सेयर बजारले अढाई वर्षमा ७ खर्ब गुमायो कसरी?

  • 6 डिसेम्बर 2018
पैसा

बुधवार फेरि एकपटक नेप्से परिसूचक खस्किएर ११२० भन्दा कम अङ्कमा पुग्यो।

गएको अढाई वर्ष यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचकाङ्क लगातार खस्किएपछि त्यसले खर्बौँ रुपैयाँको पूँजीकरण परिमाणमा ह्रास बेहोरेको बताइन्छ।

जसको प्रत्यक्ष असर लाखौँ आम लगानीकर्ता भएको उनीहरू बताउँछन्।

यस्तो बेला आम लगानीकर्ताका मनमा केही महत्त्वपूर्ण प्रश्न खेलिरहेका छन् जसको हामीले केही शेयरबजार जानकारहरूसँग कुरा गरेर जवाफ बटुलेका छौँ।

प्रस्तुत छन् ती जवाफ (नोट: यी जवाफ केही जानकारहरूसँगको कुराकानीको आधारमा तयार पारिएका व्यावहारिक सुझाव मात्र हुन्। बीबीसीको आफ्नो भनाइ होइन।):

लगानीको मन बनाउँदा केमा ध्यान दिने? - मूल कुरा जुन कम्पनीको सेयर किन्ने हो त्यसको बारे विस्तृत जानकारी हुनुपर्छ। त्यसको वर्तमान अवस्था र भविष्यको सम्भावनामा ध्यान दिनुपर्छ। सेयरमा लगानी गर्नुभनेको उक्त कम्पनीको स्वामित्वसँगै दायित्व पनि लिनु हो भन्छन् जानकार दिलीप मुनकर्मी। "सेयरमा लगानी गर्दा कम्पनीको व्यवसाय, व्यवस्थापन, मुनाफा, बजारहिस्सासँगै बजारमा उक्त कम्पनीको साख, विगतको र सम्भावित मूल्यको उतारचढाव, खुद मुनाफा, प्रतिसेयर आम्दानी, लाभांस क्षमता र लाभांस नीतिसमेतमा ध्यान दिनुपर्छ।" साथै सेयरमा लगानी गर्ने कि कारोबार? लगानी गर्दा कति वर्षसम्मको लागि? कारोबार गर्ने भए कतिको नाफा वा नोक्सानीमा बेच्ने? यी कुरा बुझेर लगानी गर्नु बेस हुने जानकारहरूको सुझाव छ।

सेयरबजारको ज्ञान कहाँबाट कसरी पाउने? - अर्का सेयरबजार जानकार ज्योति दाहाल भन्छन् नेप्से र धितोपत्र बोर्डका आधिकारिक वेबसाइट देखि लिएर विभिन्न पत्रपत्रिकाहरूबाट सामान्य जानकारी पाउन सकिन्छ। मुनकर्मी थप्छन् - कि पढेर जानिन्छ कि परेर। पढेर वा आवश्यक ज्ञान सहित लगानी गर्दा जोखिम बुझ्न र व्यवस्थापन गर्न सहज हुन्छ। "हामीले सामान्यज्ञान र सेयरसम्बन्धी जानकारीका लागि नेपाल स्टक एक्सचेन्जको वेबसाइट, नेपाल धितोपत्र बोर्डको वेबसाइटबाट ऐन कानुन, नीति नियम, जारी भएका वा हुने सेयरको सम्बन्धमा जानकारी पाउन सक्छौँ।" कम्पनीहरूका त्रैमासिक विवरण, र वार्षिक प्रतिवेदन पनि ज्ञानका अन्य स्रोत हुन्।

अहिले घाटा भएकाहरूले के गर्ने? - दाहालको सुझाव छ तत्कालका अङ्कका 'खेलहरू' बाट तर्सनुभन्दा गहिरो सोचका साथ नै आफ्ना घाटा व्यवस्थापन गर्नु पर्छ। मुनकर्मी यसलाई अझ व्याख्या गर्दै भन्छन् - "सेयरमा घाटा भनेको किनेको मूल्यभन्दा सस्तोमा बेचेर निस्कँदामात्र वास्तविक घाटा हुन्छ र अहिले पोर्टफोलियोमा देखिएको घाटा केवल सम्भावित घाटा (भर्चुअल लस) मात्र हो। जबसम्म सेयर बेचिन्न घाटा हुन्न। अहिले बजारमा सेयरको मूल्य घटेको अवस्थामा क) आफूसँग थप लगानी गर्ने र जोखिम लिने क्षमता छ भने अहिले सस्तो र भविष्यमा बढी नाफा हुने सम्भावना भएको कम्पनीको सेयर किनेर औसत लागत घटाउने, ख) लगानी गरिएका कम्पनीहरू वा आफ्नो पोर्टफोलियोबाट कम प्रतिफल आउने वा भविष्यमा पूँजीगत लाभ हुने कम्पनीहरूसँग अर्को बढी लाभ हुने कम्पनीको अदलाबदली गर्ने, ग) लाभांसको प्रतिफल दर उच्च भएका कम्पनीहरूको सेयर किन्ने।"

