५० वर्षअघि नेपाल आएको ब्रिटिश चिकित्सक र नर्सहरूको समूहको सम्झना

  • 4 डिसेम्बर 2018
ब्रिटिश चिकित्सक र नर्स सम्मिलित ११ जनाको टोली तस्वीर कपीराइट BNMT
Image caption सन् १९६८ मा नेपाल तर्फ जाँदै गर्दा उत्तरी भारतमा केही समय रोकिएका ब्रिटिश चिकित्सक र नर्सहरूको टोली

साँचो अर्थमै त्यो एउटा ऐतिहासिक यात्रा थियो।

पचास वर्षअघि सन् १९६८ को एप्रिल महिनामा ब्रिटिश चिकित्सक र नर्स सम्मिलित ११ जनाको एउटा टोली सेता ल्यान्ड रोभर जीप चढेर ब्रिटेनको दक्षिणी सीमासम्म पुग्यो।

ती जीपलाई फ्रान्स पुर्‍याइयो। त्यहाँबाट तिनै जीप चढेर सो टोली स्थलमार्ग हुँदै नेपालतिर हिँड्यो।

स्थलमार्गबाट किन त?

सो यात्रामा सहभागी डक्टर बार्नी रोस्डेलका अनुसार आर्थिक कारणले गर्दा स्थलमार्ग रोजिएको थियो।

तीनवटा गाडी लिएर नेपाल जाँदा ६०० पौन्ड खर्चले पुग्थ्यो भने पानीजहाज प्रयोग गर्दा २,००० पौन्ड लाग्थ्यो।

यात्रा युरोपबाट इस्तान्बुल र बोस्फरस हुँदै एशियातिर अघि बढ्यो।

टोली टर्कीबाट तेहरान हुँदै अफगानिस्तानको हेरात, कान्दाहार, खैबरपास र त्यसपछि पाकिस्तानको भूभाग पार गरेर भारतको राजधानी दिल्ली पुग्यो।

त्यहाँबाट रक्सौलको बाटो हुँदै नेपाल प्रवेश गरेका ती गाडीहरू मे २८ का दिन काठमाण्डूस्थित ब्रिटिश राजदूतावासमा पुगेर रोकिए।

नेपालमा ती चिकित्सक र नर्सहरूले क्षयरोग नियन्त्रणका लागि एउटा कार्यक्रम सञ्चालन गरे, स्वास्थ्य कार्यकर्तालाई तालिम दिए र बालबालिकालाई खोप लगाए।

तीमध्ये केहीले त नेपालमै बिहे पनि गरे।

अभियान कसरी सुरु भयो?

तस्वीर कपीराइट BNMT
Image caption लन्डनको सेन्ट टोमस अस्पतालमा नयाँ वर्ष सन् १९६७ का अवसरमा आयोजित एउटा पार्टीमा डा जोन कनिङ्घमसँग डा. बार्नी रोस।डेल (दायाँ)

यो अभियानको आरम्भ लन्डनको सेन्ट टोमस अस्पतालमा काम गर्ने डा जोन कनिङ्घमले सन् १९६६ मा गरेका थिए।

उनी विपन्न तथा विकासशील देशहरूमा केही चुनौतीपूर्ण काम गर्न चाहन्थे।

नाइजिरियाबारे अध्ययन गर्दैगर्दा उनको दृष्टि नेपालमा पर्‍यो। त्यतिबेला नेपालमा जनसङ्ख्या एक करोड १० लाख थियो भने चिकित्सकको कुल सङ्ख्या २०० मात्र।

कनिङ्घमले नेपालको स्वास्थ्य मन्त्रालयलाई एउटा पत्र लेखे। मन्त्रालयबाट प्रत्युत्तर पाएकाले उनी उत्साहित भए।

अर्को वर्ष उनले ब्रिटेन नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) नाम गरेको एउटा गैरसरकारी संस्था दर्ता गरे।

