नेकपा चार नेताद्वारा बैठक बहिष्कार: 'प्रधानमन्त्रीद्वारा अपमानित'

  • 8 डिसेम्बर 2018
नेताहरू तस्वीर कपीराइट .

पटक-पटक स्थगित भई शनिवार डाकिएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीले कुराएको भन्दै चार जना नेताले बहिष्कार गरेका छन्।

उनीहरू सहभागी नभए पनि बसेको बैठकले लामो समयदेखि माग भइरहेको स्थायी समिति बैठकको मिति २९ मङ्सीरलाई तोकेको पार्टी महासचिवले बीबीसीलाई बताए।

तर प्रवक्ताले बैठकबारे जानकारी नभएको प्रतिक्रिया दिए।

'अपमानित'

प्रधानमन्त्रीले आफूहरूलाई कुराएर अपमानित गरेको भन्दै सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका हुन्।

प्रवक्ता श्रेष्ठले न आफूहरूलाई कुराउनुको कारण जनाकारी दिइएको न पछि नै सम्पर्क गरिएको बताए।

बैठकका लागि १५ मिनेटभन्दा बढी नपर्खने पार्टीकै निर्णयको स्मरण गराउन त्यसो गरिएको भन्दै प्रवक्ता श्रेष्ठले भने, "पार्टीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न ध्यानाकर्षण गरिएको हो। पछि वैठक बसेको वा त्यसले केही निर्णय गरेकोबारे हाम्रो जानकारी छैन।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
सम्मेलनबारे सुरुमै मेरो आपत्ति: प्रवक्ता श्रेष्ठ

बैठक बहिस्कार गर्नेहरूमा श्रेष्ठबाहेक पार्टी नेताहरू थिए।

अचम्मित

पार्टी महासचिव विष्णु पौडेलले भने नेताहरूको त्यो शैलीबाट आफूहरू अचम्मित भएको प्रतिक्रिया दिएका छन्।

उनी भन्छन्, "सचिवालयका सदस्यहरू असन्तुष्ट हुनुपर्ने कुनै कुरै छैन। सबै विषयमा खुलस्त छलफल भएका छन्। अहिलेसम्म कुनै विषय बहुमत-अल्पमतको प्रक्रियामा समेत गएको छैन।"

प्रधानमन्त्री र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालले बिरामी रहेका पार्टीकै एकजना पूर्वसांसदलाई भेट्दा झण्डै १७ मिनेट ढिलो भएको महासचिव पौडेलको भनाइ छ।

पछिल्लो समय एकल ढङ्गबाट आइरहेका प्रधानमन्त्रीका अभिव्यक्ति र एक विवादास्पद अन्तर्राष्ट्रिय सम्मेलनमा भएको सरकारको सहभागिताबारे मतमतान्तर देखिएका बेला शनिवारको बैठक बोलाइएको थियो।

सम्बन्धित सामग्री