मिस वर्ल्ड २०१८: पहिलो महिला प्रधानमन्त्री बन्ने शृङ्खला खतिवडाको इच्छा

  • 8 डिसेम्बर 2018

मिस नेपालदेखि मिस वर्ल्ड २०१८ सम्म पुग्दा चर्चाको चुलीमा पुगेकी शृङ्खला खतिवडा मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस विधा दुवैमा जित हात पार्ने पहिलो मिस नेपाल हुन्।

तस्वीर कपीराइट Shrinkhala Khatiwada/instagram

यसअघि इशानी श्रेष्ठले ब्युटी विथ पर्पस विधा जितेकी थिइन्।

दुई दशकभन्दा बढीको अवधिमा मिस नेपालको ताज पहिरिनेमध्ये सबैभन्दा धेरै चर्चा बटुल्न सफल भने शृङ्खला देखिएकी छन्।

सामाजिक सञ्जाल

यसका लागि उनले सामाजिक सञ्जालको राम्रो उपयोग गरेको देखिन्छ। छोटो-छोटो अवधिमा फरक ढङ्गले उनले मत मागिरहिन्।

लामो समयसम्म नेपालका सामाजिक सञ्जालमा उनी नै सबैभन्दा धेरै खोजिने र पढिने विषय अर्थात ट्रेन्डिङमा परिन्।

आफूलाई भोट गरेकाहरूप्रति सदैव आभारी देखिने खुबीका कारण पनि शृङ्खला लोकप्रिय बनेको उनलाई चिन्नेहरू बताउँछन्।

मिलनसार

शृङ्खलाकी सानिमा उषा सिग्देलले भनिन्, "प्रतियोगिता अवधिभर उसले कुनै किसिमको तनाव लिएको मैले पाइनँ, त्यसै कारण उनले राम्रो प्रदर्शन गर्न सकिन्। चीन पुगेर सबै प्रतिस्पर्धीलाई भेटेपछि कस्तो लाग्यो भनेर मैले सोद्धा उसले हामीसबै उस्तै हो, आ-आफ्नो देशका विजेता हौं, राम्रो गर्न सके जितिन्छ किन तनाव लिनु भनेकी थिइन्।"

"सानै देखि उनी एकदम मिलनसार थिइन् र कुनै पनि काम थालेपछि त्यो नसकी नछोड्ने उनको बानी नै हो।"

छिट्टो साथी बनाउने र नयाँ परिवेशमा पनि मिलिहाल्ने बानीका कारण शृङ्खलाले मिस वर्ल्डमा पनि यत्तिको सफलता हात पार्न सकेको उनका आफन्तको ठम्याइ छ।

तस्वीर कपीराइट SHRINKHALA
Image caption SHRINKHALA

परिवार

तर छोरी कुनै दिन मिस नेपाल हुँदै मिस वर्ल्डमा पुग्लिन् भनेर नसोचेको उनीहरू बताउँछन्।

सानै देखि राम्री र टाँठी भएका कारण उनलाई पहिलेदेखि नै धेरैले 'कति राम्री छोरी मिस नेपालजस्ती' भन्ने गरेको शृङ्खलाकी आमा मुनु सिग्देलले सुनाइन्।

छोरी पढाइमा राम्रो भएका कारण पनि अन्य क्षेत्रमा हात हाल्छिन् भन्ने नलागेको उनको भनाइ छ।

सिग्देलका अनुसार झण्डै २१ महिनाले जेठो दाजुलाई विद्यालय भर्ना गर्दा भर्खरै दुई वर्ष लागेर केही महिना भएकी शृङ्खला पनि दाजुकै कक्षामा भर्ना भइन्।

टाठी

मुनुको भनाइ छ, "शृङ्खलाको चाँडै बोली फुटेको थियो र ऊ निकै टाठी पनि थिई, त्यसैले हामीले दुवैलाई सँगै भर्ना गरिदियौं। उमेर सानो भएपनि ऊ पढाइमा जहिले पनि अब्बल रही। त्यसैले उसलाई मिस नेपालमा भाग लिन रहर होला भन्ने हामीलाई कहिल्यै लागेन।"

उनी राजनीतिमा पो आउँछिन् कि जस्तो आमा मुनुलाई लागेको थियो। परिवारको राजनीतिक पृष्ठभूमि र स्वाभावैले पनि आफ्नो विद्यालय तह देखिनै नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका कारण आमा मुनुले त्यस्तो महसुस गरेकी थिइन्।

परिवारका सदस्य जम्मा भएर भविष्यबारे कुरा गरिरहँदा शृङ्खलाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेको सम्झना आमाको मानसपटलमा अझै ताजा छ।