डा बार्नी रोस्डेलका अनुसार जोन कुशल सङ्गठक थिए।

पचास वर्षभन्दा अघिको संस्मरण सुनाउँदै बार्नीले भने, "म एक वर्षका लागि बालबालिकाको उपचार गर्ने चिकित्सकको रूपमा नाइजिरिया जान लागेको थिएँ र सेन्ट टोमस अस्पतालमा नयाँ वर्षको अवसरमा आयोजित एउटा पार्टीमा मैले उनलाई भेटेँ।"

"मैले नाइजिरियाबाट फर्केपछि उनलाई भेट्ने बचन दिएँ।"

बार्नीले सेन्ट जर्ज अस्पतालमा काम गर्ने सर्जन डा जोन वार्डलाई डा जोन कनिङ्घमसँग भेट गराए।

त्यसपछि शीना नाम गरेकी नर्स पनि नेपाल जान तयार भइन्। पछि जोन वार्ड र शीनाको नेपालमै बिहे भयो।

त्यसैगरी रोज्मेरी रीड र जिल केली एवम् लर्ड हन्टकी छोरी प्रु पनि नेपाल जान तयार भए।

डा भिन्ट र डी चाड्विकले त नेपालतर्फ प्रस्थान गर्नु केही अघिमात्र बिहे गरेका थिए। डी नर्स हुन् भने भिन्ट फिजिसियन र प्याथोलोजिस्ट।

नेपाल जाने सो टोलीमा समावेश हुने सबैभन्दा पछिल्लो सदस्य थिए १९ वर्षीय पिटर हक्स्‌वर्थ।

उनी चिकित्सा क्षेत्रसँग सम्बद्ध नभए पनि सहयोगीका रूपमा भ्रमणलाई आवश्यक सबै सहयोग जुटाउन जतिबेला पनि तयार रहन्थे।

"सन् १९६८ मा म नाइजिरियाबाट फर्कँदा त जोन कनिङ्घमले नेपाल जाने तयारी निकै अगाडि बढाइसकेका रहेछन्," बीबीसी नेपाली सेवासँग कुरा गर्दै डा बार्नीले भने।

"कलकत्ता हुँदै नेपाल पठाउन औषधि र उपकरणहरू प्याक गरिसकिएको थियो। जोन आफै नेपाल पुगेर स्वास्थ्य मन्त्रालयसँग कुराकानी गरेर आइसेकका रहेछन्।"

"हामीसँग दुईवटा सेता ल्यान्ड रोभर जीप पनि तयार थिए। नेपाल गएर हाम्रो टोलीले बागलुङमा काम थाल्ने कुरा थियो, तर नेपाल सरकारको सल्लाह अनुसार विराटनगरलाई आधार बनाएर पूर्वाञ्चलमा काम गर्ने निधो भयो।"

यात्रा यसरी अघि बढ्यो

तस्वीर कपीराइट BNMT
Image caption स्थलमार्ग हुँदै नेपाल प्रस्थान गरेका तीनवटा मध्ये दुईवटा सेता ल्यान्ड रोभर जीप टर्कीको भूभागमा

ब्रिटिश चिकित्सक तथा नर्सहरूको टोलीले अङ्कारा पुगेर चिठीपत्र सङ्कलन गर्‍यो।

त्यसपछि ब्ल्याक सीको किनारैकिनार पूर्वी टर्की, तेहरान, हेरात, हेल्मन्ड, कन्दाहार र काबुलमा आराम गर्दै खैबरपास काटेर पाकिस्तान पुग्यो।

त्यसपछि भारतको शिमला सहरको छोटो बसाइपछि दिल्ली पुग्दा टोलीका सदस्यहरूलाई ब्रिटिश हाई कमिशनरले स्वागत गरे।

रक्सौल-वीरगन्ज नाकाबाट उनीहरू नेपाली भूभागमा प्रवेश गरे।

सातहप्ते यात्रापछि मे २८, १९६८ का दिन अपराह्ण चार बजे त्यो टोली लैनचौरस्थित ब्रिटिश राजदूतावास प्रवेश गर्‍यो।

