हिन्दू राष्ट्रको मुद्दा: प्रवेश पाउला कांग्रेस महासमितिमा

  • 23 नोभेम्बर 2018
कांग्रेस नेताहरू तस्वीर कपीराइट .

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका एकजना महामन्त्रीले 'हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने' खाँचो औंल्याएका छन्।

वीपी कोइरालाका छोरा महामन्त्री शशाङ्क कोइरालाले महासमिति बैठकको तयारी भइरहँदा आफ्नो पुरानो मत फेरि सार्वजनिक रुपमा प्रकट गरेकाले त्यसलाई महत्त्वका साथ हेरिएको हो।

पार्टी सभापति निकट एक नेताले त्यस विषयले महासमिति बैठकमा प्रवेश पाउन सक्ने प्रतिक्रिया दिएका छन्।

कांग्रेसभित्र हिन्दू र धर्मनिरपेक्ष राष्ट्र दुबै पक्षमा मत राख्नेहरु छन्।

'स्थिरतापछि'

काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा महामन्त्री शशाङ्क कोइरालाले जनमत सङ्ग्रहको कुरा दोहर्‍याउँदा त्यसको समयसीमाबारे पनि विगतमा झैँ खुलाएनन्।

दलभन्दा माथि उठेर जनतालाई त्यसबारे निर्णय गर्ने अधिकार दिनुपर्ने बताउँदै उनले भने, "आउँदा दिनमा देशमा राजनीतिक स्थिरता आइसकेपछि धर्मनिरपेक्ष कि हिन्दूराष्ट्र राख्ने भनेर जनमत सङ्ग्रह हुनुपर्छ भन्ने मान्यता मेरो पहिलेदेखिकै हो।"

देशमा अहिले दुई तिहाइ बहुमतको सरकार छ। तर उनले जनमत सङ्ग्रहको निम्ति भन्ने गरेको 'स्थिरता'को वातावरण बने/नबनेकोबारे टिप्पणी गरेनन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
शशांक कोइरालासँग

आफ्नो पुरानो मान्यता पार्टीको महासमिति बैठकको मुखमा दोहर्‍याएकाले कतिपयले उनको भनाइलाई निरन्तरताको रुपमा मात्र नलिइ त्यसभित्र अर्थ लुकेको ठानेका छन्।

सभापति शेरबहादुर देउवा निकट नेता प्रकाशशरण महतले कोइरालाले उठाएको विषयले महासमितिमा छलफलको मुद्दा बन्न सक्ने बताए।

उनले भने, "हाम्रो धर्म-संस्कृतिमाथि बाहिरबाट व्यापक दबाब बढ्यो, धर्मान्तरण गर्ने अभियान नै चल्यो भनेर सर्वत्र कुरा उठिरहेको छ। पार्टीमा कतिपयले उठाइरहेको यो विषय महासमितिमा समेत उठ्न सक्छ।"

'विदेशी चलखेल'

तर देउवा निकट प्रभावशाली मानिने अन्य कतिपय नेताहरू धर्मनिरपेक्षताका कट्टर पक्षपाती छन्।

कोइराला परिवारका अर्का सदस्य कांग्रेस नेता शेखर कोइरालाले समेत धर्मका नाममा विदेशी चलखेल बढेको भन्दै आफूलाई हिन्दू राष्ट्रकै पक्षमा प्रस्तुत गरेको पाइन्छ।

नेतृ सुजाता कोइरालाले भने त्यसबारे पार्टीभित्र र आफूहरूबीच पनि कुनै छलफल नभएको बताइन्। उनले भनिन्, "यसबारे कतै कुरा भएको छैन, महामन्त्रीले छलफल नै नगरी किन यस्तो बोल्नुभयो, थाहा भएन।"

दोस्रो जनआन्दोलनको सफलतापछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गरेका बेला संसदले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको थियो।

पछिल्ला दिनमा धर्म परिवर्तनको मुद्दाले ठूलै वहस पाएको देखिन्छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
हिन्दू राज्यको पक्षमा इसाई अगुवा

सम्बन्धित सामग्री