नयाँ लगानीकर्ताले के गर्नुपर्छ? - प्राय: घट्ने चक्रबाट गुज्रिरहेको बेला राम्रा कम्पनीका सेयर किन्न सके भविष्यमा त्यो बढ्ने सम्भावना धेरै हुने संसारभरकै सेयर विश्लेषकहरूको सुझाव हुने गर्छ। यतिखेर नेपालमा पनि खासगरि नयाँ लगानीकर्तालाई प्राथमिक निष्कासन (आइपिओ)को सेयर किन्दा जोखिम कम हुने मुनकर्मीको सुझाव छ।

यो के भइरहेको छ? 

२०७३ सालको साउन महिनामा नेप्सेको सूचकाङ्क नेप्से परिसूचक १८८० हाराहारीको उच्चतम विन्दुमा पुगेको थियो।

तस्वीर कपीराइट Getty Images

करिब अढाई वर्षपछि त्यो लगातार खस्किएर यो साता ११३० सम्म झर्‍यो।

अहिले कुल बजार पूँजीकरण वा सेयर बजारको कुल मूल्य साढे १३ खर्ब रुपैयाँ छ। जबकि त्यतिखेर सो परिमाण झण्डै २१ खर्ब रुपैयाँसम्म पुगेको थियो।

अर्थात यो अवधिमा ७ खर्ब भन्दा धेरैले नोक्सानी भएको छ।

उत्तम अर्याल शेयरलगानीकर्ता संघका अध्यक्ष हुन्। उनी यो नोक्सानीको ठूलो हिस्सा साना लगानीकर्ताले बेहोर्नुपरेको बताउँछन्।

"दुईजनाले सेयरमै नोक्सानी भएका कारण आत्महत्या गरिसके। स्थिति एकदमै भयावह भइसकेको छ। आर्थिक नोक्सानीले अब सामाजिक असर पार्न थालिसक्यो। घरपरिवारमा कलह, अनि साथीभाइ माझ लेनदेनको मनमुटाव भएको छ। दिनदिनै चेक बाउन्स भइरहेका छन्," उनले भने।

हाल नेपालमा कुल लगानीकर्ताको सङ्ख्या १५ लाखभन्दा बढी छ।

तीमध्ये अधिकांस साना लगानीकर्ता रहेका छन्।

यस्ता लगानीकर्ताहरू अत्यन्तै निराश अवस्थामा पुगेको गोपीकृष्ण थापा सुनाउँछन्।

"कोही सिपाहीले शान्तिसेनामा गएर कमाएको पैसालाई लगानी गरेका छन्। कोही किसानले गरेका छन्। उनीहरूको लगानी यसरी डुब्दा झैझगडा अनि कलह र मानसिक तनाव निकै भइरहेको छ," उनले भने।

सरकारकै कारण यतिधेरै घाटा भइरहेको भन्दै उनले दिनहुँको प्रताडनाका कारण आफूहरू मिलेर लगानीकर्ताको दबाब समूह गठन गरेको बताए।

"हामी अब खासगरि अर्थमन्त्रीसँग कुरा गर्न चाहिरहेका छौँ किनकि अर्थमन्त्री नै आर्थिक नीतिका लागि जिम्मेवार हुनुपर्छ। त्यसपछि पनि केही सीप लागेन भने हामी रिले अनसन थाल्छौँ," उनले बताए।

नोक्सानीका तीन प्रमुख कारण

सेयर विश्लेषकहरूका अनुसार गत दुई वर्षमा सेयर बजारमा भएको उथलपुथलका विविध कारण छन्। तीमध्ये उनीहरूले औँल्याएका तीन प्रमुख कारण हुन्:

