ब्रेक्जिट: ब्रिटेन-ईयू भावी सम्बन्धको मस्यौदामा 'सहमति'

  • 22 नोभेम्बर 2018
टरिजा मे तस्वीर कपीराइट EPA

युरोपियन युनियनबाट ब्रिटेन मार्च २९, २०१९ मा बाहिरिने विषयमा दुईपक्ष बीच एउटा सहमति भएको छ।

द्विपक्षीय भावी सम्बन्धबारे भएको सहमतिपछि आगामी हप्ता हुने ब्रेक्जिट सम्झौताको बाटो खुलेको छ।

सो सहमतिपत्रमा व्यापार, सुरक्षा र अन्य विषय कसरी काम गर्ने भन्नेबारे खाका बनाइएको युरोपेली आयोगले जनाएको छ।

युरोपियन परिषद्का अध्यक्ष डोनल्ड टुस्कले एक ट्वीटमा भनेका छन्, "ब्रिटेन र युरोपियन युनियनबीचको भावी सम्बन्धबारे मैले ईयू२७ लाई राजनीतिक घोषणापत्र पठाएको छु। आयोगका अध्यक्षले मलाई सम्झौताकारहरूको तहमा सहमति भएको र राजनीतिक तहमा पनि सिद्धान्तगत तहमा सम्झौता भएको बताएका छन् जसलाई नेताहरूले अनुमोदन गर्न बाँकी छ।"

यदि ब्रिटेन बाहिरिने सहमति र राजनीतिक घोषणामाथि आइतवारको ईयू शिखर सम्मेलनमा हस्ताक्षर भयो भने ब्रिटिश प्रधानमन्त्री टरिजा मे त्यसलाई ब्रिटेनको संसद्‍मा पेस गर्नेतिर केन्द्रित हुनेछिन्।

संसद्‌मा त्यसप्रति बहुमत पुग्ने सम्भावना देखिएको छैन।

लामो सङ्क्रमणकाल

तस्वीर कपीराइट Reuters
Image caption ब्रिटेनमा सानो अन्तरले ईयू छाडने पक्षले जितेको थियो

बुधवार ब्रसल्समा ब्रिटिश प्रधानमन्त्री मे र युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड युङ्करबीच बैठक भएपछि यो सहमति भएको हो।

प्रधानमन्त्री कार्यालयले बारम्बार ईयूबाट बाहिरिने वैधानिक संरचनाका लागि त्यस्तो सम्झौता आवश्यक भएको बताउँदै आएको छ।

सबै कुरा योजनाअनुसार अगाडि बढ्यो भने ब्रिटेन र ईयूले राजनीतिक घोषणापत्रलाई व्यापार सम्झौताको आधार बनाउन प्रयोग गर्नेछन्। मार्च २९ पछि सुरु हुने २१ महिना लामो सङ्क्रमणकालमा त्यस्तो व्यापार सहमति तयार गरिनेछ।

सङ्क्रमणकालमा ब्रिटेन ईयूको एकल बजार र भन्सार एकाइको सदस्य रहिरहनेछ।

तस्वीर कपीराइट .

बीबीसीका ब्रसल्स सम्वाददाता एडम फ्लेमिङ भन्छन्, "भर्खरै सार्वजनिक भएको मस्यौदा सरसर्ती हेर्दा त्यसमा 'सबैका लागि केही न केही रहेको' तर सम्झौता गर्नुपर्ने विषय धेरै रहेको देखिन्छ।"

मस्यौदा दस्तावेजमा ब्रिटेनसँग गरिने कुनैपनि अन्तिम सहमतिले बाँकी २७ ईयू राष्ट्रमा ईयूका चार स्वतन्त्रताहरू- सामान, सेवा, रकम र मानिसहरू आवातजावत - मा हस्तक्षेप गर्न पाउनेछैन भन्नेमा जोड दिइएको छ।

सम्झौतामा भनिएको छ, "भावी सम्बन्ध दुवै पक्षको सिद्धान्तका आधारमा अधिकार र कर्तव्यबीचको सन्तुलनमा आधारित हुनेछ।"