"ब्रिटिश राजदूत आर्थर केली र उनकी श्रीमती डडली स्पेनले अचानक पुगेका हामीलाई न्यानो आतिथ्य प्रदान गर्नुभयो। हाम्रो आवास र खानपिनको प्रबन्ध पनि मिलाई दिनुभयो," डा बार्नी सम्झिँदै भन्छन्।

नेपालमा कसरी काम गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयसँग छलफल जारी रहँदा सो टोली झन्डै दुई महिना राजधानीमा बस्यो।

टोलीका सदस्यहरूले सोही बेला एक अमेरिकी स्वयम्सेवकसँग नेपाली बोल्न सिके।

त्यसपछि विराटनगरमा आवास खोज्न गिल र बार्नी त्यता गए।

विराटनगरको मूलसडकबाट केही भित्र रहेको काफ्ले निवास ब्रिटिश चिकित्सक टोलीको आश्रयस्थल बन्यो। पछि सो स्थानलाई विद्याभवन भनेर चिनिन्थ्यो।

त्यतिबेलाको विराटनगर अहिलेको जस्तो थिएन। एउटा ईँटा कारखाना, लहलहाउँदा धान र जुटका खेत, केही चिनीमिल र जुटमिल थिए। पूर्व-पश्चिम राजमार्ग त बनेकै थिएन।

डा भरतराज वैद्यको सहयोगबाट त्यो टोलीले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा काम थाल्यो।

उनीहरूले त्यहाँ नवजात शिशुका लागि नयाँ वार्ड स्थापना गर्न सघाए, नर्सहरूको प्रशिक्षण कार्यक्रम सुरु गरे, टोलीमा रहेका शल्यचिकित्सकले चिरफारका काम गर्न पनि थाले।

ब्रिटिश टोलीको समेत सहयोगबाट पछि अस्पताल परिसरमै एउटा नयाँ बहिरङ्ग (ओपीडी) भवन बनाइयो जसको माथिल्लो तलामा प्याथोलोजी ल्याब स्थापना गरिएको थियो।

पहिलो टीबी क्लिनिक

तस्वीर कपीराइट BNMT
Image caption धनकुटास्थित नेपालकै पहिलो टीबी क्लिनिकमा एक बालकलाई बीसीजी खोप लगाउदै नर्स जेन प्याटर्सन

केही समयपछि टोलीका सदस्य भिन्ट र जोन वार्ड भरियाहरूलाई चिकित्सा उपकरण बोकाएर धनकुटातर्फ लागे।

त्यहाँ उनीहरूले अस्पताल नजिकै एउटा पुरानो घरमा क्षयरोगीहरूको जाँच र उपचार गर्ने पहिलो क्लिनिक पनि सुरु गरे।

उनीहरूलाई पिटर बेकरले पनि सघाए भने औषधिहरू चाहिँ युनिसेफले उपलब्ध गराएको थियो।

त्यसबेला नेपालमा धेरै मानिसहरु क्षयरोगबाट पीडित थिए र त्यसैका कारण बर्सेनि कैयौँको ज्यान गइरहेको थियो।

स्थानीय स्वास्थ्यकर्मीहरूसँग मिलेर सो टोलीले पहाडी जिल्लामा मात्रै हैन, तराईका जिल्लाहरूमा पनि बीसीजी खोप कार्यक्रम सुरु गर्‍यो।

सुरुमा एकजना 'उत्प्रेरक' लाई गाउँगाउँ पठाइन्थ्यो। उनले गाउँका अगुवाहरूसँग छलफल गरेर खोप लगाउने स्थान र मिति तय गर्थे।

त्यसपछि चिकित्सकहरू जान्थे, खोप लगाइदिन्थे, गाउँलेहरूलाई स्वास्थ्यसम्बन्धी जानकारी दिन्थे, त्यहीँ सुत्थे र अर्को दिन अर्को गाउँमा खोप लगाउन पुग्थे।

