भारत: ऋण मिनाहाका लागि दिल्लीमा हजारौं कृषकको प्रदर्शन

  • 29 नोभेम्बर 2018

भारतको दिल्लीमा भेला भएका कृषकहरुले वर्षौदेखिको न्यून उत्पादन र बढ्दो लागतले आफूहरू धेरैलाई ऋणमा डुबाएको दुखेसो सुनाएका छन्।

तस्वीर कपीराइट EPA

आफ्ना उत्पादनको अनुचित मूल्य तोकिएको भन्दै त्यसको विरोधमा भारतका दशौं हजार किसानहरू राजधानी दिल्लीमा भेला भएका हुन्।

उत्पादनको न्यूनतम मूल्य निर्धारण र ऋण मिनाहा गरियोस् भन्ने उनीहरूको माग छ।

योगदान 

भारतमा दशौं लाख मानिसहरू कृषिमा संलग्न छन् र देशको २५ खर्व डलरको अर्थतन्त्रमा त्यसको १७ प्रतिशत योगदान छ।

उत्पादनको बिक्री मूल्य लागतभन्दा कम भएकाले किसानहरू ऋण लिन बाध्य भएको उनीहरूको भनाइ छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा किसानहरूको आम्दानी दोब्बर पार्ने प्रतिबद्धता जनाएका थिए।

तर त्यसो हुने सङ्केत निकै कमजोर देखिन्छ।

खतरा

दिल्लीमा पछिल्लो प्रदर्शनमार्फत किसानले राजनीतिककर्मीलाई संसद्‌मा उक्त मुद्दाबारे छलफल गर्न बाध्य पार्न चाहनुका साथै ऋण मिनाहा र न्यूनतम् मूल्य निर्धारण नभएसम्म सम्पूर्ण कृषि उद्योगको भविष्य खतरामा रहेको भन्दै सचेत गराएका छन्।

सरकारी तथ्याङ्कका अनुसार सन् १९९५ देखि २०१५ सम्म २० वर्षमा तीन लाखभन्दा बढी किसानहरूले आत्महत्या गरेका छन्।

किसान संगठनहरूका अनुसार त्यो तथ्याङ्कमा प्रहरी सामू आएका घटनाहरूमात्र समेटिएका छन्, दर्ता नभएका घटनाको सङ्ख्या ठूलो छ।

तर राजस्थान, बिहार, पश्चिम बंगाल र छत्तीसगढ जस्ता विभिन्न राज्य सरकारले आ-आफ्ना क्षेत्रमा किसानको आत्महत्या सन् २०११ पछि शून्यमा झरेको बताउने गरेका छन्।

माग

किसान संघर्ष समितिका अविक साहले दुई दिने किसान मुक्ति मार्च, किसानका समस्याबारे पुनः ध्यानाकर्षण गराउने एउटा अर्को प्रयास भएको बीबीसीलाई बताए।

दिल्लीमा भेला भएका देशभरका किसानलाई त्यहाँका विभिन्न स्थानमा राखिएको छ।

बिहीवार रामलीला मैदान गएका उनीहरूले शुक्रवार संसद् भवनसम्म र्‍याली निकाल्ने छन्।

आफ्ना समस्याबारे छलफल गर्न संसद्को विशेष अधिवेशन बोलाउनु पर्ने तथा ऋण मिनाहा एवम् उत्पादनको मूल्य निर्धारणसम्बन्धी सदनमा दर्ता दुईवटा विधेयकहरू पारित हुनुपर्ने किसानहरूको माग छ।

ती दुवै विधेयकप्रति २० भन्दा बढी राजनीतिक दलहरूले समर्थन गर्ने वाचा गरेका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
भारतमा वर्षा, सयौं मानिसको ज्यान गयो

सम्बन्धित समाचार