सडक सुरक्षाका लागि साङ्गीतिक समूह नेपथ्यको प्रस्तुति

  • 24 नोभेम्बर 2018
नेपथ्य

विगतमा जस्तै साङ्गीतिक समूह नेपथ्यले पूर्वदेखि पश्चिम तराईसम्म साङ्गीतिक दौडाहा गरिरहेको छ। उसको आफ्नो समूह स्थापना भएको २५ ‌औं वर्षगाँठमा सन्देशमूलक साङ्गीतिक प्रस्तुतिहरु दिइरहेको छ।

केही दिनअघि सवारी दुर्घटना न्यून गर्नका लागि झापाको बिर्तामोडमा चेतनामूलक प्रस्तुति दिएको नेपथ्यको प्रस्तुति धनगढी पुगेर सकिनेछ। सवारी साधन दुर्घटना न्यूनीकरण अभियानका लागि केही दिनअघि झापाको बिर्तामोडमा नेपथ्य ब्यान्डले गरेको उक्त साङ्गीतिक प्रस्तुतिमा ननाच्ने कमै थिए।

ब्यान्डको 'छेक्यो छेक्यो देउराली डाँडा' गायक अमृत गुरुङले गाउँदा डोमालाल राजवंशी रंगशाला गुञ्जिएको थियो।

बढ्दो सवारी दुर्घटनालाई न्यून गर्ने उद्देश्यका साथ ट्राफिक प्रहरीलाई मोटरसाइकललगायत विभिन्न उपकरणहरु उपलब्ध गराउने उद्देश्यले गरिएको साङ्गीतिक कार्यक्रममा ब्यान्डका गायक अमृत गुरुङले दर्शकलाई हेल्मेट नलगाई मोटरसाइकल जथाभावी नहाँक्न सम्झाए।

साङ्गीतिक प्रस्तुतिका बीचमा उनले भने, "हेल्मेट नलगाई जथाभावी मोटरसाइकल नहाँक्नुहोला। तपाईं गएको पनि राम्रो होइन। अरु गए भने झन् बर्बाद हुन्छ। त्यस्लै सबैलाई सम्झाऔँ।"

अन्य शहरहरूमा गरिने प्रस्तुति भने स्वास्थ्य चेतना , पर्यावरण चेतना जगाउने खालका हुने ब्यान्डका सदस्यले जनाएका छन्। सँगै नेपालका विभिन्न पर्यटकीय स्थानहरुको भ्रमणका लागि पनि मानिसहरुलाई ब्यान्डका सदस्यहरुले आग्रह गरिरहेका छन्।

यसपटकको प्रस्तुतिमा बिर्तामोड, धरान, बुटवल र धनगढी छनोटमा परेका हुन्।

जब फेरि गुन्जीयो वेम्बली एरेनामा नेपाली संगीत

'सामाजिक मुद्दा'

नेपथ्य जहाँ जान्छ त्यहाँ सामाजिक मुद्दा बोकेर जाने गरेको नेपालयको नेपथ्य ब्यान्ड हेर्ने टोली नेता किरण श्रेष्ठले बताए। उनले भने, "स्थानीय आयोजकहरूले सामाजिक कामका लागि नेपथ्य ब्यान्डको प्रस्तुतिलाई आयको माध्यमको रुपमा प्रयोग गर्ने हो।"

हरेक कुरामा सरकारको मुख ताक्ने बानीले सर्वसाधारणको बानी बिग्रेकाले चेतना फैलाउने काम नेपथ्यले गरिरहेको गायक गुरुङले बताए।

उनले भने, "एउटा पाँच तले घर बनाउन समस्या नहुने तर घर अगाडिको नाला बनाउन भने सरकारको मुख ताक्ने मान्छेको बानी छ।"

नेपथ्यले पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरी तराईका चार वटा सहरको साङ्गीतिक यात्रा तय गरेको हो।

ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्षगाँठमा तराईका सङ्गीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको ब्यान्डका सदस्यले जानकारी दिएका छन्।

नेपथ्य यात्राअन्तर्गत सबै ठाँउहरुमा कार्यक्रम गर्नका लागि स्थानीय रंगशालाहरू चयन गरिएको छन्।

नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला र धनगढी रंगशाला चयन गरेको हो।

सम्बन्धित सामग्री