सो कार्यक्रमअन्तर्गत मेची र कोशीका झन्डै पाँच लाख बालबालिकालाई क्षयरोग विरुद्धको खोप दिइएको थियो।

पैसाको समस्या

"त्यसबेला हामीलाई जहिले पनि पैसाको समस्या हुन्थ्यो," डा बार्नीले भने।

सुरुमा एउटा ब्रिटिश कल्याणकारी संस्था अक्स्फामले सघाएको थियो। तर पछि सो टोलीले बुटवलदेखि नारायणघाटसम्म पूर्वपश्चिम राजमार्ग निर्माण गरिरहेको ब्रिटेनको सार्वजनिक निर्माण मन्त्रालयको टोलीसँग सहयोग माग्यो।

उनीहरूसँग सहकार्य गरेर एउटा सानो अस्पताल नै बन्यो पनि।

राजमार्ग बनाउन खटिरेहका झन्डै तीन हजार मजदुर र तिनका परिवारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन थालियो।

बार्नीले बिरामी जाँच्ने र चिरफारको काम गर्थे भने राचेलले मजदुरका बालबालिकाका लागि एउटा विद्यालय सुरु गरिन्।

पूर्वी नेपालमा भने ब्रिटिश चिकित्सक टोलीले भोजपुर, चैनपुर, इलाम, ताप्लेजुङ आदि ठाउँमा क्षयरोग क्लिनिकहरू स्थापना गरिसकेका थिए। तर औषधिको सधैँ अभाव हुन्थ्यो।

सोही टोलीको पहलमा पहाडी औषधि योजना सुरु गरियो जस अन्तर्गत मेची अञ्चललाई पुग्नेगरी २० वटा वितरण केन्द्रमा अत्यावश्यक औषधिहरू सञ्चय गरियो।

त्यो योजना अरू अञ्चलमा पनि विस्तार गरियो।

जमिन्दारबाट बिहेको प्रस्ताव

राचेल र बार्नीले नेपाल आएको एक वर्षभित्रै बिहे गरे।

चार वर्ष नेपालमा काम गरेर सन् १९७२ मा उनी स्वदेश फर्किए।

नेपालको बसाइका बेला आफूहरूलाई सघाएका डा वैद्य, डा जो भट्टाचार्य, डा जीएल प्रधान आदिलाई उनी अझै सम्झन्छन्।

सो टोलीकी एक सदस्य डा जिलियन होल्ड्स्वर्थ नेपालमा रहेका बेला डायरी लेख्‍ने गर्दथिन्।

नोभेम्बर १९६८ मा पूर्वी नेपालमा अमेरिकी पिस्कोर स्वयम्सेवक बिरामी भएको भन्ने खबर पाएपछि आफ्ना सहकर्मीसहित झन्डै तीन घन्टा लामो यात्रा गरेर उनी त्यहाँ पुगिन्।

तर त्यहाँ जाँदा त केही घन्टाअघि नै ती स्वयम्सेवक त्यहाँबाट हिँडिसकेको थाहा पाइन्।

त्यो घटनाबारे सम्झँदै उनले आफ्नो डायरीमा लेखिन्, "तर हाम्रो मेहनत खेर गएन किनभने केरौन गाउँका जमिन्दारले हाम्रो भव्य स्वागत गरे। अर्को दिन हामीले ल्यान्ड रोभरलाई नै अस्थायी क्लिनिक बनाएर गाउँलेहरूको स्वास्थ्य जाँच गर्‍यौँ, औषधि बाँड्यौँ।"

"फर्कने बेला ती जमिन्दारले मलाई उनको गाउँमै आएर शिक्षिका बन्न र उनको छैठौँ श्रीमती बन्न प्रस्ताव पो गरे।"

परिवर्तन देखेर दङ्ग

तस्वीर कपीराइट BNMT

पाँच दशकपछि त्यो क्षेत्रको स्थिति कति फेरिएको छ त?