१.ब्याज

ब्याङ्कले दिने ब्याजदरसँग सेयरमा लगानीको प्रत्यक्ष सम्बन्ध छ।

महिनौँ यता ब्याङ्कहरूमा लगानीयोग्य रकमको अभाव वा तरलताको संकट झ्याँगिदै गयो।

"सेयर बजार भनेको उच्च जोखिम र उच्च प्रतिफल भएको क्षेत्र हो। जब ब्याङ्कहरूले मुद्दतीमा १२/१३ प्रतिशत ब्याज दिन्छन् भने लगानीकर्ताहरूले सेयरबाट झिकेर त्यसतर्फ आकर्षित हुनु स्वाभाविकै हो," नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदले बताए।

तस्वीर कपीराइट Share Laganikarta Sangh

विश्लेषकहरू भन्छन् ढुक्कसँग राम्रो ब्याज आयो भने सेयरको अनिश्चय झेल्न कोही चाहँदैनन्।

तर ब्याजमात्रै सम्पूर्ण कारण भने नरहेको सेयरबजारका जानकार दिलीप मुनकर्मीको बुझाइ छ। "खास सेयर लगानीकर्ताहरू ब्याजकै लोभमा मात्र हौसिदैनन्। तर त्यसले केही प्रभाव भने पक्कै पार्छ," उनले भने।

२. वातावरण

सेयर बजारलाई देशको समग्र आर्थिक अवस्थाको एक सूचक मानिन्छ।

अर्थात् समग्र आर्थिक वातावरण जति राम्रो भयो उति नै सेयर बजार पनि फस्टाउँछ।

त्यसैले अहिले सेयर बजार ओरालो लाग्नुमा कतै न कतै देशको आर्थिक अवस्था नसुध्रिएको मान्ने विश्लेषकहरू पनि थुप्रै छन्।

"लगानीकर्ताहरू सशंकित भएका छन्। सरकारले सेयर बजारलाई जसरी हेरेको छ हामीलाई ऊ अभिभावकीय भूमिकामा चुकेको जस्तो लाग्छ," अर्यालले बताए।

त्यस्तै आम मनोविज्ञानको पनि केही भूमिका हुनसक्ने ठान्छन् सेयरबजारका जानकार मुनकर्मी। "बामपन्थीको सरकार भनेपछि त्यसले पनि कतै न कतै प्रभाव पारेको हुनसक्छ।"

समग्र वातावरणको कुरा गर्दा हाल नेपालको सेयर बजारमा ब्याङ्क तथा वित्तीय संस्थाको बाहुल्यता छ। उनीहरूलाई केन्द्रीय ब्याङ्कले कुल पूँजीको परिमाण २ बाट ८ अर्ब रुपैयाँ पुर्‍याउन भनिएको छ।

"त्यो भनेको पहिले १ करोड कित्ता हुनेको अब बजारमा २ करोड कित्ता वा बढी सेयर आपूर्ति हुने भयो। तर जब बजारमा बढेको आपूर्तिलाई लिनसक्ने क्षमता हुँदैन तब मूल्य त घटि नै हाल्छ," मुनकर्मीले भने।

तस्वीर कपीराइट Getty Images

विगतमा धेरै लगानीकर्ता ब्याङ्कहरूले अग्राधिकार सेयर वा बोनस सेयर दिने लोभले पनि यसमा आकर्षित भएका थिए।

"तर अब नियामक निकायले तोकेको सीमा पुगिसकेपछि ती संस्थाले नगदकै लाभांस वितरण गर्ने भए। जसले सेयर भन्दा कम नाफा दिने भयो र लगानीकर्तालाई कम आकर्षण हुने भयो," नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिँह साउदले बताए।

३.विकल्प

कतिपयको विचारमा सेयर मूल्यमा लगातार गिरावट हुनुको अर्को कारण देशमा उपलब्ध लगानीका अन्य विकल्प हो।

साउद भन्छन्, "स्थिर सरकार आएका हुनाले अन्य विकल्प पनि खुलेका छन्। कृषि क्षेत्रमा अनि विभिन्न उद्योगमा पनि सेयर बजारकै पैसा गएका छन्।"

सरकारको नीति पनि खासगरि कृषि, पर्यटन, ऊर्जा, उद्योगमा लगानीलाई प्रोत्साहित गर्नुमा रहेको देखिन्छ।

भर्खरै जारी भएको नयाँ संविधान र त्यसपछिको चुनावबाट छानिएको नयाँ सरकारले समृद्धिलाई मूल नारा बनाएको छ।

यी सबै विषयका अतिरिक्त विश्वव्यापी अनुभव के पनि हुने गरेको छ भने सेयर बजार वा अर्थतन्त्र नै पनि चक्रमा चलिरहन्छन्।

एउटा चढावको चक्र पश्चात् उतारको चक्र हुने गरेको छ।