ब्रेक्जिट सम्झौताः संसदीय बहसमा मे लाई धक्का

  • 5 डिसेम्बर 2018
टरिजा मे तस्वीर कपीराइट EPA

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले, संसद्‍मा ब्रिटेन औपचारिक रूपमा यूरोपेली संघ-ईयूबाट बाहिरिने बेक्जिटसम्बन्धी पाँच दिने महत्त्वपूर्ण बहस शुरू गर्दै या त उनले प्रस्तुत गरेको सम्झौता पारित हुनुपर्ने या त सम्झौता नै नहुने वा ब्रेक्जिट नहुने अवस्था रहेको र त्यसैमध्येको विकल्प छान्नुपर्ने चेतावनी दिएकी छिन्।

आगामी मार्चमा ब्रिटेनले औपचारिक रूपमा ईयू छाड्नुअघि पुनः छलफलहरू सुरू गर्न ईयूसँग समय पनि नभएको र चाहना पनि नभएको मे ले बताएकी छिन्।

मंगलबार ब्रिटेनको सरकारले ब्रेक्जिट प्रक्रियालाई नै ठूलो स्तरमा प्रभावित तुल्याउन सक्ने तीनवटा हारहरू बेहोर्‍यो।

समर्थन

उनले ल्याएको ब्रेक्जिट सम्झौतालाई लिएर सांसद्हरूलाई मनाउने प्रयासमा मे ले शुरूवाती हारहरूको सामना गरेकी छन्।

अघिल्लो महिना ईयू र ब्रिटेन सरकारबीच भएको ब्रेक्जिट सम्झौता ब्रिटिश संसद्ले समर्थन गर्नु पर्ने हुन्छ।

तस्वीर कपीराइट PA

प्रधानमन्त्री मे ले सन् २०१६ मा भएको ब्रेक्जिट मतदानपछि हाल उनले ल्याएको प्रस्ताव 'एउटा सम्मानजनक सम्झौता' भएको बताएकी छन्।

बहस

ईयूबाट ब्रिटेनको औपचारिक बहिर्गमन तथा ईयूसँगको भावी सम्बन्धबारे प्रधानमन्त्री मेद्वारा प्रस्तावित ब्रेक्जिट सम्झौतामाथि ब्रिटिश तल्लो सदन हाउस अफ कमन्समा बहसहरू चलिरहेका छन्।

सन् २०१९ को मार्च २९ मा ब्रिटेन औपचारिक रुपमा ईयूबाट बाहिरिँदैछ।

नोभेम्बरको अन्त्यमा २० महिना लामो छलफलहरूपश्चात् २७ ईयू देशका नेताहरूको बैठकले सो सम्झौता अनुमोदन गरेका थिए।

तर त्यो कार्यान्वयनमा आउन त्यसलाई ब्रिटिश संसद्ले पारित गर्नुपर्छ।

मतदान

सो सम्झौता स्वीकार गर्ने वा अस्वीकार गर्ने भनेर सांसदहरूले आगामी डिसेम्बर ११ मंगलबारका दिन मतदान गर्नेछन्।

मे ले ब्रेक्जिटका कारण उत्पन्न विभाजनहरू ब्रिटेनको राजनीतिका लागि 'घातक' भएको भन्दै यो विषय "निकै तन्किएको" र यसको समाधान हुनु नै पर्ने बताइन्।

ब्रेक्जिट सम्झौतामाथि संसद्को समर्थन जुटाउन प्रयासरत रहेकी मे ले ईयू बाहिर रहेर ब्रिटेनले 'राम्रो भविष्य' पाउनेमा आफू विश्वस्त रहेको बताएकी छिन्।