यसै वर्ष मार्च महिनामा डा जिलियन र उनका साथीहरू कोशी अञ्चल अस्पताल पुग्दा त्यो आफूले कुनै बेला काम गरेको ठाउँ हो भनेर भेउ पाउनै सकेनन्।

"पुरानो परिसरमा शिक्षण अस्पतालका भवन बनेका रहेछन्। मेडिकल सुपरिन्टेन्डेन्ट डा रोशन पोखरेलले अस्पतालमा अहिले १०० शय्या भएको मातृ एकाइ, ४५ शय्याको बालबालिका एकाइसहित ३४४ शय्या रहेको जानकारी दिए।"

"हामी सबै यो प्रगति देखेर दङ्ग पर्‍यौँ," उनले भनिन्।

'गर्न धेरै बाँकी'

तर जानकारहरू नेपालको स्वास्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्।

ब्रिटेनको बर्न्मथ विश्वविद्यालयसँग आबद्ध जनस्वास्थ्य सम्बन्धी एकजना अनुसन्धानकर्ता डा. प्रमोद रेग्मी नेपालमा हुने सबै मृत्युमध्ये नसर्ने रोग पनि भनिने मधुमेह, मुटुसँग सम्बन्धित बिमारी, मानसिक स्वास्थ्य र सडक दुर्घटनाको हिस्सा ६६ प्रतिशत रहेको बताउँछन्‌।

"दक्ष जनशक्तिको अहिले पनि अभाव छ र स्वास्थ्यसुविधाहरू धेरैजसो सहरकेन्द्रित छन्। क्षेत्रीय असमानता पनि त्यत्तिकै छ। त्यसैले एकातिर एउटा प्रभावकारी सामाजिक स्वास्थ्यबीमा प्रणाली स्थापना गर्न आवश्यक छ भने अर्कोतिर निजी क्षेत्रसँग सहकार्य र स्थानीय सरकारहरूलाई शक्तिशाली बनाउँदै नीरोगिता बढाउन व्यापक जनसहभागिता बढाउँदै जान आवश्यक छ," डा रेग्मीले भने।

योगदान

ब्रिटेनस्थित बीएनएमटीको भगिनी संस्था विराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी नेपाल) का अध्यक्ष महेश शर्मा ५० वर्षअघि नेपाल आएको ब्रिटिश टोलीको योगदान पूर्वी नेपालमा अझै देख्‍न सकिने बताउँछन्।

"एउटा त पहिलो टोली फर्के पनि बीएनएमटीका स्वयम्सेवक चिकित्सकहरू पालैपालो नेपाल आइरहे। फेरि ब्रिटिश चिकित्सकहरू र अन्य दातृसंस्था एवम् नेपाल सरकारले पनि स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउँदै लग्यो।"

"त्यसैले विगत ५० वर्षमा नेपालको स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएको छ र त्यसको केही श्रेय हामीले आधा शताब्दी अघि नेपाल ‌आइपुगेका युवा चिकित्सक र नर्सहरूलाई पनि दिनु पर्दछ," उनले भने।

शर्माका अनुसार क्षयरोग अझै पनि नेपालको एउटा प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको छ।

"तर नेपालमै सार्क टीबी एन्ड एचआईभी एड्स सेन्टर सञ्चालित छ भने दक्ष चिकित्सकहरू उपलब्ध छन्। सरकारले धेरै जसो औषधि नि:शुल्क उपलब्ध गराउँछ तर पनि नयाँ बिरामीहरू आउने सङ्ख्या भने अझै घटेको छैन।"

डा बार्नी पनि ५० वर्षअघि आफ्नो टोलीले गरेको कामले स्थानीय जनतालाई स्वास्थ्यसेवा पुर्‍याउन निकै सहयोग पुगेको सम्झन्छन्।

"त्यसले हाम्रो जीवन पनि बदलिदियो र हामी नेपाललाई अब कहिल्यै बिर्सन सक्दैनौँ," उनले भने।

सम्बन्धित सामग्री