चीनमा रासायनिक कारखानाबाहिर विस्फोटन, २२ जनाको मृत्यु

  • 28 नोभेम्बर 2018
चीनमा रासायनिक कारखानाबाहिर भएको विस्फोटनपछिको दृश्य तस्वीर कपीराइट AFP

उत्तर चीनमा एउटा रासायनिक कारखानाबाहिर भएको विस्फोटनमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको छ र अन्य २२ जना घाइते भएका छन्।

प्रारम्भिक विवरणका अनुसार बेइजिङबाट २०० किलोमिटर उत्तरमा रहेको जान्जियाकोस्थित 'खबेई शन्ह्वा केमिकल को' नामक कारखानामा रासायनिक पदार्थ लिएर गएको एउटा गाडीमा विस्फोटन भएको थियो।

घटनास्थलबाट प्राप्त तस्बिरमा बाटोमा दर्जनौँ कार र ट्रकहरू जलेको देखिन्छ।

चीनले सन् २०२२ मा ग्रीष्मकालीन ओलिम्पिक्स हुँदा गर्दा जान्जियाकोमा पनि केही खेल आयोजना हुनेछ।

विस्फोटन स्थानीय समयानुसार मध्यराति 00:४१ बजे भएको थियो।

स्थानीय अधिकारीहरूका अनुसार सो घटनामा ३८ वटा ट्रक र १२ अन्य सवारीसाधनमा आगो लागेको थियो।

घाइतेहरूलाई अस्पताल लगिएको छ।

सो सहरको स्थानीय सरकारले घटनास्थलमा खोज तथा उद्धार जारी रहेको र के कारण त्यो दुर्घटना भयो त्यसबारे अनुसन्धान हुँदै गरेको बताएको छ।

सो कारखानमा उत्पादन भने पहिला नै बन्द भइसकेको बताइएको छ।

बेइजिङस्थित बीबीसी सम्वाददाता स्टिभन मक्डोनलका अनुसार तीव्र आर्थिक विकास भएको भए पनि चीनमा औद्योगिक सुरक्षाका चुनौतीहरू देखिने गरेका छन् र रासायनिक विस्फोटनका घटनाहरू निरन्तर हुने गरेका छन्।

गत जुलाईमा रासायनिक कारखानमा भएको विस्फोटनमा १९ जनाको मृत्यु भएको थियो।

सन् २०१५ मा पूर्वोत्तरमा बन्दरगाह भएको सहर तियान्जिनमा एउटा गोदाममा विस्फोटन हुँदा १७३ जनाको ज्यान गएको थियो।

सो घटनाबारे गरिएको अनुसन्धानले भ्रष्टाचार एवम् राजनीतिक सम्बन्ध भएका व्यक्ति र अधिकारीहरूको मिलमतोमा पर्याप्त सुरक्षाव्यवस्था नगरिएको देखाएको थियो।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार