बन्दैछ अन्लाइन कारोबारबारे राष्ट्रिय रणनीति

  • 23 नोभेम्बर 2018
अन्लाइन कारोबार तस्वीर कपीराइट Thinkstock
Image caption विद्युतीय कारोबारसम्बन्धी नीति स्पष्ट भए उपभोक्ताले घरमै बसेर सामान खरिद गर्न सक्नेछन्

विद्युतीय व्यापारको विश्वसनीयता र त्यसको पहुँचबारे प्रश्न उठिरहेका बेला सरकारले त्यसबारे राष्ट्रिय रणनीति बनाउन लागेको अधिकारीहरूले बताएका छन्।

त्यो रणनीतिले अन्लाइनबाट हुने व्यापार व्यवस्थित गर्ने र नेपाली सामानको पहुँच विदेशी उपभोक्तासम्म पुग्ने बताइएको छ।

विद्युतीय कारोबारसम्बन्धी नीति स्पष्ट भएमा नेपाली उपभोक्ताले सहज रूपमा घरमै बसेर सामान खरिद गर्न पनि सक्ने जानकारहरूको भनाइ छ।

बढ्दो व्यस्तता र इन्टर्नेटमा बढेको पहुँचका कारण अन्लाइनमार्फत् नै सामान मगाउने प्रचलन पछिल्ला दिन सहरी क्षेत्रा बढेको छ।

विश्वसनीयता

तर हालै चर्चामा आएका केही घटनाले गर्दा सामानको गुणस्तर र सेवाप्रतिको विश्वसनीयतामा प्रश्न उठेपछि त्यस विषयमा उपभोक्ता र विज्ञहरूले चासो व्यक्त गरेका छन्।

अधिकारीहरूका अनुसार सरकार त्यसलाई व्यवस्थित र उपयोगी बनाउन राष्ट्रिय रणनीति बनाउँदै छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तोयानाथ ज्ञवाली भन्छन्, "अन्लाइन कारोबारलाई व्यवस्थित गर्ने र नेपाली उत्पादनलाई अन्लाइनको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पठाउने गरी एउटा समग्र रणनीति बनाउन मन्त्रालयले काम गरिरहेको छ।"

त्यसका लागि सम्बन्धित निकाय, मन्त्रालय र निजी क्षेत्रसँग छलफल भइरहेको उनी बताउँछन्।

नेपाल राष्ट्र ब्याङ्क र सरकारका नीतिहरूलाई एकीकृत गरिए ब्याङ्कहरूमार्फत् नै भुक्तानी गर्न सहज पहुँच हुने राष्ट्र ब्याङ्कका अधिकारीहरूको बताउँछन्।

कस्तो रणनीति?

यसरी नीति बनाउँदा नेपाली सामानको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरी बनाउनु पर्ने धारणा अन्लाइनमार्फत् सामान बिक्री गर्दै आएको एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको छ।

उनी भन्छन्, "सरकारले व्यापार प्रवर्धनका लागि बजेट खर्च गर्न मापदण्ड बनाइदिनु पर्‍यो जसले गर्दा आयातभन्दा निर्यात बढाउने काम गर्न सक्नुपर्छ।"

अन्लाइनमार्फत् हुने व्यापारलाई व्यवस्थित र विश्वासिलो बनाउन सके धेरै पसल र ठाउँ नचहारेरै उचित मूल्यमै विभिन्न प्रकारका सामान सजिलै घरमै मगाउन सक्ने जानकारहरूको भनाइ छ।