भरतमोहन अधिकारी: 'जनताले देश सुम्पेका छन्, सरकार असफल भएको छ'

  • 23 नोभेम्बर 2018
नेकपा

तत्कालीन नेकपा एमालेका नेताहरू आफ्नो क्षमताको कुरा उठ्दा २०५२ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकारले गरेका कामको प्रसङ्ग दोहोर्‍याइरहन्छन्।

प्रधानमन्त्री केपी ओली उक्त सरकारमा गृहमन्त्री थिए। सोही सरकारमा भरतमोहन अधिकारीले अर्थमन्त्री थिए।

बीबीसीसँग कुरा गर्दै वयोवृद्ध नेता अधिकारीले ओली नेतृत्वको वर्तमान सरकार आफूले पाएको म्यान्डेडका आधारमा असफल नै भएको बताएका छन्।

उनी भन्छन्, "त्यतिखेर नौ महिना अल्पमतको सरकार हुँदा समेत हामीले जनतामा बेजोड उत्साह सिर्जना गरेका थियौँ।"

"अहिले त केन्द्र, प्रदेश र स्थानीय सरकार जताततै हेर्दा कम्युनिस्टलाई जनताले देश नै सुम्पेको जस्तो छ। तर जनता, कार्यकर्ता निराश छन्। भन्नैपर्छ, सरकार पूरा असफल भएको छ।"

ठूला परियोजनाहरू पनि आवश्यकता भएको तर लोकतन्त्र र लोककल्याणकारी राज्यको अवधारणाअनुरूप हुनेगरी गाउँगाउँका मानिसको आवश्यकता र मर्म समेटिने काम पनि हुनुपर्ने उनको धारणा छ।

उनी भन्छन्, "उत्पादनको वृद्धि, रोजगारी वृद्धि, लगानीको वातावरण सिर्जना, पूर्वाधार विकास, सामाजिक सुरक्षाको विस्तार र सुशासन कायम गर्नेजस्ता आम सरोकारका मुद्दामा यो सरकारले जनतालाई छुन सकेको छैन।"

नेपालजस्तो देशमा विकास गर्न यी कुरामा सन्तुलित प्रयास आवश्यक भएको बताउँदै अधिकारी भन्छन्, "तर यहाँ त कम्युनिस्ट सरकार भए पनि काङ्ग्रेसका पालाको कार्यक्रमहरू दोहोर्‍याउने काम मात्र भएको छ।"

"हामीले त्यतिखेर 'आफ्नो गाउँ, आफै बनाऊँ' जस्ता अभियानदेखि लिएर विकासको लहर, सामाजिक सुरक्षाका कार्यक्रमजस्ता थुप्रै पक्षले जनतालाई उत्साहित गराएका थियौँ।"

अहिलेको सरकारले के कारणले गर्दा काम गर्न सकिरहेको छैन त?

नेता अधिकारीको धारणा यस्तो छ:

  • यो सरकारले कुन आर्थिक मोडलमा समृद्ध नेपाल एवम् सुखी नेपाली हुनसक्छन् भन्ने पहिल्याउनै जानेन।
  • राहत कार्यक्रम, सामाजिक सुरक्षामा लगानी र ग्रामीण विकासका कामहरू हुन सकेनन्।
  • कृषिमा सुधारको केही नयाँ प्रयास नै भएको छैन। गरेको भए त कृषि त्यस्तो क्षेत्र हो जहाँ तीन महिनामै प्रतिफल देखिन्छ। सरकारी अनुदानहरू बिचौलियाले खाइरहेका छन् जसका कारण भएका कार्यक्रमबाट समेत कृषकहरू लाभाम्वित हुन सकेका छैनन्।
  • आर्थिक विकासका जनपक्षीय मोडलहरू तयार भएनन्। लगानी बाहिरबाट ल्याउनै पर्छ र निजी क्षेत्रलाई प्रोत्साहन गर्नैपर्छ। तर यहाँ आयातको अर्थतन्त्र फस्टाइरहेको छ। ब्याङ्कहरू मोटाइरहेका छन्, उद्योग विस्तार हुन सकेका छैनन्।
  • दुईवटा पार्टीहरू एकीकृत हुँदा देशमा जुन उत्साह थियो त्यो अहिले पाइँदैन।
  • जेष्ठ नागरिकहरू, श्रमिकहरू, किसानहरू नयाँपनको अभावमा खिन्न मात्र छैनन् उल्टै महँगीको मारमा परेका छन्।
  • नौ महिनालाई बिर्सेर अगाडि बढ्ने हो भने पनि काम गर्न चाहँदा अझै चार वर्ष तीन महिना छ। तर यो सरकारले जुन बाटो समातेर अगाडि बढेको छ, त्यो नसच्याउँदा बाँकी समय पनि यस्तै हुन्छ।
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‘सानो टोलीमार्फत् काम गर्ने प्रमको शैली बेठिक’

सम्बन्धित सामग्री