राजनीति

उनले भनिन्, "बुवा-आमा नै राजनीतिमा लागेका र घरमा धेरै नेताहरू आउने र राजनीतिका कुरा हुने भएकाले पनि होला समाज परिवर्तन र देश विकास गर्नुपर्छ भन्ने चेतना उसमा आफ्ना उमेरकाभन्दा पहिले नै थियो। त्यसैले उसले भविष्यमा प्रधानमन्त्री बन्छु भन्दा हामीलाई आश्चर्य लागेको थिएन।"

मिस नेपालमा सहभागी हुने इच्छा व्यक्त गर्दा चाहिँ उनका अभिभावक चकित परेका थिए तर मिस नेपाल हुँदै मिस वर्ल्डमार्फत् नेपाललाई चिनाउने भन्दै बुवाआमालाई फकाउन छोरी सफल भइन्।

शृङ्खलाको प्रोफाइलमा उनलाई घरमा मायाले बोलाउने नाम फुनु हो भनी लेखिएको छ र उनका आफन्तले उनको फेसबुकमा स्याबास फुनु भन्ने गरेको पाइन्छ।

सानिमा उषाका अनुसार शृङ्खला भन्ने नाम हजुरबुवाले र फुनु चाहिँ हजुरआमाले राखिदिएका हुन्।

तस्वीर कपीराइट SHRINKHALA
Image caption SHRINKHALA

लोकप्रिय

उनी युवामाझ निकै लोकप्रिय देखिन्छन् र धेरैलाई उनको जीवन परीको कथा जस्तो लाग्छ।

बीएसी नर्सिङ् अध्ययन गरिरहेकी २२ वर्षिय सुस्मिता जोशी भन्छिन्, "मिस नेपाल भन्दैमा राम्री मात्र भएर हुँदैन, अन्य प्रतिभा पनि चाहिन्छ जस्तो मलाई लाग्छ र त्यो उनमा मैले देखिकी छु। परीको कथा जस्तै लाग्छ। अझ इन्जिनियरिङकी विद्यार्थी भएको र आफ्नो 'ब्याच' टप गरेको भन्ने कुराले पनि उनी निकै लोकप्रिय भएकी हुन्। यस्ता कुराले धेरै नेपाली युवतीलाई उनीसँग 'रिलेट' गरेको जस्तो मलाई लाग्छ, हामीले सुन्ने गरेको परीको कथामा झैं।"

उनको नेपाल चिनाउन बनाइएको परिचयात्मक भिडियोको निकैले प्रशंसा गरेका छन्।

प्रशंसा

त्यस्तै उनले चेपाङ बस्तीमा गएर गरेको सामाजिक सेवाको कामले पनि उत्तिकै प्रशंसा पाएको छ।

त्यसो त उनले अप्ठेरोमा परेकाहरूका लागि काम गर्न भनेर एउटा संस्था पनि खोलेको र सामाजिक क्षेत्रको काम गर्ने रुचि पनि छोरीले देखाएको आमा मुनुले जानकारी दिइन्।

तस्वीर कपीराइट SHRINKHALA
Image caption SHRINKHALA

राजधानीबाट केही टाढा रहेको सानो सहर हेटौँडामै अध्ययन गरेर देशकै राम्रो कलजेमा आफ्नो विधा आर्किटेक्ट इन्जिनियरिङमा 'टप' गर्नु धेरैका लागि ठूलो उपलब्धि हो।

नतिजा

तर पाँच फिट सात इन्च अग्ली शृङ्खलाले त्यसपछि मिस नेपालको ताज जितेर मिस वर्ल्ड प्रतिस्पर्धामा पनि अब्बल प्रदर्शन गरेको पूर्व मिस नेपालहरु बताउँछन्।

तर नेपालजस्तो सानो देशको प्रतिनिधित्व गरेर प्रतिभाका कारण मात्र मिस वर्ल्ड जस्तो प्रतिष्ठित ताज जित्न कठिन भएको उनीहरू बताउँछन्।

पूर्व मिस नेपाल माल्भिका सुब्बा भन्छिन्, "त्यहाँ सहभागीको प्रतिभा पनि परीक्षण गरिन्छ तर साथै उनको देश कत्तिको प्रभावशाली छ भन्ने पनि हेरिन्छ, त्यसैले नेपालजस्तो गरिब र राजनीतिक दृष्टिले पनि प्रभावशाली नभएको देशबाट जतिसुकै प्रतिभाशाली प्रतिस्पर्धी पठाएपनि उनीहरूलाई गाह्रो हुन्छ जस्तो लाग्छ।"

तर २३ वर्षको उमेरमा शृङ्खलाले मिस वर्ल्डमा गरेका प्रस्तुति र प्रदर्शनका कारण उनले लाखौं नेपालीको मन जितेको सुब्बा बताउँछिन्।

सम्बन्धित सामग्री