घनश्याम भूसालसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

घनश्याम भुसाल: ‘सानो टोलीमार्फत् काम गर्ने प्रमको शैली बेठिक’

  • 21 नोभेम्बर 2018

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिमा सदस्य रहेका नेता घनश्याम भुसालले सरकारको कार्यशैली बेठिक रहेको टिप्पणी गरेका छन्।

बीबीसी नेपालीको साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ'मा बोल्दै उनले थोरै सल्लाहकारको टोलीमार्फत् काम गराउन खोज्दा यो सरकारले काम गर्न नसकेको बताएका हुन्।

नेकपाको स्थायी समितिको बैठक जेठ महिनायता जम्मा एक पटक र त्यो पनि औपचारिकताका लागि मात्र बसेको भन्दै भुसालले समग्र पार्टी पङ्क्तिको उपयोग गर्न प्रधानमन्त्रीले नसकेको बताए।

"कार्यशैलीमा कमजोरी छ। सानो टोलीबाट सबै थोक हुन सक्दैन," उनले भने।

विडम्बना

लामो समयपछि देशमा स्थिर सरकार बनेको छ।

नेकपा एमाले र माओवादीको एकीकरणले बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुईतिहाइ समर्थन सहितको सरकार सिंहदरबारमा छ।

सातवटा प्रदेशमध्ये छवटामा सोही पार्टीका एकलौटी सरकार छन्।

सङ्गठनको हिसाबमा एकीकृत नेकपाको टक्करमा कोही देखिँदैन। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस आफैँभित्रका विवादले ग्रस्त छ।

भित्री र बाहिरी वातावरण यतिको सहज अवस्थामा रहेतापनि त्यो स्थिरताको अनुभूति किन व्यापक हुन सकेको छैन भन्ने प्रश्नमा उनले भने, "प्रधानमन्त्री कार्यालयका केही सल्लाहकार वा आफूलाई सल्लाहकार भन्नेहरूले मन्त्रीहरूको कामकारबाहीको बारेमा निरीक्षण गरिरहेको र निर्देशन दिइरहेको जस्तो देखिन्छ। यो तरिकाले हुँदैन।"

उनले प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूमै भर पर्न र पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा भर पर्न सल्लाह दिए।

"त्यसो भएमा सम्पूर्ण शक्ति आफैँ परिचालित हुन्छ," उनले भने।

सम्बन्धित सामग्री