फुटबल हिँसा: आर्जेन्टिनाको बोका जुनियर्स टोलीमाथि हमला

  • 25 नोभेम्बर 2018
फुटबल खेल तस्वीर कपीराइट Getty Images
Image caption दक्षिण अमेरिकाको एकदमै महत्त्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएको उक्त खेल अगाडि भएको सो हिँसाका कारण कैयौँ खेलाडी घाइते भएका थिए।

आर्जेन्टिनाको इतिहासकै एक सबभन्दा महत्त्वपूर्ण भनिएको क्लब फुटबल खेल हिँसाका कारण पछि सारिएको अधिकारीहरूले बताएका छन्।

बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेपछि कोपा लिबरटेडरेस को फाइनल खेल सारिएको छ।

दक्षिण अमेरिकाको एकदमै महत्त्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएको उक्त खेल अगाडि भएको सो हिँसाका कारण कैयौँ खेलाडी घाइते भएका थिए।

दक्षिण अमेरिकी क्लब प्रतियोगिताको उक्त फाइनल खेल आर्जेन्टिनाको राजधानी ब्युनस आइरिजका दुई प्रतिद्वन्द्वी टोली बोका जुनियर्स तथा रिभर प्लेटबीच हुन लागेको थियो।

हमला कसरी?

तर रिभर प्लेटका समर्थकहरूले बोका जुनियर्सका खेलाडी चढेको बसमा हमला गरे।

भिडिओ फुटेजमा तिनले ढुङ्गा तथा ग्यास क्यानिस्टरले प्रहार गरेको देखिन्छ।

बोका जुनियर्सका केही खेलाडीलाई फुटेका सिसाले घाउ लागेको थियो भने केहीचाहिँ प्रहरीले प्रयोग गरेको अश्रुग्यासबाट प्रभावित भए।

बोका जुनियर्सका खेलाडी तथा म्यान्चेस्टर सिटी क्लबका पूर्व स्ट्राइकर कार्लोस टेभेजलाई हमलापछि रिँगटा लागेको तथा बान्ता भएको थियो। कप्तान पाब्लो पेरेज पनि घाइते भए।

यस्तो अवस्थामा दुवै टोलीका खेलाडी खेल्ने स्थिति नरहेको भन्दै दक्षिण अमेरिकी फुटबल महासंघका प्रमुख आलेहान्द्रो डोमिँगेजले फुटबल मनोरञ्जन न कि युद्ध भएको बताए।

अब उक्त खेल पहिले तोकिएभन्दा एकदिन पछि आइतवार खेलाइनेछ।

लज्जास्पद

तस्वीर कपीराइट Getty Images
Image caption बोका जुनियर्सका केही खेलाडीलाई फुटेका सिसाले घाउ लागेको थियो भने केहीचाहिँ प्रहरीले प्रयोग गरेको अश्रुग्यासबाट प्रभावित भए।

बीबीसीको अमेरिका सम्पादक लियोनार्दो रोसाले भने "अर्जेन्टिनाको खेल इतिहासमै ती दुई ठूला क्लबहरूको खेलबारे निकै उत्सुकतापूर्वक हेरिएको थियो। पहिलो पटक यी दुई टोली फाइनलमा भिड्दै थिए। तर खेलाडीहरूमाथिको आक्रमणपश्चात ब्युनस आइरिजमा लज्जाबोध भएको छ।"

आर्जेन्टिनाका पूर्व स्ट्राइकर ग्याब्रियल बाटिस्टुटाले सो घटनालाई लज्जास्पद भनी ट्वीटरमा टिप्पणी गरेका छन्।

ती दुई क्लब बीचको खेल हेर्न तीन घन्टा पहिल्यै स्टेडियम दर्शकहरूले भरिभराउ भइसकेको थियो। तर खेलाडी आउलान् र खेल हेरूँला भनेर प्रतीक्षारत दर्शकहरू कुरेको कुर्‍यै भए।

विश्वका धेरै फुटबल प्रेमीहरू आर्जेन्टिनाको फुटबल खेल हेर्ने रुचाउने बताइन्छ।

आर्जेन्टिनाको फुटबलप्रतिको लगन, उत्सुक्ता, रङ्ग, पात्र सबैको प्रशंसक उल्लेख्य संख्यामा रहेको बताइन्छ।

थकानपूर्ण र खतरनाक

तर यसैसँग बाँच्ने खेलाडीहरूका लागि प्रत्येक दिन 'थकानपूर्ण, खतरनाक र मुर्ख्याइँपूर्ण' हुन सक्ने बताइन्छ।

सन् १९३१ मा आर्जेन्टिनामा फुटबलले व्यावसायिक रूप धारण गरेको हो।

त्यसको आठ वर्ष पहिलेनै रिभर प्लेट क्लब ब्युनस आइरिजमा स्थापना भइसकेको थियो।

निकै मिहिनेत र ठूलो लगानीपछि 'लस मिलानायर्स्' को उपनाम कमाएको रिभर प्लेट क्लब र बोका जुनियर्स क्लब ब्युनस आइरिज शहरमा केही मिल दूरीमा अवस्थित छन्।