयवासीको अवरोध, मुआब्जा निर्धारण र सामुदायिक वनक्षेत्र उपभोग गर्न उत्पन्न कठिनाइका समाधान भएसँगै तोकिएको मितिमा प्रसारणलाइन पूरा हुने निश्चित बनेको अधिकारीहरू बताउँछन्।

सम्बन्धित सामग्री