मौसम फेरियो, सरकारको गति बढ्छ: प्रचण्ड

  • 3 नोभेम्बर 2018

सरकारको काम र गतिलाई लिएर लिएर विपक्षी दलदेखि जनस्तरबाट समेत आलोचना बढ्दै गएको देखिएका बेला सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष प्रचण्डले मौसम फेरिएको र अब सरकारले गति लिने बताएका छन्।

Image caption शनिवार बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्ड

उनले वर्षायाम काम गर्न प्रतिकूल भएपनि अब भने सरकारको गति तीव्र हुने मौसम आएको दाबी गरे।

शनिवार बुटवलमा आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा उनले भने, "अस्तिसम्म हिलो मैलो थियो, पानी र वर्षा थियो। बाटो बनाउन पनि अफ्ट्यारो। पिच गर्न पनि नपाउने। अरू काम गर्न पनि अफ्ट्यारो। त्यस्तो बेलामा सरकारले एक नम्बर गियरमा राखेर चलाउनु पर्थ्यो। हिलोमा त तीन-चार नम्बर गियरमा राखेर त गाडी गुड्दैन।"

अध्यक्ष प्रचण्डले सरकार ऐन-कानुन बनाउन तर्फ लाग्दा देखिने गरि काम नभएको दाबी गरे।

बचाउ

उनले अब ऐन बनाउने काम पूरा भएकाले अन्य कुराले गति लिने बताए।

सरकारको काम गराइलाई लिएर विपक्षी दलदेखि जनस्तरमा समेत सरकारको आलोचना बढ्दै गएका बेला सत्तारुढ दल नेकपाले सार्वजनिक कार्यक्रम नै गरेर सरकारी कामको बचाउ गर्ने प्रयास गरेको हो।

चाडपर्व लक्षित शुभकामना सन्देश नाम दिइएको उक्त कार्यक्रममा प्रदेश नं-५ का सबैजसो जिल्लाबाट नेकपाका कार्यकर्ता सहभागी भएका थिए।

उक्त कार्यक्रममा बोल्दै नेकपाका अन्य नेताहरूले पनि सरकारप्रतिको आलोचनाको बचाउ गर्दै त्यस्ता आलोचनाले सरकारलाई कुनै फरक नपार्ने बताएका थिए।

उनीहरूले कसैको आलोचनाले केही फरक नपार्ने दाबी गरेका थिए।

नेताहरू पार्टी एकीकरणमा भएको ढिलाइप्रति पनि कार्यकर्तालाई आश्वस्त पार्ने प्रयास गरेका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
नेकपाका अध्यक्ष प्रचण्डसँग विशेष अन्तर्वार्ता

सम्बन्धित सामग्री