नेपाल वायुसेवा निगम: 'अवस्था भनिएजस्तो खराब छैन'

  • 22 नोभेम्बर 2018
विमान खरिद
Image caption निगमको व्यवस्थापन पक्षमा परिवर्नतन नहुँदासम्म समस्याको दीर्घकालीन हल नआउने धेरैको मत छ।

नेपाल वायुसेवा निगमले नयाँ गन्तव्य थप्न नसक्दा बेहोर्नु परेको आर्थिक क्षति उडान गरिरहेकै स्थानमा उडान सङ्ख्या थपेर कम गर्न सकिने जानकारहरूले बताएका छन्।

निगमले उसको आर्थिक अवस्था खराब भएको भन्दै श्वेतपत्र जारी गरेपछि उनीहरूको यस्तो प्रतिक्रिया आएको हो।

तर कतिपयले हालको व्यवस्थापन पक्षको कमजोरी रहेको भन्दै त्यसमा परिवर्तन नहुँदासम्म समस्याको दीर्घकालीन हल नआउने बताएका छन्।

गहिरिँदो आर्थिक सङ्कट हल गर्न नयाँ विमान ल्याउनु पर्ने दाबी गर्दै आएको नेपाल वायुसेवा निगमले यही वर्ष दुईवटा वाइड बडी विमान खरिद गरेको छ।

तैपनि निगमले घाटा कम गर्ने नीति अवलम्बन गर्न नसकेको एकजना उड्डयन मामिला जानकार रामहरि शर्माको भनाइ छ।

क्षमता

उनी भन्छन्, "काठमाण्डूमा करिब आठवटा विदेशी विमान कम्पनीले ठूला जहाज चलाइरहेका छन्। त्यसैले निगमले अहिले नियमित उडान गरिरहेकै ठाउँहरूमा सङ्ख्या थपेर गर्न सक्ने जति आम्दानी गरेर घाटा कम गर्न तर्फ लाग्नु पर्ने हो।"

तर नयाँ गन्तव्य बनाउने लक्ष्य लिइएका जापान, दक्षिण कोरिया, साउदी अरेबिया जस्ता देशमा उसले अझै उडान सुरु गर्न सकेको छैन।

राष्ट्रिय ध्वजावाहक निगमले गत आर्थिक वर्ष आफूले १.८ प्रतिशत बजार हिस्सा गुमाएको जनाएको छ।

निगमले पर्याप्त गृहकार्य नगरीकनै ठूला विमान खरिद गर्न अर्बौं रुपैयाँ खर्च गरेकोले अहिलेको अवस्थामा सिर्जना भएको अर्का उड्डयन जानकार प्रचण्डजङ्ग शाह बताउँछन्, "अहिलेको व्यवस्थापनको क्षमता छैन ठूलो जहाज चलाउने। उसले नयाँ जहाज कहाँ उडाउने भन्ने अध्ययन गरेको देखिँदैन।"

"बजार विस्तार गर्ने र प्रचार गर्ने काम गरेको खोइ? ठूलो जहाज खरिद गर्नु भन्ने ठूलो निर्णय हो। त्यो ल्याएर चलाउन अझ ठूलो क्षमता चाहिन्छ। जुन हालको व्यवस्थापनमा देखिँदैन।"

सुधार

उडान अनुमति दिनुपूर्व नेपाली विमान र विमानस्थलको सुरक्षाबारे बुझ्न जापान र कोरियाबाट ती देशका टोली केही साताभित्रै नेपाल आउन लागेको र त्यसपछि ती गन्तव्यमा उडान यात्रा सुरु हुने नेपाल वायु सेवा निगमका प्रबन्धक सुगतरत्न कंसाकारले बताए।

पछिल्लो समय खरिद गरिएको दुईवटा वाइड बडी विमान संचालनले निगमको आर्थिक अवस्थामा केही सुधार भएको जनाउँदै निगमको आर्थिक अवस्था श्वेतपत्रमा भनिएजति खराब नभएको बताउँदै उनले भने, "जारी श्वेततपत्र भदौसम्मको हो जतिबेला वाइड बडी दिनको चार-पाँच घण्टा मात्र चल्थ्यो। अहिले आठ-नौ घण्टा चल्छ।"

"अहिले यात्रुको समस्या छैन। टिकटको लागि पहिल्यै फोन आउँछ। केही समयपछि नयाँ गन्तव्यमा उडाउन सुरु गरेपछि त निगममा केही समस्या रहन्न।"

तर कतिपयले ईयूको कालो सूचीबाट नहट्दासम्म नेपाल वायुसेवा निगमको हालको समस्या कम नहुने बताउँछन्।

बर्षेनि नेपाल आउने लाखौं पर्यटकबाट विदेशी विमान कम्पनीले लिइरहेको लाभ राष्ट्रिय ध्वजावाहकले भने उठाउन नसकेको विज्ञहरूको ठम्याइ छ।