रेल विभागका प्रमुखः 'मेरो जागिरकालमा आउँदैन चीनबाट रेल'

  • 11 डिसेम्बर 2018
रेल तस्वीर कपीराइट AFP

नेपाललाई चीनसँग जोड्ने रसुवागढी-काठमाण्डू रेलमार्गबारे अध्ययन गरिरहेको चिनियाँ टोली तारन्तार नेपाल आउन थालेपछि कैयौँको चासो छ, के चीनसँग छिट्टै रेलमार्ग जोडिने सम्भावना बढेको हो?

रेलसम्बन्धी तेस्रो बैठकमा सहभागी हुन चिनियाँ टोली नेपाल आएकै बेला त्यो प्रश्नको जवाफ खोज्दै जाँदा वर्तमान सरकारले ठूलै महत्त्व दिएको उक्त रेलमार्गबारे रेल विभाग महानिर्देशकले भने, "खै मेरै जागिरकालमा काम शुरू होला जस्तो छैन।"

रेलमार्ग निर्माणका लागि रसुवागढीदेखि काठमाण्डूसम्मको भूगोल अप्ठ्यारो भएकाले पनि उक्त आयोजना कार्यान्वयनमा धेरै समय लाग्नसक्ने विज्ञहरूले औँल्याउने गरेका छन्।

त्यो आयोजनाबारे चिनियाँ टोलीले सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एउटा प्रतिवेदन बुझाएको छ।

ओलीलाई सत्तापक्षकै नेताले सोधे कडा प्रश्न

कसरी अघि बढ्ला 'काठमाण्डू-रक्सौल रेल'

नेपाल-चीन रेल: अर्को हप्ता छलफल हुने

'केरुङसम्म रेल आएपछि व्यापार घाटामा कमी'

बेइजिङमा नेपाल-चीन रेलबारे छलफल

छलफल

मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने, "पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदन चीनमा गएर हामीले पहिले नै दुई पक्षका अधिकारीहरू बसेर हेरेका थियौँ र त्यसलाई अन्तिम रूप दिन हामीले केही सुझाव दिएका थियौँ। ती सुझाव समेत समेटिएको अन्तिम प्रतिवेदन हामीलाई प्राप्त भएको छ।"

उनले चिनियाँ टोली केही दिन नेपाल रहने र त्यस क्रममा काठमाण्डू-पोखरा प्रस्तावित रेलमार्गको स्थलगत भ्रमण गर्ने जानकारी दिए।

बहुचर्चित रसुवागढी-काठमाण्डू रेलमार्गबारे द्विपक्षीय वार्ता र छलफलहरू बाक्लिएका बेला रेल विभागका अधिकारीहरू नै तत्काल काम शुरू हुनेमा विश्वस्त देखिएनन्।

विभागका महानिर्देशक बलराम मिश्र भन्छन्, "पूर्व सम्भाव्यता र सम्भाव्यतापछि मात्र विस्तृत परियोजना प्रतिवेदन तयार हुन्छ अनि मात्र निर्माण शुरू हुन्छ। त्यो भनेको उही हाम्रो बुढेसकालमा हेर्ने हो, मेरो जागिरकालमा बन्ला जस्तो छैन। उनीहरूको प्रक्रिया नै लामो छ।"

उनले उक्त रेलमार्ग परियोजना बन्ने भूगोल विश्वकै विकटमध्येको एक भएकाले पनि धेरै जटिलता रहेको बताए।

निर्माण भइसकेपछि भने यो रेलमार्ग पर्यटकीय स्थल बन्नुका साथै प्राविधिक हिसाबले समेत उदाहरण बन्ने उनको दाबी छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
'पाँच/छ वर्षमै नेपालमा चिनियाँ रेल'

रणनीतिक

परराष्ट्र मामिलाका कतिपय विज्ञहरू यसलाई चीनको नेपाललाई नजिक राख्ने रणनीतिका रूपमा अर्थ्याउने गर्छन्।

रसुवागढी-काठमाण्डू रेलमार्गको चर्चा धेरै हुन थालेपछि भारतले पनि वीरगञ्ज-काठमाण्डू रेलमार्गमा जोड दिनुले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।

तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को महासचिव रहिसकेका पूर्व परराष्ट्र सचिव अर्जुनबहादुर थापा नेपालमा रेल गुडाउन भारत र चीनबीच प्रतिस्पर्धा देखिएको भन्दै दुवै देशले त्यसको कार्यान्वयन गर्ने आशा व्यक्त गर्छन्।

उनले भने, "दुई तिरबाटै रेल सञ्जाल विकासमा एकआपसमा तछाडमछाड गरेकै देखिन्छ। त्यसकारण नै यो सञ्जाल विकास भएर नै छाड्छ।"

अधिकारीहरूका अनुसार दूरी छोटो भए पनि रसुवागढी-काठमाण्डू रेलमार्गको लगानी भने ठूलो हुनेछ।

करिब ७२ किलोमिटर लामो हुने भनिएको उक्त रेलमार्गको ८० देखि ९० प्रतिशत भागमा पुल र सुरुङ हुने बताइन्छ।

नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार

रेल: चुनावी सपना कि यथार्थ?

‘रेल परियोजनाबारे थप अध्ययन गर्ने सहमति’

कसरी बन्ला केरुङ-काठमाण्डू रेलमार्ग

खर्च

उच्च हिमाल र पहाड भएको भू-भागमा रेलमार्ग बनाउँदा करिब पौने तीन खर्ब रूपैयाँ लाग्ने चिनियाँहरूको प्रारम्भिक अनुमान रहेको बताइन्छ।

सरकारले निकै प्राथमिकता दिएको जस्तो देखिए पनि लगानी र उपादेयताबारे टुङ्गो नै नलागिसकेकाले रसुवागढी-काठमाण्डू रेलमार्ग तत्काल निर्माण हुनेमा धेरैले विश्वास भने गर्न सकिरहेका छैनन्।

चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्य भने चीनियाँहरूले देखाएको पछिल्लो चासो हेर्दा रेलमार्ग बनाइदिन उनीहरू निक्कै इच्छुक रहेको बुझिने बताउँछन्।

उनी भन्छन्, "उनीहरूले टोली पठाउनुले पनि के देखाउँछ भने उनीहरू यसमा सकारात्मक छन्, नेपालमा रेल आउनु चीनको निमित्त भन्दापछि नेपालका निमित्त धेरै ठूलो कुरा हुन्छ।"

सम्बन्धित सामग्री